म पाखे

नमस्ते। म पाखे। तपाईँमध्ये धेरैले बाठो पल्टेर खेपा पनि भन्नुहुन्छ। कुरा उही हो। पाखोमा जे छ, अरु कहाँ, केही छ? 🙂

कुराले अचम्म नमान्नुस, नतर्सिनुस। पाखामा पनि स्कूल हुन्छन। बाटा हुन्छन, टिभी-रेडियो हुन्छन, मोबाइल-इन्टरनेट पुग्दैछन। त्यसैले म पाखे भए पनि नमस्ते भन्न आउँछ। मान्छे देखेपछि मुस्कुराउन आउँछ। मान्छेहरुबीच उभिन आउँछ। पाखामा ठूल्ठूला घरले मुस्कान ओझेल पार्दैनन्। यहाँ मोटर, मान्छे, लाउडस्पीकरको माझमा नमस्तेको ध्वनि बिलाउन्न।

तर भ्रम नपरोस्! म खाँट्टी पाखे हुँ। पाखोमा उफ्रने, पाखोमा बस्ने, पाखोमा रम्ने म पाखे। कुँडेमा एक डाडु दूध र कन्तीमा एक पन्यू ढिँडो भए पुग्ने म खुशी पाखे। अलिकति पाखो-पाखो टाइपको जमीन देखेँ कि मन बुरुक-बुरुक हुन्छ। स-सानै भए पनि उठेको ढिस्को देख्न हुँदैन मलाई चढूँ-चढूँ हुन्छ। थुम्का-थुम्की वा पहाडतिर गोडाहरु आफैँ सोझिन्छन। चढेर चिच्याउन मन लाग्छ – ‘ओsssssss साइँली, ढिँडो खान आइजो!!’ साइँली र ढिँडोका पर्याय अनेक हुन सक्छन। तर कुरा एकै हो। तपाईँलाई कसरी बुझाउने खै… चढ्नुभा’ होला नि, बाटो छेउका रेलिङहरु, सडक बीचका डिभाइडरहरु, अनि घरका पर्खालहरु। हो, ती चढेर, सके नाघेरै फुत्रुक्क पारिपट्टि जान जसरी तपाईँहरु भेट्रान हुनुहुन्छ, जसरी जति मजा लिनुहुन्छ, त्यसैगरी, त्यस्तै-त्यस्तै भनौँ न। तर आनन्द पाखोमा छ, सडकमा छैन। हाँसो घर हुनुमा छ, घरधनी हुनुमा छैन। मजा माटोमा छ, धूलोमा छैन। फरक देख्नुहुन्न होला। पाखोमा आनन्द रे, पाखेको मजा रे। है? अनौठो लाग्ने। त्यसैले त तपाईँ बुझ्नुहुन्न।

चढ्ने कुरा गर्दा पाखेले के चढ्छ, त्यो भन्न मन लाग्यो। पाखे रूख चढ्छ। कान्ला चढ्छ। कोशी-राम्दी तर्दा डुङ्गा चढ्छ। खोलामा भैँसी आहाल लाँदा त्यसको बुइ चढ्छ। पाखो त यत्तिकै नि चढिन्छ दैनन्दिनी काजमा। तर पाखे भइकन पनि मति चढ्दैन, इमान नाघ्दैन, कपटका बुई चढेर मान्छेका जीवन हिर्काउँदैन। अपवादहरु त भैहाल्छन्।

म जन्मजात पाखे। मेरा बा पाखे। बाकी बूढी पहिले काँठकी, अहिले पाखे। मेरा जीबा पाखे। जीआमा पहिले समथरकी, अहिले पाखे। कुप्राबा पाखे। साखासन्तान नै पाखोमा जन्मेका, हुर्केका, बसेका। घर पाखोमा। बारी माथि पाखोमा। खेत पारि पाखामा। पाखोमा जीवन उम्रन्छ। सडक र गल्लीमा के उम्रन्छ मलाई थाहा छैन। जीवन सुक्दा पाखोको काखमा आगो झोसिन्छ; खोलाले फेरि पाखोमै मिसाइदिन्छ। पाखो दिन्छ, पाखो लिन्छ। दिन्छ बढी लिन्छ कम। पाखो र पाखे मित लगाएका जस्ता। पाखोले पाखेलाई सहर्ष बोलाउँछ। पाखे रमाएर पाखोमा स्वर्ग बसालिदिन्छ। पाखेले पसिना पोख्छ। पाखोले हिरा बनाएर दिन्छ। तपाईँको सभ्यतामा पसिना के बन्छ?

