विधवा र रङ्ग: सानो टुक्रा

अनलाइन हिमाल पत्रिकामा यो लेख पढेँ (होली र विधवाको खाली सिउँदो: http://nepalihimal.com/article/856), अनि झलझली मेरी कान्छी माइजुको याद आयो।

हट्टाकट्टा कान्छो मामा एकदिन पसलमा ढलेर बेहोस हुनुभो। हस्पिटल लग्यौँ, अनि घर ल्यायौँ। ठीक भएजस्तो भयो। तर तङ्ग्रिनुभएन। भारतका केहि अस्पताल पनि चहारियो, तर सुधार भएन। अति नै दुर्लंभ रोग रे, मामा विश्वको दोश्रो मान्छे रे यो रोग हुनेमा (भारतीय डाक्टरले भनेका), त्यसैले उपचार हुन सकेन। घर फिर्ता ल्याइयो। ज्यान सुक्दै गयो। २००९ को मे महिनामा म नेपाल पुगेको थिएँ, पुगेको ६ दिनमा बित्नुभो। दुई भाइ छोरा (मामा खस्दा २१ र १९) ले किरिया सके। १३औँ दिनमा आफूले पनि लुगा फुकाए (भनेको सेतो नलगाउने), माइजुलाई पनि फुकाउन भने। त्यतिमात्र हैन, रातो लुगा लगाउन पनि भने। माइजुले मान्ने कुरै थिएन। तर रोइकराइ, डरधम्की सब दिएर आखिरमा मनाइ छाडे। ठूलो मामा र बाले पनि भनेपछि लगाउनुभयो। मामा मर्दा नरोएको म भाइहरूले लुगा फुकाएको देख्दा, र अझ माइजुलाई सेतोबाट रातो लुगामा फेरिएको देख्दा रोएँ। उमेरले कान्छा मेरा भाइहरू मैले सोचेभन्दा धेरै बुज्झकी र परिपक्व भएकोमा दङ्ग पनि परेँ। म सोच्थेँ, मेरो बाउ मेरी आमाभन्दा पहिले मरेछन् भने आमालाई रातो लुगामै बस्न मनाउनेछु, कुरीति फेर्न एउटा भए पनि पाइला चाल्नेछु। भाइहरूले गरे मभन्दा पहिला। दाइ भएकोमा योभन्दा खुशी म कहिले भएको थिइनँ/छैन जीन्दगीमा।

समाजमा रहेका अनावश्यक, वाहियात कुरा मान्दछौँ हामी। विधवा प्रथा गम्भीर र जटिलमध्ये एक हो। फेर्न, हटाउन समय लाग्छ। तर नसकिने हैन। सबैले जे-जति, जसरी सकिन्छ, प्रयास भने गर्नुपर्‍यो। मेरो हकमा भने बाउ मरेपछि गुमाएको बाउको सम्झना मेरी आमाको फुङ्ग उँडेको सिउँदो, खाली निधार हेरेर गरिरहन चाहन्न म। समाजले के सोच्ला हैन, आमाको रङविहीन आकृतिसामु जीवनभर कसरी उभिन सकूँला भनेर सोच्छु म। हामीमध्ये शायदै कसैले सक्ला। बाउ मरेको वार्षिकीको भोज खान आउने गाउँलेहरूलाई मैले आफ्नी आमालाई रातो चोलो किनेर ल्याइदिँदा पच्दैन भने त्यो मेरो समस्या भएन।

कुरा के भने ढोँगले आशक्त परम्परा भनाउँदो चीज मलाई चाहिएन।

Advertisements

पदको मोह र हामी नेपाली

 

मसँगै, मेरै प्रोफेसरको ल्याबमा पिएचडी गर्ने केन्याको साथी छ एकजना – गडविन (Godwin) हो उस्को नाम। मभन्दा १०-१२ वर्षले जेठो होला, तर धेरै नै मिल्छौँ हामी। सँगै खेतमा, ग्रीनहाउसमा काम गर्दा पढाइ, विज्ञान, कृषिदेखि जीवन, राजनीति, आदि-इत्यादी सबै कुरा हुन्छन। देश, समाजका प्रसंग नउठ्ने कुरै भएन – आखिर दुवै गरीब, विकासोन्मुख देशका नागरिक जो परियो। यो क्रममा धेरै कुरा सिकेको छु उसँग मैले समुदाय निर्माण र अन्तरक्रियाबारे, थिचोमिचो र वर्गीकरणबारे, राज्यप्रणाली र सुशासनबारे।

Continue reading