जूठो बार्ने र Guilt Culture

अस्ति एकजना हजुरआमा (मेरो हजुरबाको काकी) बित्नुभएछ। घरबाट उर्दी आयो: १२ दिनसम्म मासु नखाने। तर नुन खान चैँ हुन्छ रे। अनि नुहाएर उल्टोपट्टि पानी फाल्दै उहाँको नाम ७ चोटि भन्नुपर्ने रे! म सोच्दै छु – यस्ता अनौठा नियम किन? नुन, मासु खान किन हुँदैन? मासु विशिष्ट श्रेणीमा कसरी उक्ल्यो? एउटा प्राण भर्खरै गुमेको अवस्थामा अर्को प्राणीको ज्यान किन लिनु भनेर हो कि? अनि कसले बनायो नामको जप लिएर नुहाएपछि जनै फेर्नुपर्ने नियम? आफ्नो नाता पर्ने कोहि बित्दा शोक पर्नु स्वाभाविक हो। वर्षौँदेखि रहिआएको सम्बन्ध, निकटता, र आत्मीयता टुट्दा मन नरुने कमै होलान्। तर मृत्‍युले आफ्नो कर्तव्य निभाइसकेपछि, हामीले मानसिक तनाव झेलिसकेपछि थप शारीरिक सास्ती किन?

pedigree

हाम्रोमा मान्छे मर्दा मर्नेले सास्ती पाउँछन् नै, मरेपछि मर्नेका जीवित सन्ततिले, अनि केहि हदसम्म वरिपरिका आफन्तले पनि। नेपाली समाजमा मृत्‍युसँग जोडिएको एउटा अनौठो अवलोकन ठान्छु म यसलाई। ठाउँ, जात, र संस्कारअनुसार फरक होलान चलन, तर चलन अनौठा भने अवश्यै छन्। हाम्रोतिर ढुंगे देउताको पूजा ११ दिनसम्म गर्दैनन्। (तर आफू आधा आस्तिक भएकाले ढुंगोले अबीर-चामल पाओस् या नपाओस् बालै हो।) सकस कहाँ भने ५ दिनसम्म नुन खान हुन्न, मर्ने मान्छेको वरिष्ठता र वरीयताक्रम हेरेर। २ टुक्रो भुट्या अदुवा र अलिनो सागसँग भुक्को भात कसरी निल्ने? वरिष्ठ बूढाहरुले घिउ पाउँथे, हामी झूसेहरूलाई के को घिउ। टाउको नि खौरिन लाएर चिचिन्डो बनाइहाल्थे वरिष्ठहरु। अनि ११ कि १२ दिन भएपछि गौमुत्र चाख्न लाउँथे। जिब्रोमा एक थोपा हाल्यो कि सर्वाङ्ग जीउका हरेक कोशले विरोध जनाउँथे। साबिकका जनै फेर, चिसो खोलामा डुबुल्की लाऊ, १३ दिने कामको लागि सहयोग गर (बाहुन बोलाएर ल्याऊ, पुर्‍याउन जाँदा दान दिइएका खाट, अन्न, गाई, मालमत्ता, आदि बोकेर पुर्‍याऊ), आदि इत्यादि त छँदै थिए। अझ किरियापुत्रीहरुको हालत त झन खराब हुन्छ, सर्वविदितै छ।

यी नियमहरु किन र कसरी लागू भए भन्दा पनि यिनीहरुको पालना नगरे के हुन्छ भन्ने विषयमा ध्यान केन्द्रित गर्न चाहन्छु। जसैलाई सोध्नुस् नून खाए, कपाल नखौरे, मासु खाए के हुन्छ त? जवाफ आउँछ – पाप लाग्छ, मर्नेको वैतरणी तरण सहज हुन्न वा हुँदै हुँदैन, दिवंगतको अपमान हुन्छ, अनि थप अरु यस्तै केहि बकवास।

पाप कसरी लाग्छ? अनि किन? यसको चित्तबुझ्दो जवाफ मैले आजसम्म भेटेको छैन। मर्ने मान्छे जिउँदो छउन्जेल गर्नुपर्ने माया, आदर, सत्कार गरिएको छ भने; परेको बेलामा गर्नुपर्ने सहयोग गरिएको छ भने; मनमा त्यो मान्छेप्रति नराम्रो कहिल्यै चिताइएको थिइएन भने अहिले मैले नुन-मासु खाँदा कसरी पाप लाग्छ, कसरी मर्नेको अनादर गरेको हुन्छ? मर्ने मान्छेहरु जीवितै रहँदा म, तपाईँबाट केहि आश गरेनन् भने अहिले मर्नेबित्तिकै रीतिरिवाजको नाममा सत्रथरी कुराको माग राख्छन् भनेर कसरी पत्याउने? त्यसमाथि गर्नैपर्ने रीतिका काम मर्नेका किरियापुत्रीहरुले गर्छन, त्यतिले पुग्नुपर्ने हो मर्नेको आत्मालाई जे चाहिएको हो। तर नातामा अलिक पर भएका तपाईँ र मलाई किन हण्डर?

