कुरा भर्जिनिटीको

एकजना घनिष्ठ मित्र/दाइ छ मेरो। एसएलसी जाँचपछि काठमाँडौमा कलेज अप्लाई गर्ने क्रममा भेटघाट भएर चिनेको उसलाई। अचेल अमेरिकाको एउटा नामी स्कूलमा इन्जिनियरिङमा पिएचडी गर्दैछ। यावत कुरा हुन्छन् हामीबीच – जिन्दगीका, भोगाइका, पढाइका, पद-जागिरका, पैसाका, केटीका, आदि इत्यादी। यही प्रसंगमा ऊसँग एकदिन बिहेबारे कुरा हुँदै थियो, फ्याट्ट भन्यो उसले: म त कुमार हुँ, कुनै केटीसित सुतेको छैन यार अैलेसम्म। मैले पत्याइनँ – उमेरले २९ पुगेको, अमेरिका जस्तो सापेक्षित उदारवाद देशमा बसेको ६ वर्ष भैसकेको, त्यसमाथि अति नै मिलनसार, हँसी-मजाक गरिरहने व्यक्तित्व भएको ऊ कसरी कुमार नै होला र!? ल होला रे, मान्छेका कस्ता कस्ता कुरा पत्याउन बाध्य भइन्छ, यो त आफ्नै साथीले मनबाट गरेको कुरा। थप्यो: अब यतिका वर्षसम्म चोखै बसियो, केटी पनि चोखै बिहे गर्छु म। अनौठो लाग्यो मलाई, शायद जूठो-चोखोको विचार म नमान्ने भएकाले होला। नमान्ने भन्दा पनि यी शब्दहरुले के भन्न खोजेको राम्रोसँग बुझ्दिनँ, त्यसैले मान्छेको वर्गीकरण पनि गर्दिनँ। भनेँ: नेपालमा त समाज देखासिकीबाटै भए पनि धेरै उदार भइसकेको छ। शहरमा तैँले भनेजस्ता केटी पाउन मुश्किल होला। गाउँतिर के हुन्छ तँलाई नै थाहा हुनुपर्ने [उसको घर पश्चिम नेपालको गाउँमा छ।]। र सोधेँ: कुमारी केटी, त्यो पनि तेरो बौद्धिक स्तरको पाइनस् भने के नागै बस्छस्? हाँस्दै मेरो कुरा उडायो: काँ तेस्तो हुन्छ? पाइहालिन्छ नि। थप कुराकानी र केरकार गर्दा पनि आफ्नो विचारमा अडिग रह्यो ऊ।

ऊ दह्रो पढ्ने केटा हो। सामाजिक क्षेत्रमा (नेपालमा, विदेशमा) अगाडि; मेहनती र सहृदयी। साह्रै सोझो पनि। सोझो यसर्थमा कि मान्छेलाई लडाएर, लुटेर फाइदा लिनुहुन्न; सबैलाई बराबर गर्नुपर्छ भन्ने सिद्धान्त बोकेकाले। काठमाडौँमा कलेज पढ्दाताका उसकी प्रेमिका नभएका हैनन (२ जना थिए)। तर उबेलाको (८-९ वर्षअघि) प्रेममा धेरै निश्चलता थियो (मेरो बुझाइ, भोगाइमा)….. कहाँ अचेलजस्तो ‘आज भेट, भोलि ठूलो पेट’ (मेरा काकाको भनाइमा) हुन्थ्यो र। त्यसैले ऊ नेपाल छोड्ने बेलासम्म कुमार नै थियो। अमेरिका आएको वर्षौँपछिसम्म पनि स्थिति उही रहेछ। मलाई गढेको कुरा भनेको ऊ कुमार रहनु भन्दा पनि उसको मानसिकता काँचै रहनु हो। भौतिक विज्ञानको एक हाँगोमा डक्टरेट गरिरहेको मान्छेको विचार अझै रूढिवादमा आश्रित देखेर अचम्म लाग्दछ। कतिपयले भन्लान कि कुमार केटोले जीवनसँगीका रूपमा कुमारी केटी खोज्नुलाई आश्चर्य किन मान्नुपर्‍यो र? मेरो उत्तर हुन्छ कि: हो, आश्चर्य मान्नुपरेन। तर कुमारी नै चाहिने कुरा भने मन परेन मात्र भन्न खोजेको। ऊसँग यदाकदा गरमागरम बहस हुन्छ योबारे, अन्तिममा ल मर नागै भनेर कुरा टुङ्गाउँछु म; ऊ देख्लास तँ भनेर चुनौती दिन्छ।

