“दलित”

सन्दर्भ जातीय विभेद उन्मूलन राष्ट्रिय अभियान अन्तर्गत २०७०-२०८० लाई छुवाछुत रहित, दलित अधिकार दशक घोषणा गर्ने बारे।

१.
घने दमैँको ८ वर्षको छोरो चौतारोबाट माथि लाग्दा एउटा न्यार, अर्को काठे मिलेर मुखमै पिच्च थुक्दिए, ‘मुजी दमैँ’ भनेर। टिलपिल भो विचरा, आँशु चैँ झारेन। लुखुर-लुखुर उकालो लाग्यो घरतिर। ती दुइ स्याल गुच्चा खेल्न मूलबाटोतिर सोझिए।

सँगै एउटा स्कूलमा पढ्नु छ, जाने बाटो एउटै, दिउँसो बसेर खाजा खाने, चुँगी खेल्ने चौर एउटै। तर ‘डुम’ भनेर घँचेट्छन, झ्याइँकुटी पार्दै लगेर वनमाराको झाङमा हुर्राइदिन्छन। धारो छुट्टै, चर्पी छैन। चाहिए गाउँको पूछारको खोलो धाऊ। किताबका पाना उही, अक्षर उही, स्कूले पोशाक उही, तर पनि कक्षाको पछाडिको बेञ्चमा गएर बस। उस्तै ठीस मास्टरहरू त वर आएर केही सिकाउँदैनन्, तीन हात पर बस्छन्। हिसाब मिलाए डुमको छोरोलाई अबीरको रहर भनेर गिल्ला।

तैपनि इष्टकोमा धाउने, नापो लिने, सिलाउने, लुगा पुर्‍याउने, ज्यालाको बाली उठाउने काम यथावत। झिँजो नाइँ, लाज-शरम छैन, कुनै संकोच नराखी। काम त सानो हैन नि – पोडेले गु नसोरे चर्पी चल्छ कसरी, दमैले कल नचलाए लाज ढाकिन्छ कसरी, कामीले धार नसोझाए ड्याङ पार्छ कुन औजारले, सार्कीले जुत्ता नसिए लाउने के। फेरि सबैका हातले बिहान गु पुस्छन, दिउस बाउलाको आधा चुटेको टाँक फेर्लान, चुँडिएको चप्पलको टाउको गाँस्लान, आँगन छेउको ढुङ्गामा हँसिया रेट्दै साँध लाउलान। फरक त केवल कामको परिमाण र थरमा भयो हैन? केवल हेर्नेका आँखा ढाकिएका, चित्त खुम्चिएका, विचार रित्तिएका भन्दा पर खै के?

२.
‘कमिनी बहुलाइ’ भनेर तल चौतारासम्म हल्ला आइपुग्यो। एकैछिनमा कमिनी पनि आइपुगी हुर्रिँदै। रूँदै, सिँगान पुछ्दै, बर्बराउँदै, नानाथरि फलाक्दै, तथानाम बोल्दै। हिजो मरेको लोग्नेको लाश पछिपछि। एक चौँथाइ गाउँ त्यै कामीको इस्ट थियो होला। तल्लो गाउँका एक हुल (न्यार, काठे, छेत्री) मिलेर च्याप समाते, चड्कन-मुड्की चखाए। अर्धचेत उसलाई नाली/खोल्सोमा हुर्राए। ‘जाँठी कमिनी’ छोएकाले पसलेले सुन-पानीले चोखाएर चिया दियो।

हल्ला फेरि तल चौतारासम्म हल्ला आइपुग्यो, यो पटक ‘कमिनीले गाइखानी धर्म मानी’ भनेर।

‘जाँठी पैसा बटुल्न गकी।‘ — गल्ती हो र यो? पेट पाल्न पैसा बटुल्न को कहाँ पुग्दैन, के गर्दैन?

