३ कुरा

अगस्ट १९-२२ मा कृषि (गहुँमा लाग्ने कालो, पहेँलो, र खैरो सिन्दुरे रोगहरुबारेको) सम्मेलन थियो दिल्लीमा। करिबन ४५० मानिसहरुले विश्वका ७४ देशहरुको प्रतिनिधित्व गरेका थिए। प्रोजेक्टले त्यहाँसम्म जाने-आउने-बस्ने-खाने पैसो तिरिदियो। त्यसैले घर पुग्ने अवसर मिल्यो। जय होस् बिल यान्ड मेलिन्डा गेट्स फाउन्डेशनको 😀

यही २ हप्ते भारत र नेपाल बसाइ/भिजिटको क्रममा मनमा लागेका, बिझेका केही प्रसंगहरु राख्नलाई यो लेखेको हो। विश्लेशण गर्ने कुनै रूचि छैन यो पटक।

१. युवतीको मुहार र जीउ बेचेर विज्ञापन गर्नु नौलो हैन। तर नेपालमा (टि.भि., पत्रिका, र काठमाडौँका होर्डिङ बोर्डहरुमा) युवतीका छाती र नितम्ब देखाएर गर्ने विज्ञापनहरू त्यति रहेनछन, पश्चिमतिर जस्तो। भारतमा चैँ बल्ल अलिअलि ‘क्र्याक’ देखाउन थाल्या छन मोडलहरुका। त्यसको सिको अलिअलि त भएको रहेछ, तर थोरै मात्रामा। हाम्रोमा अझ पनि अनुहारलाई नै देखाएर सामान बेच्ने चलन रहेको पाएँ। राम्रो अनुहार, मिलेका दाँत, कपाल, र चश्मा। बास्! यति भए पुग्यो।

प्रायजसो घरेलु सामानका विज्ञापनहरुमा बाँकी सबै ढाकेर अनुहार मात्र देखाउँदा रहेछन अझै – भलै विज्ञापनमा एक निकै आधुनिक लाग्ने, शहरमा बस्ने न्यूक्लियर फेमिली नै किन नदेखाएको होस्।

कन्डमकै एउटा नेपाली विज्ञापनमा पनि केटीको शारीरिक बनोटभन्दा अनुहारको हाउभाउ र ‘चाहना बोलेको’ लाई प्रश्रय दिएको रहेछ। केटाको अनुहारको हाउभाउ र ‘चाहना बोलेको’ पनि देखाएको छ।

केटी प्रमुख पात्र राखेर बनाएको साबुनको विज्ञापनमा पनि बरु केटाको अर्ध-६-प्याक देखाउने, तर केटीको भने अनुहारलाई मात्र बढी फोकस गर्ने रहेछन। अब केटीलाई नाङ्गै पार भनेको हैन नि फेरि! मुखमा नघस्ने साबुनको विज्ञापनमा अनुहार किन बढी? भन्ने जिज्ञासा मात्र।

अरु २-३ वटा विज्ञापनहरुमा (केका हुन याद भएनन्) स्तन, नितम्ब, र समग्रमा जीउ सबै सानै भएका केटीहरुलाई खेलाइएको थियो। तर अनुहार भने सबैका गोरा, हँसिला, र हेरिरहुँ लाग्ने खालका थिए।

मुख छोडेर बाँकी देखाऊ भनेको हैन। पश्चिमाको अन्धभक्तहरुले यो एक कुरा चैँ अझ पछ्याउन नसकेको देखेर ताज्जुब लागेको। अनि एक प्रकारले समाज नाङ्गिइ नै सकेको रहेनछ भनेर खुशी पनि लागेको।

अनि कसैलाई यो नपचेर किन नारीको अब्जेक्टिफाइ गरेर लेखेको भन्लान। मैले गरेको हैन। जे देखेँ, त्यही लेखेको हो। पुरुषको पनि अब्जेक्टिफाइ हुन्छ। कमर्सियलिजम कट्स बोथ वेज।

२. नेपालबाट भारत जाने क्रममा इन्दिरा गान्धी विमानस्थलमा अध्यागमनकी कर्माचारीले हिन्दिमा बोलि मसँग। नेपाली पासपोर्ट भएर हो भन्ने ठानेँ मैले।

काठमाडौँ – दिल्ली – काठमाडौँको छुट्टै टिकट म आफैँले किनेको थिएँ। त्यसैले अध्यागमन पास भएर फेरि ‘चेक-इन’ गर्नुपर्ने थियो अमेरिका आउने प्लेनको काउन्टरमा।