उसको स्थिति यो कारण अलि भिन्न छ कि ऊ कुमार नै छ। माथि भने झैँ कुमार केटाले कुमारी केटी खोज्नु कुनै आश्चर्य हैन। हाम्रो समाजले महिलाका इच्छा, विचार तथा कुरालाई त्यति महत्व नदिने भए तापनि कुमार केटीले पनि कुमार केटा खोज्नुलाई साधारण नै मान्नुपर्छ मेरो विचारमा। तर १+ केटीसँग सहवास गरिसकेको केटाले कुमारी वधु (वा १+ केटासँग सहवास गरिसकेकी केटीले कुमार वर) खोज्दै हिँडेको चित्त नबुझेको मात्र। खै मैले नबुझेको पो हो कि यो बारे राम्रोसँग, तर आफूले गर्न मिलेसम्म गर्ने, भोग्न मिलेसम्म भोग्ने, तर जब बन्धनमा परिन्छ जस्तो लाग्छ, अनि चैँ “शुद्ध”, “पवित्र” खोज्दै हिँड्ने? जवानीको आगो निभाउन जे भेटिन्छ त्यसैमा झोस्दै हिँड्दा मनले बुँदागत विकल्पहरुको बारेमा केही मागेन, तर जब एउटीसँग (वा एउटासँग) मात्र जीवन बिताउनुपर्ने हुन आउँछ, अनि मात्र ‘यो त नमरेसम्मका साथका लागि हो, दायाँ-बायाँ संगत नभएकै चाहिन्छ’ भन्ने विचार आउने? बिहेकै कुरा गर्ने हो भने पनि बिहे गरेर जीवनसाथी भित्राउने भनेको त विपरित लिङ्गीले कत्तिको साथ दिन सक्छ भनेर हो, नकि मात्र शरीर हेरेर। शारीरिक सुन्दरता पक्कै चाहिन्छ, तर जुन कुराले मान्छेको शीप, क्षमता, बौद्धिकता, आत्मविश्वास, आदिसँग कुनै साँठगाँठ राख्दैन, त्यसमा धेरै किन ध्यान किन, टाउको दुखाइ किन?

कुमारीत्वलाई त्यति महत्व किन त? हाम्रो उत्पत्ति र विकासक्रम अरू पशु योनिबाटै [भाग्यवश हुने उत्परिवर्तन (mutation) बाट] भएको हो भने अरू पशुले महत्व नदिने कुरामा हामी किन महत्व दिन्छौँ? कारण असङ्ख्य छन। तर मलाई यसको कारण चाहिँ वर्तमान सामाजिक स्थिति [यथास्थिति?? status quo भन्न खोजेको मैले] हावी भएर हो जस्तो लाग्दछ। वर्तमान सामाजिक स्थिति अन्तर्गत अन्य कारणहरू: पितृसत्तात्मक सामाजिक संरचना; धार्मिक किंवदन्तीहरूको प्रभाव (विशेषगरी हिन्दू, मुस्लिम र इशाई धर्ममा); आदि पर्दछन। हामीमध्ये प्रायलाई थाहा छ कि यी सबै कारणहरू वाहियात छन। कसैले सोधे यस्ता हावा कुरामा नि विश्वास गर्ने हो भन्छौँ। तैपनि विचार परिवर्तन गर्न भने असफल छौँ, जसरी हामी अघिका हाम्रा बाउ-बाजेहरू थिए। उनीहरूको पुस्ता असफल हुनमा त्यो पनि एक कारण हो। हामी पनि त्यही बाटोमा हिँड्दैछौँ कि जस्तो पनि लाग्छ कहिलेकाहीँ।