हामीलाई बच्चैदेखिन सिकाइएको हुन्छ कि कुनै कामको फल पाप या पुण्यमा गएर व्याख्यित हुन्छ। राम्रो सोच तथा व्यवहार राखे राम्रै परिणति हुन्छ, हैन भने तसअनुसारकै भोगाइ हुन्छ। कुनै रीतिको विश्लेशण नगरी अन्धाधुन्द पछ्याउन लगाइन्छ। केही सोधे पापको तराजुमा जोखिएलास् भनेर तर्साइन्छ। हुर्कँदै गरेको विवेकलाई पाप र पुण्यको सामाजिक र धार्मिक असरबारे यस्तो चित्र देखाइन्छ (उदाहरण: ठूलो पाप गरे यमराजले तातो कराइमा फ्राइ गर्छन्) कि कुनै रीति जति नै हावादारी र अन्धविश्वाशले खँदिएको भए पनि तोड्न मनले मान्दैन – उही पाप गरिएला कि भन्ने अपराधबोधको डरले। बालकालदेखि यस्तो त्रासको परम्परा सिकाएपछि नियम बाहिर गएर केहि गर्न हामी हिच्किचाउछौँ, भलै त्यसले हानी नै किन नपुर्‍याइरहेको होस्। चली आएको परम्परा वाहियात नै भए पनि त्यो तोडियो भने भगवान रिसाउँछन्, जिन्दगीमा नराम्रो हुन्छ भन्ने खालका दोषबोधले युक्त पाठ पढाइन्छ। यस्ता नियम र रीतिहरू बिल्कुलै मिथ्या (मेरो विचारमा) भए पनि डर, अनिश्चितता र अपराधबोधको संस्कारमा हामी यति नराम्रोसँग जकडिन पुग्छौँ कि घेरा तोडी निस्कने आँट गर्न सकिन्न। कर्मको फलमा विश्वाश गर्ने हामी, पुनर्जन्ममा विश्वाश राख्ने हामी पाप गरेर मृत्युपछिको सुनौलो संसार कुनै पनि हालतमा ध्वस्त पार्न चाहन्नौँ र त्यसैले नुन मासु खाँदैनौ। अनि रहिरहन्छन् यस्ता कुसंस्कार।

बायोलोजीको विद्यार्थी भएकोले साधारण वंशावली (pedigree) बनाएर हेरेँ, बायोलोजिकल्ली मर्नेको म के परेँ, र कति जायज छ त मैले मासु, पूजा, नुन बार्न? माथिको फोटो हेर्नुस्, प्रस्ट हुन्छ कि सीधा रूपमा दिवङ्गत (कुप्रीकाकीआमा) को मसँग जेनेटिक नाता केहि छैन। म बन्नमा जसको कुनै भूमिका छैन, त्यो व्यक्तिको मृत्‍युको शोक मैले मानसिक रूपमा अनुभव गरिसकेपछि शारीरिक रूपमा पनि गर्न आवश्यक छ र? स्वार्थी विचार जस्तो लाग्ला शायद यो, तर म भन्छु यसरी नसोच्ने हो भने हाम्रो समाजमा शताब्दियौँदेखि रहिआएका नराम्रा, अवैज्ञानिक संस्कारहरु कसरी हट्छन्?

यतिका कुरा गरिस्, तर तेरो कुरा मान्ने हो भने संस्कार बिथोलिन्छ भन्नुहोला। तर संस्कार र अन्धविश्वाशबीचको अन्तर बुझ्नु पर्छ भन्ने मेरो मान्यता हो। बाउको वार्षिक पुण्यतिथिमा विनाकारण कुनामा बिरालो बाँधी सराद्दे गर्ने चलन मलाई चाहिएन। फरियाको टालोले भ्याउने नातासम्मकाले दु:ख पाउनुपर्ने चलन मलाई चाहिएन। आदर, श्रद्धा आफ्ना ठाउँमा छन, तर बकम्फुसे बेतुके रीति म मान्नेवाला छैन, र भविष्यमा हुने मेरा छोराछोरीलाई पनि सिकाउने छैन।

Advertisements

2 thoughts on “जूठो बार्ने र Guilt Culture

  1. सहि कुरो उठाउनु भो ।बिस्तारै परिवर्तन गर्दै जाने हो । परिवर्तनको सुरूवात चैँ आफैँबाट गर्नुपर्छ । चित्त दुख्ने मानिस् बित्दा शोकैले केई खान मन लाग्दैन, जो बित्दा चित्त दुख्दैन उसको लागी छाक-नुन छोडीँदैन।

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s