मैले अङ्ग्रेजीमा भनेँ: तिम्ले बोलेको म बुझ्दिनँ।

मलाई हिन्दि नआउने हैन। तर यो मेरो (मातृ)भाषा हैन। नेवार गाउँमा हुर्केकाले नेवारी कनीकुथी आउँछ (साधारण बोलीचाली बुझ्छु मात्र); अङ्ग्रेजी मैले स्कूलमा सिकेँ – सबैले जसरी। तर नेपालमा नेपाली बोल्न नआउने कोही नभेटेकाले नेपालीबाहेक अरु कुनै भाषा राम्रैसँग सिक्नुपर्ने जरुरी पनि थिएन।

अनि उसले फेरि हिन्दिमै सोधि: हिन्दि आउँदैन?

मैले अङ्ग्रेजीमै भनेँ: के भन्यौ? बुझिनँ मैले।

अनि गाह्रो मानेजसरी अङ्ग्रेजीमा सोधि: हिन्दि आउँदैन?

भनेँ: आउँदैन।

मेरो पासपोर्टको फोटोमा दाह्री–कपाल छैन, अहिले छ। अनि त के, निहुँ खोज्न थालि। हुन त हिन्दि नै बोलेको भए नि निहुँ नखोजी छोड्दिन थिइ होला। उसको थुतुनो नै तेस्तो हो कि, मैले नराम्रो चिताएको हो।

भन्छे (अङ्ग्रेजीमा): यो मान्छे तैँ हो भनेर कसरी मान्ने? तँसँग अहिलेको हुलिया भएको कुनै कार्ड छ?

मैले गाडीको लाइसेन्स कार्ड देखाएँ जसमा मैले दाह्री झुपुक्क पालेको फोटो छ। अनि सुमेरू उठाउनै परेझैँ गरी छाप उठाएर पासपोर्टमा थिचि।

तर यदि मसँग लाइसेन्स नभाको भए नि? दाह्री-कपाल पालेको फोटो भएको दोश्रो परिचयपत्र नभएको भए?

अमेरिकाबाट भारत छिर्दा, र भारतबाट नेपाल, अनि भारतबाट अमेरिका आउँदा कुनै अध्यागमन कर्माचारीहरू (सबै परुष) ले केही मागेनन्। उक्त महिला बढी जान्ने भएको हो कि, या मेरो पुरुषवादी सोच हावी भएको हो खै कुरा बुझिनसक्नु छ। या कुरा पेलाइ र हेपाइको हो। या यी सबै हीन भावना (inferiority complex) का उपज हुन। खै।

३. अन्तमा कृषिको कुरा जोड्नै पर्ने हुन्छ। नेपालका (नार्कका) केही युवा तथा वरिष्ठ वैज्ञानिकहरु भेट्ने अवसर मिल्यो। कोही लास्टै गफाडी रैछन – त्यो सम्मेलनका सबै वैज्ञानिकहरु आफ्नै खल्तीमा छन जस्तो कुरा गरे.. हाम्रो (नेपाली) जातले त पाएको! कोही भएको जागीरमै खुशी देखिए। जागीर = १०-५ आऊजाऊ, शोध मठ्ठ। कोही चाहिँ चिन्तित नै थिए देशको कृषि क्षेत्रबारे। यीमध्येका एक हुन डा. दिलबहादुर गुरुङ, नार्कका कार्यकारी निर्देशक। मेरो छोटो चिनजानमा उनलाई मिलनसार, तर अति नै बढी क्षमाशील (apologetic) पनि पाएँ। उनीसँग चिनजानपछि, र विशेषगरी मेरो विश्वविद्यालय, प्रोफेसर, र प्रोजेक्टबारे थाहा पाएपछि भने: ल, भाइको निकै राम्रो भइरहेको रहेछ। खुशी लाग्यो। हाम्रो नयाँ जेनेरसनको नेपाली भाइ कृषिमा यति राम्रो रिसर्च गर्दै रहेछ। हुँदै जाओस्। बन्दै जाओस्। आदि-इत्यादि।