कुमारत्व पनि कुमारीत्व जसरी नै एउटो झिल्लीमा अड्केको भए, र समाज पितृसत्तात्मक नै रहेको भए शायद यो कुरामा मतलब गरिन्थेन कि जस्तो लाग्छ। हुन त नारीको झिल्ली पनि ठोस निर्धारक हैन कुमारीत्वको लागि। त्यसैले यसलाई आधार मानेर, बहुलाजसरी केटीको भर्जिनिटीबारे थाहा पाउन खोज्नु पनि एक हिसाबमा बेकार नै छ। बिहे अगाडिको कुरा गर्ने हो भने भावी श्रीमान र श्रीमतीले एक-आपसमा पूर्व सम्बन्धका, र विगतका अरु प्रासंगिक कुरा सफासँग गर्दा दिगो सम्बन्धको निर्धारण गर्न मद्दत पुर्‍याउँछ। तर केटी कुमारी हो या हैन, केवल यो थाहा पाउनका हेतु ‘अरू कोही केटा थिए कि थिएनन् तेरो जिन्दगीमा’ भन्ने खालका प्रश्न सोधिनु पाखण्डपन हो जस्तो लाग्छ मलाई। शरीरको हकमा सम्भोग गरिसकेपछि न त अमिट दाग नै बस्छ कतै, न निधारमा लेखिन्छ, न कुनै सूचकमा नाम चढ्छ – केटाको शरीर होस् या केटीको। परिवर्तन हुने त केही हैन। ‘कार्यक्रम’ भयो, सकियो। न त तुरुन्तै, न त वर्षौँपछिसम्म पनि थाहा हुने गरी केही प्रमाण बाँकी रहन्छ सम्भोगबाट। केही रहन्न। यसो हो भने, अड्काउ शरीरमा नभएर दिमागमा, हाम्रो कुण्ठित, विकृत मानसिकतामा हो भन्ने बुझ्नुपर्छ। भनेपछि दोष (पुरुषको) सोचाइसँग सम्बन्धित छन, न कि (नारीको) शरीरसँग। हुन त फेरि मैले पुरुषलाई मात्र दोष दिन खोजेको पनि हैन। केटीले चाहिँ बिहेअघि यौन सम्पर्क गरेर भर्जिन केटा खोज्दैनन् भनेको छैन। चिन्दछु म १-२ जना यस्ता केटीलाई पनि (साथीको साथी)। तर हाम्रोजस्तो पुरुषप्रधान समाजमा हालीमुहाली पुरुषकै हुने भएकाले, र आफू पनि केटा भएकाले, केटाको दृष्टिकोणबाट कुरा गर्न सजिलो हुने भएकाले पुरुष-प्रकृति छानेको हुँ।

मानौँ तपाईँ कुमार नै हुनुहुन्छ बिहे नहुँदासम्म। शहर-बजारी इलाकामा बस्नुहुन्छ। पढाइ, जागिर, इलम-व्यावसाय जे छ, राम्रै चल्दैछ। यो क्रममा कसैसँग गहिरो माया बस्न गयो। पहिलो भेटमै त कसले सोध्छ र, तर पछि उनीबाटै थाहा पाउनुभयो कि उनी कुमारी हैनन् भनेर। के गर्नुहुन्छ? माया त मान्छे हेरेर गरेको हो नि, न कि उनको शरीरको विशेष-एक-अवस्था। हैन? मैले देश छोड्दा (७ वर्षअघि) भन्दा अचेल धेरै परिवर्तन आएका छन भन्ने सुन्दछु। अचेलका भाइबैना अलि बढी ‘उदार’ छन रे। तैपनि, हामी हुर्कने सांस्कारिक परिवेश, जुन शताब्दियौँदेखि रहिआएको छ, त्यो केही वर्षमै त्याग्न त के सकिएको होला र। त्यसैले सोच्छु, हामी (विशेषगरी युवावर्ग) मध्ये कतिले सोच्छौँ होला यस्ता कुराबारे? हामीमध्ये प्रायजसो हुर्कने बढ्ने परिवार, समाज यिनै हुन, जुन ढोँगी परम्परामा जेलिएका छन। यिनीहरूबाट परिवर्तनकारी सोच सिक्न गाह्रै छ। स्कूल-कलेजबाट सिकौँ भने मास्टरलाई नै अलि भिन्न भएर (out of the way गएर), विशेषगरी यौनबारे सिकाउन शर्म हुन्छ। मेरै मास्टरले ८ कक्षाको हेल्थ विषयमा पुरुष र महिला जनेन्द्रियबारेका पाठ सर्लक्कै फड्को मारेर अर्को च्याप्टर पढाए। हामीले प्रिन्सिपललाई पोल लाएपछि बल्ल मास्टरले, वर्षको अन्तिमतिर, त्यो पनि लाज मानीमानी एक घण्टीमै सारा पाठ तमाम पारिदिए। उनी बिहे भैसकेका मास्टर थिए, र पनि लाज माने। यो बजारकै नामी स्कूलको कुरा, गाउँतिर त झन के होला!