‘तल्लो जातको तल्लै सोच।’ — ‘किन’ मा ध्यान गएन, वर्गमा गयो।

‘लोग्नीको पिण्ड नसेलाइ आफ्नो धर्म फेरि राँडले।‘ चरित्रमा प्रहार। आस्थामा प्रश्न।

तर कुन आस्था, कस्तो आस्था? तल देवीथानमा न्यार, काठाका मात्र देउता छन। आस्था जताउने ठाउँ नै नभए केको आस्था? लोग्नेको १३ दिने कर्म उतार्न आउने टपरे दक्षिणा कमीजको खल्तीमा राख्छ, तर ‘बिटुलो’ दान-सामल घर लान नपरोस् भनेर पसलमा बेच्छ। अनि लोग्नेको आत्मा जाने वैकुण्ठ, स्वर्ग कस्तो? माथ्ला र तल्ला जातलाई बेग्लै समानान्तर ब्रहमाण्ड पो बनाएका छन कि देउताले, सेवा-सुविधा उही दिन? आखिरमा देउताले नि सबैलाई खुशी त राख्न पर्‍यो, आफ्नै सन्तति हुन मान्छे भनेका। आफ्नै, तर रङ, रूप, व्यवहार, र सोचमा सबैमा पराइ मान्छे।

~~~~

छन् उदाहरण कैयन। ‘भैँसीको बोसो’ भनेर साबुनले ननुहाउने बाउनटोलका खाँट्टी टपरे बाउनले तल बजारमा मेडिकल थापेर बसेको परियारका हातबाट खोकीको ओखती सुरुप्प पार्दा जात बीचमा नआएको। माझीले वनबाट कालिज मारेर ल्याएको खाँदा ‘क्याबात गम्बीरे’, तर गाग्रो बोक्न खोज्दा ‘त्यो भान्सालाई हो गम्बीरे, नछो’। असार १५ मा माथि सेतीढुङ्गाबाट तामाङ बूढाले ल्याएका ४ दर्जन केरा भान्सा उकाले मेरै जीबाउले, तर ती बूढालाई दैलोबाहिर बसाएको। सम्झन नि घीन लाग्ने बोक्रे चरित्र, सामाजिक खोक्रोपन। हामी आडम्बरी धेरै। यदी साँच्चै नै यो जुनीको हरेक काम-कृयाकलापको अभिलेख लेखेर कोही बसेको छ भने मृत्युपछि उठ्ला नि एक-एक हिसाब।

देशभर यस्ता घटना करोडौँ घटेको हुनुपर्छ। नभोगेकोले ‘गल्ती भएछ, अब बिर्सिदेऊ’ भन्नु पाखण्डको चरम नमूना हो। समानताका लागि चल्तीका डाइलग ‘रगतको रङ’ को कुरा छोडौँ, ‘मान्छेको भावना’ का कुरा परै राखौँ, उनीहरूले ‘बनाएका सामान उपभोग गरिन्छ’ का कुरा नगरौँ। सामान्य सोचाइमै बुझिन्छ, कुरा हो घृणित सोचको, दरिद्र मानसिकताको। कुकुरका अनेकौँ नश्ल भएपनि भेदभाव गर्दैनन् एक आपसमा। हामी मान्छे भैकन पनि कुकुरभन्दा खतम। मान्छेलाई मान्छे सोच्न, भन्न, देख्न कारण चाहिन्न। बस्।

तर फेरि त्यै गाउँ-ठाउँमा:

मधेशबाट उक्लेर टेलर पसल चलाएकालाई कसैले ‘डुम’ भनेको थाहा छैन, त्यै बजारका नेवार बूढाले हजाम पसल थाप्दा ‘भैया’को बिल्ला भिर्नुपरेको छैन, गाउँका अरूले कुखुरा पालेर मासु पसल चलाउँदा ‘कसाइ, बगरे’ सुन्नुपरेको छैन। समस्या मान्छेको नाम, जात, रङमा रहेनछ नि। रहेछ त चिनजानमा। गाउँ-बजारमा देख्दै आएको फाली पिट्ने श्रमिक लोहार भयो, बूढी बाख्री खोज्दै आउने बाउ-छोरा कसाइ भए।  पहिले नदेखिएका, पश्चिमतिराट आएका ‘नेपाली’ थर भएका बाबु स्कूले मास्टर भए, अरू ‘तल्ला जाते’ उद्यमीदेखि डाक्टरसम्म भए, ठाँटबाँटमा गाउँ-बजार डुल्दा भए। रैथाने ‘दलित’लाई मात्र सास्ती।