अनि जब पढाइ सकेपछि, केही वर्षपछि नेपालमै फर्केर केही गर्ने सोच छ भनेर मैले भनेँ, उनले थपे: तपाईँको सोच जति राम्रो छ उति नै गाह्रो पनि छ। तपाईँलाई हामी (नार्क) ले केही दिन सक्दैनौँ (मेरो बुझाइमा शोधका लागि बजेट, वातावरण, र मान्छे)। कि त आफैँ गर्छु भनेर, कम्मर कसेर टन्नै पैसा कमाएर आउन सक्नु पर्‍यो। हैन भने यी, हामी बूढाहरुकै ताल हुन्छ: अफिस, चिया, सेमिनार, फिल्ड-जिल्लातिरै बरालिएर बस्यो। कैलेकाहीँ चैँ १-२ वटा काम (शोधका काम होलान) चल्दैछन, तिनै गर्‍यो। तपाईँ जुन इन्भाइरोन्मेन्टमा हुनुहुन्छ, त्यसको १% पनि हामीकहाँ छैन। भएका त यी, बाहिरका प्रोफेसरसँग कुरा मिलाएर बाहिर जान्छन (त्यहाँ उपस्थित १ नेपाली युवतीलाई इङ्गित)। यिनको दोश हैन। हामी नै घट्दै गका छौँ अचेल। भाइ जागिर खानेगरी नआउनुस। उतैबाट बरु के सकिन्छ (कोल्याबरेटिभ प्रोजेक्टहरु, लगानी भन्ने बुझेँ मैले) यता ल्याएर मिलेर गरे हुन्छ बरु। ग्लोबल भिलेजको जमाना छ। जताबाट राम्रो हुन्छ त्यसै गर्नुस्।

उनको कुरा नराम्रो हैन। साँचो कुरा हो। उनले हतोत्साही पार्न खोजेका नि हैनन्। घट्दो बजेट, कृषिमा गिर्दो सरकारी सरोकार, ब्रेनड्रेन, आदिले गर्दा वर्षेनी साँघुरिँदै गएको छ कृषिमा नेपालको आफ्नै शोध र बजार आधिपत्य। धानमा IRRI (फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धान केन्द्र) र गहुँ-मकैमा CIMMYT (मेक्सिकोस्थित अन्तर्राष्ट्रिय गहुँ-मकै केन्द्र) ले सहयोग नगरी उच्च नश्लका धान-गहुँ-मकै विकाश गर्न मुश्किल छ। अरुको भर कति पर्ने खै। विगतका १०-१५ वर्षमा ब्राजिल, भारत, पाकिस्तान, चीन, कजाकिस्तान, नाइजेरिया, इरान, आदि (२०१२ को डाटा; थप यो प्रतिवेदनमा) ले कृषिमा लगानी (पूँजी, जनशक्ति, र बजार) ह्वात्तै बढाएका छन र त विकास बढ्दो छ ती देशमा। हामीमा खै कहिले हो।

Advertisements

2 thoughts on “३ कुरा

  1. आफ्नो अनुभव बाँड्नुभएकोमा धन्यवाद, प्रयासजी। ठूलाले सानामाथि गर्ने दादागिरी संसारभर नै देख्न पाइन्छ। तर तपाईँले भनेजस्तै हामीमा पनि हेपाहा प्रवृत्ति त छ नै। सोमत दुवैतिर नपुगेको जस्तो!

    Like

  2. तपाइको लेखहरुको म फ्यान नै भए ! सामान्य कुरा लेख्दा पनि कति मिठास र पढ्न कति रमाइलो !
    दिल्लीको अध्यागमनमा भएको घटना पढ्दा निकै नरमाइलो लाग्यो | भारतमा पढ्ने भएकाले मेरो नेपाल-भारत आवत-जावत निकै हुन्छ | यसै क्रममा तपाइको जस्तो दुख मैले निकै बेहोरेको छु | मलाई हिन्दी आउदैन (आएता पनि उनीहरुको विदेशीलाई अंग्रेजीमा बोल्ने कर्तव्य भएकाले), इंग्लिसमा बोलिदिनुस भन्दापनि हिन्दीमै बोल्ने गरेकाले आजकाल म आफैँ हिन्दीमा जवाफ दिनेगरेको छु | यति सम्म कि मलाई नेपाली नागरिकता भएपनि नेपाली नै हैन पनि भनेर दिक्क लगाएको घटना छ | तर हामी नेपाली मात्र पिडित भने हइनौ | भारतीयहरुलाई पनि नेपालमा हामी निकै हेप्ने गर्छौं | र नेपालको आध्यागमनमा येस्तै व्यवहार हुन्छ होला उनीहरुलाई | दुवै बीच भएको मन मुटाबको उपज होला यो | खै कसरी यसलाई सुधार गर्न सकिन्छ कुन्नी !

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s