यही प्रसँगमा अलि भिन्न, कुमारीत्वभन्दा पनि यौनजन्य कुरा जसमा समाजले निकै ठूलो हस्तक्षेप गर्दछ: यदि प्रेमिका बलात्कारको शिकार भएकी रहिछन भने कसरी सम्हाल्ने यो स्थितिलाई? वा मानौँ कि तपाईँ-हाम्री कामकुरो छिनेर बिहे गर्न बाँकी भावी श्रीमतीको बलात्कार भयो रे। यो अवस्थामा के गर्ने? ‘मेरी हैन’ भनेर छाड्ने, कि अँगाल्ने? गल्ती त बलात्कृतको केही छैन। यस्ता घटनाबाट कोही पनि गुज्रन नपरोस्। र शायद निकै कम मानिसलाई मात्र पर्ला यस्तो, तर सोच्छौँ कि सोच्दैनौँ यस्ता कुराहरु? विचार के आउँछन, हामीले आफूलाई कहाँ उभाउछौँ? समाजलाई कहाँनिर राखेर निर्णय लिन्छौँ? फाइट वा फ्ली (गर या भाग) को मानवीय दोधारे मानसिकतामा कहाँ पाउछौँ आफूलाई? शायद उत्तरमा लुकेको छ तपाईँ-हाम्रो स्थान, भनाइ र गराइका बीचको अन्तर, र कत्तिको मानवीय छौँ हामी। र प्रत्यक्ष+परोक्ष रूपमा हामीले सधैँ फुइँ लाउने मर्दाङ्गीको असली परिचायक पनि। अरू केटी त अरू भए रे। तर यस्ता भोगाइमा (बलात्कार मात्र हैन, पूर्वप्रेमीसँग शारीरिक सम्बन्ध राखेका) आफ्नै घरका चेलीबेटी पनि पर्छन भने, सोचाइ के खेल्छन मनमा? यो अन्तिम प्रश्न उठाउन मन लागेको चाहिँ हाम्रो ज्यादा रक्षात्मक पारिवारिक र सामाजिक परिपाटी देखेर – गाउँठाउँका चेलीबेटी मन परेकै मान्छेसँग पोइल गए (वा पोइल जानै पर्दैन – स्कूल, बजारका केटासँग प्रेम मात्रै परेको छ भने पनि) त्यो केटालाई खोजेर, समातेर, कुटपिट गरेर उसको सेखी झार्ने, सके केटीलाई छुटाउने गर्छौँ हामी। त्यसैले यस्ता प्रश्न मनमा खेलाउँदा जुन उत्तर दिन्छौँ हामी, त्यस उत्तरले सबैसँग सम्झौता गर्नेगरी एउटा मिलनविन्दु भेट्टाउन सक्ला कि नसक्ला भन्ने जिज्ञासाले मात्र। केटी आफ्ना घरका हुन या परका, यौनका कुरा विशेष हुन्छन सबै पशुहरूमा। सबै पशु रक्षात्मक र हिंस्रक हुन्छन आफ्ना स्त्रीहरू जोगाउन। हामी फरक हुने कुनै कारण छैन। फरक छैनौँ पनि।

हामी गफ ठूला दिने। जात नै त्यस्तो। कुनै विदेशीले ‘सगरमाथा चढेको छस्?’ भनेर सोद्दा त्यस्ता जाबा हिमाल त करेसामै छन भनेजसरी गफ लडाउछौँ। नगरेका काम, नजानेका कुरा, नआउने गफ हाम्रालागि निकै थोरै छन्। भूतल, ब्रम्हाण्ड, युग, विकास, प्रविधि, मनोविज्ञान, आदि सबका गफ आउँछन हामीलाई। सबैको भुक्तभोगी भएर विद्वान बनेका जसरी। तर आखिरमा जस्तासुकै गफ जति नै लाए पनि पुरातनवादी सोचभन्दा पर जान सकेका छैनौँ। पढ्न त विज्ञानका कुरा पढ्छौँ, कम्प्यूटरको र डिजिटल युगका कुरा गर्छौँ, अनि स्वास्थ र शरीरका कुरा पढ्छौँ, तर सोच भने केही सहस्राब्दी पहिलेका पालेर बस्छौँ। नवौँ-दशौँ शताब्दीतिरका यूरोपेली विवाहका चलन हेर्ने हो भने उनीहरूले दाइजो लेनदेन गर्ने गर्थे, जहाँ केटीका घरमा दाइजो भित्रिन्थ्यो। एउटा सिद्धान्तले भन्छ कि त्योबेलाका कुमारी छोरीहरुका बाउहरुले जुन मान्छेले धेरै कृषिजन्य मालमत्ता दिन सक्छ, छोरी उसैलाई दिई पठाउँथे — आफ्ना छोरीहरुको कुमारीत्वको दलाली गरेर। कुमारीत्वलाई वस्तु मानेर गरिने केटीको मोलतोल अहिले नि चल्छ। पश्चिमा समाजमा निकै कम भए पनि हाम्रोतिर कायमै छ अझ। कुमारीत्वको मूल्य हुन्नथ्यो त केटीका प्रेमी थिए-थिएनन/छन-छैनन, आनीबानी कस्तो छ, आदि कुरा गर्ने; उसको स्कूलमा, काममा जासूसी गर्ने जस्ता घटिया काम हुन्नथे होलान। असफल राष्ट्रको सूचीमा पर्दा चित्त दुख्ने हामीलाई यस्ता मिति गुज्रेका ‘सामाजिक’ कुकृत्य हुने राष्ट्रका रूपमा संसारभर चिनिँदा चाहिँ किन चित्त नदुख्ने होला??