अनि ‘दलित’ किन भनेको? एउटा शब्दमा के राख्या छ र भन्ने प्रश्न उठ्ला। धेरै राख्या छ। शब्द भनेको व्याख्याको सुत्र हो, बुझाइको एकाइ हो, परिचयको सुरुआत हो। विचार गरेर बोलियोस्, या विचार नगरी, शब्दले ठूलो र गहिरो माने राख्दछ। बटुवाको काँधमा भएको खसीलाई फटाहाहरूले शब्दको प्रयोग गरी कुकुर बनाएर लुटेको कथा थाहै होला। फटाहाहरूले नै दिएको शब्द हो ‘दलित’। दमाईँ, कामी, सार्की, घटेरा, पोडे, चमार जस्ता कामको बयान गर्ने शब्दहरू नराम्रा हैनन्, खराब संस्कारको पछौटे समाजले, अनि सञ्चार माध्यमले पनि, नराम्रा पारिदिए। आवाज नउठाई सञ्च मानेर सुनिदिने, प्रयोग गरिदिने हामी सबै दोषी। ती काम गर्ने अधिकांशहरूलाई पनि लाग्यो, हो न हो, खराब नै हुन यी शब्द, त्यसैले भने ‘हाम्लाई यी शब्दसँग जोडेर बोल्न पाइन्न अब’। भनेको कसैले नसुनेपछि शरण परे दानवको।

नेता जुन भेलामा पुग्छन, त्यै अनुसारको हावादारी गफ उडाउँछन, मूर्खहरू (र अशिक्षितहरू) पत्याउँछन। दलितको भेलामा पुगेर पनि मनपरी बोले गत हप्ता। किन अधिकार, कसरी अधिकार थाहा छैन होला, मनपरी फलाक्यो, ताली बटुल्यो, सोझासीधालाई उल्ल्यायो।

फेरि सुकिलामुकिलाले १-२ शब्द चिच्याउँदैमा पत्याउने जमात पनि कम्ता दोषी छैन। संसारभर जतै हेर्दा बुझिन्छ कि भेदभाव व्यावहारिक रूपमा हट्न सजिलो छैन। अमेरिका, साउथ अफ्रिका, ब्राजिलको काला-गोरा बीचको विभेद; धेरै देशहरूमा कायम धर्म-धर्म र एकै धर्मका शाखाहरूबीचको विभेद; र शायद मानवजातिको उत्पत्ति भएदेखिनको नारी-पुरुषको विभेद कुनै न कुनै रूपमा अझै वरिपरि छन। तैपनि पत्याउँछन। झूटो हो भन्ने थाहा हुँदाहुँदै पनि। माथिकाले चुसेर माथिकैबीच बाँड्ने बुझ्दा पनि। गाउँ र कुना-काप्चामा जे घट्छन त्यसको रौँ बराबर मूल्य कसैले दिँदैन भन्ने जान्दाजान्दै पनि। आशा शब्दै ठूलो!

छुटकारा मिल्ला कि भनेर उचालिन्छन्, फगत अधिकारका नारामा, समानताका आश्वासनमा। तर बुझेका छैनन् (बुझाउने कसले) कि ठूलो च्याउले अरूलाई छहारी दिँदैन, केवल सोस्छ मात्र। जातका नेता पनि त्यै हुन, जिल्ला बसुन या काठमाडौँका हवेली। काम, थर बेग्लै भए पनि बुझ्नुपर्ने कुरा के छ भने, भाइ-भाइ लडाएर लाशको चाङमाथि सिंहासनमा बस्ने दाउ हो यिनको। अरू केही हैन। बेलैमा बुझे बेस। दलित जागरण दशक साँचै नै हुन्छ भने, सबैले अँगाल्छन भने ठीक, तर मागी खाने भाँडो नबनोस्। माथिल्ला ‘दलित’ले अन्य ‘दलित’लाई दल्ने काम नभएको राम्रो। नत्र भेदभाव, उत्पीडन हट्नेमा शंकै छ।

हुन त अस्तित्वविहीन पशुपतिनाथ छन् साथमा। केही भैहालेमा उनकै शरण पर्नुपर्छ। सब ठीक हुन्छ।

Advertisements

2 thoughts on ““दलित”

  1. Pingback: दलित - Coffee Guff

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s