अन्तमा के भन्न मन छ भने, आइफोन-एन्ड्रोइड बोक्छौँ, देश-विदेशका खबरसँग परिचित छौँ, मौका मिले घुम्न पनि जान्छौँ, बजारमा आएका नयाँ फिलिम हेर्छौँ, किताब पढ्छौँ, ज्ञानज्ञुनका कुरा बटुल्छौँ। तर कत्तिको उदार छौँ त वास्तविक जीवनमा? कत्तिको लागु गर्छौँ आधुनिक शिक्षा आ-आफ्नो जीवनमा? जीवनमा महत्वपूर्ण के हो, गौण के हो योबारे फुर्सद निकालेर सोच्छौँ कि नाइँ? अखबारमा पढेका राम्रा सामाजिक काम (विधवा बिहे, पारपाचुके भइसकेकासँग बिहे, आदि) को सराहना पनि गर्छौँ, म भएको म पनि यसै गर्थेँ होला भन्छौँ। हो कि होइन? तर जीवनसाथी कुमारी नै त खोज्दैनौँ नि? जस्तो चाहिएको हो, त्यस्तो खोज्न बकाइदा पाइन्छ। तर लामो दूरीको जीवनमा केही माने नराख्ने कुराको पछि लाग्ने कि जिन्दगीभर साथ दिने मान्छेको अरू गुण हेर्ने हो? – योबारे सोच्नु पनि उत्तिकै जरूरी छ। आफ्ना गोडामा उभिने भनेको आर्थिक हिसाबमा मात्र हैन, बौद्धिक हिसाबमा पनि हो। परेको बेलामा हामी सक्छौँ त के उभिन, गोडा नकमाइकन? नत्र पढेको, आदर्शका ठूला कुरा गरेको के मतलब?

सोसल मिडियामा पढेको थिएँ केही हप्ता अगाडि: ‘पार्टनर भनेको अनुभवी हुनुपर्छ, भर्जिन त मोबाइल पनि हुन्छ’। आशा छ, हाम्रो पुस्ताले साँचै नै यो भनाइलाई मनन गरेर अघि बढ्नेछ। फेरि पनि, आ-आफ्नो रोजाइको कुरा हो भर्जिन पार्टनर चाहिन्छ वा चाहिन्न भन्ने। तर यसलाई ठूलो किस्सा भने नबनाएको राम्रो, यो काल-जमानामा आएर।

Advertisements

7 thoughts on “कुरा भर्जिनिटीको

  1. Pingback: कुरा भर्जिनिटीकोCoffee Guff

  2. यति को सोच सबै नेपाली मा भै दिए आजको जमानामा पनि अझसम्म संकुचित विचार हामी नेपालीसंग छदैछ भनेर लज्जा महशुस गर्न पर्ने थिएन, साधुवाद लेखक लाइ !!

    Like

  3. धेरै पछी हजुरको ब्लग पढ्ने अबसर मिल्यो म धेरै बेर गम्भिर भएर सोच्न बध्य भएँ प्रबिन जि ।एक्दम सकारत्मक कोण बाट लेखिएको यो सबै कुरा तपाई हामी सबैमा अहिले पनि वरिपरी घुमेको छ

    Like

  4. पहिलो अनुच्छेदमा भएको त्रुटि सच्याइएको छ। औँल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद!

    Like

  5. परिवर्तित समाज र त्यहाँ भित्र रहेका यौनका सुस्म कुराहरु खोतल्नु नै राम्रो बिषय भयो। महिला र उनिहरुका ज्वलन्त समस्याहरु माथि चलेको कलमले पाठकलाई अन्त्यसम्म रुचीपुर्वक पढ्न वाध्य बनाएको छ। मुद्धाहरु सह्रानिय छन। साथीका चाहना गलत नहोला तर भेटिनु नभेटिनु भन्दापनी बिहेपछीको सम्भोग कुनै सेतो तन्ना माथिको प्रयोग नबनोस। सबैभन्दा ठुलो समस्या भनेको संका र दुबै महिला पुरुषको आचरण हो। बिधुवा विवाह, सम्बन्ध बिच्छेद गरी बसेका महिला सँगको बिवाह र बलात्‍कृतसंगको व्यबहारमा पक्कै पनि पुरुषप्रधान समाज र त्यसका पुरुष खुल्न सकेका छैनन। कुमारीत्व मात्रै कुनै महिलाको योग्यता होईन र कदापी हुनुपनी हुन्न। तर आधुनिकताको नाममा चरित्रहिन पनि हुनुहुन्न। पुर्बिय मान्यता बोकेको समाजको हरेक नियमले ब्यक्तीलाई सत्कर्म, सत्मार्ग र सत्बिचारको मार्गदर्शन गराएको छ। यसका आफ्नै जीवनोपयोगी उपदेशहरु पनि छन तर यसभित्र रहेका कुरिती र कुसंस्कार हामीले परिवर्तन गर्दै जानुपर्छ।

    Like

  6. धेरै कुरा बाझियो यहाँ :-
    पहिलो पाराको अन्तिम वाक्यमा “अडिग रह्यो” वा “ढलमल भएन” भन्न खोजनु भा होला ।

    तपाईको अनुसाशित मित्रले अहिले सम्म परस्त्रीगमन नगरेर आफु जस्तै कौमार्यवति जिवनसाथीको आशा गर्नु आफैमा कुनै दोष पक्कै होइन् । जमाना जतिनै पश्चिमा शैली अपनाउदै गए पनि नेपाली समाजले यो कुरा लाई आत्मसात गर्न अर्को १०० बर्ष लाग्न सक्छ ।

    बलात्कार या अन्य दुर्घटनालाई अहिले को समाजले मनन गरि रहेको छ जस्तो लाग्छ मलाई । स्वाभिमान्, संस्कार, मर्यादा, परमपरा, अनुशासन जस्ता कुराहरु समाजलाई समाजित गर्ने कुरा हुन यसलाई समय अनुसार पुरानो बिकृतीलाई बिस्थापन गरि नयाँ गरिनु राम्रै हुन्छ तर लेखक को कलम बाट अब आजकालको जमाना मा जे गरे पनि (यौन क्रियाकलाप) हुने खाले अभिब्यकती सायद पुर्बाग्रही भयो ।

    आजकाल सुनिएको “उदार” समाज महज एउटा “असफल अभिभाबकत्व” को नमुना हो । हामी तपाई पनि यहि शैलिमा समर्थन गर्ने हो भने, पश्चिमा शैली त पाउनु होला, आफ्नो अस्तित्व चाही बाँकी रहदैन होला । अब अस्तित्व भनेको के? यस्को बारे मा पछि छलफल गरौला ।

    पुनश्च: पश्चिमा भनेर अमेरिका भन्न खोज्नु भा हो?, अफ्रिकन यौन ऊदारबादि राष्ट्रहरुको भयाबह स्थिती पनि मनन् गर्नु होला ।

    Like

  7. उठाइएको बिषयबस्तु आफैमा राम्रो छ झन त्यसमाथी लेखाइमा ब्यक्त सकरात्मक बिचारको कदर गर्न मन लाग्यो । कस्ले लेखेको हो थाहा भएन तर जहाँसम्म लाग्छ पुरुष मित्रले लेख्नुभएको हो । पुरुष भएर महिलाको पक्षमा यसरी सकरात्मक लेख र बिचारहरु निकै कम पढ्न पाइन्छ । परिवर्तन आफैबाट हुनुपर्छ भन्ने सन्देस बोकेको यो लेखले मन छोयो । यद्धपी लेखमा पहिलो हरफमा कुरागरीएको साथीको कुराबाट नै लेख अन्त्य भएको भए अझ आकर्षक हुने थियो । keep writing 🙂

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s