पाखे हुनुको पनि धर्म छ। तर पूरा गर्न गाह्रो छैन। उदाहरणः म बिहान उठेर पाखो जान्छु। पाखोमा मूला-काउली रोपेको छु। मलजल गर्छु। मल नपाए मूला झाँगिदैन। काउली-केराउ-घिरौँला सप्रँदैनन्। तरकारीका बोट नसप्लाए तरकारी हुन्न। तरकारी नभए चामल-पीठो केसँग खानु। ओर्दापर्दा काम लाग्ने टिपिकल पाखे जिनिस – गुन्द्रुक, मस्यौरा, चाना – कसरी बनाउनु। पाखामा पसल भन्दा बारी छिर्न आनन्द हुन्छ। खल्ती रित्ताउन भन्दा पटुका भर्न सजिलो हुन्छ। बारी नहुने ठाउँमा तपाईँ बिहान उठेर शायद तरकारी बजार जानुहुन्छ। मूला-काउली-बन्दा ल्याउनुहुन्छ। यी प्राय पाखाबाटै आएको हुनुपर्छ। पाखामा लगाएको मलजल तपाईँको भान्सामा। पाखेको मलजल तपाईँको मलजल, क्रमरूपमा। ‘गाउँको मल बन्यो शहरीया मल।‘ सुन्दा नि बसाउन्न जस्तो। तर पक्कै बसाउँछ। हावा, पानी बसाउने ठाउँमा मल निश्चयै बसाउँछ। मान्छेको व्यवहार गन्हाउने ठाउँमा मान्छेको फोहर पक्का गन्हाउँछ। पाखामा पाखेको जीउ गन्हाउँछ। सुनेको, त्यताको सभ्यतामा मान्छेको आत्मा गन्हाउँछ।

तपाईँको सभ्यतामा छिर्दाको एउटा प्रसंग बाँड्न मन लाग्यो। लगनखेलमा भैँसी हेर्न जीबासँग गएको थिएँ सानो छँदा। खै किन हो, तराइबाट भैँसी ल्याएर त्यहाँ राख्थे नबिकेसम्म। भैँसी हेरेर फर्कँदा कोटेश्वरसम्म एउटा मोटर, अनि त्यहाँबाट रूट नं ११ वा १२ चढेर घरतिर लाग्नु थियो। उबेला थोरै मोटर गुड्थे, मान्छेको भीड। त्यो गाडीमा हाम्रोतिर टुमौटेले डोकामा भाँडा खाँदेभन्दा बेसी मान्छे कोचेका थिए, चढाइ भन्न पनि लाज हुने गरी। खाँदिएर अघि बढियो। क्याम्पस पढ्ने उमेरका २-४ जना युवायुवतीहरूले कर्के आँखा लगाउँदै नाक छोप्न थाले। ममा सोध्ने आँट थिएन, किन त्यसो गरे भनेर। तर थाहा थियो, अलि अघिन भैँसी सुम्सुमाएको गन्धले हो। एउटो अलि माप्पाको रैछ, भन्योः ‘कस्तो गनाको। नन्वा कति भो ओइ पाखे?’ जीबाउले बाल दिएनन्, मन मेरो हुँडलियो। सानु केटालाई मान्छेका मुखेञ्जि लाजमर्नु भयो, ग्लानि भयो गाउँले भएकोमा। पाखे शब्दले पछिसम्म घोचिरह्यो। अहिले नि कताकता घोच्छ, मकुन्डो लगाएकाहरुले मनपरी बोल्दा।

अनि अँ, त्यसपछिका धेरै वर्षहरु त्यही सभ्यतामा बिते। स्कूलमा केही वर्षहरु, अनि स्कूलपछिका बरालिँदै बिताएका दिन, वर्षहरु। अनि उमेरसँगै बुझ्दै गएँ: ती युवायुवतीहरुले आफ्नो दोष छोप्न ममाथि औँला उठाएका रहेछन्। हो, भैँसी छोएको हात गनाउँछ, पसिना आएको जीउ बसाउँछ। तर के बुझेँ भने यस्ता गन्ध/इन्द्रियजनादिले उत्तेजित गराउने मूर्झित चेतनाभन्दा वास्तविकताको तिर्सनाले मनमा उठाउने ज्वारभाटाले मर्ममा छुने रहेछन्। प्रकृतिको अभावले मान्छेलाई मानवता बिर्साउन सहयोग गर्दो रहेछ। अप्राप्तिको औडाहाले पोलेपछि प्रतिवेश मरुभूमि लाग्ने, मान्छे पराइ लाग्ने। अनि मगज सुषुप्त हुन्छ, मुखले बोल्छ। मेरो पाखे बुझाइले पाखेको हकमा बुझ्यो, तपाईँको सभ्यतामाथि अन्याय हुने गरी। तर म पाखेको मन शान्त भयो। मेरो पाखोको इज्जत जोगाएँ, आफ्नै मानसिकतामा। अरूको मतलब थिएन, गरिनँ।

एउटा सोच न हो।

Advertisements

2 thoughts on “म पाखे

  1. ढिलै भएनी पढ्ने अवसर पाएं, सार्है सटिक लाग्यो । तपाईंको लेखले मेरो आफ्नै घटना याद दिलायो । पहिलो पल्ट शहरमा पढ्न जाँदा ‘यो त पाखे हो, यसलाई केही आउन्दैन’ भनेर साथीहरुले आफुलाई इङ्गीत गर्दै भनेको । काठमाडौं आए पछी पाखे शब्दलाई थोरै जातियताको रङ पोतेर भोटे भने, तरै पनि यो पाखामा घाम, पानी, असिना, खडेरी सहेर हुर्किएको ज्यान त्यती सजिलै कँहा हार खाँदो रहेछ र,’काग कराउदै गर्छ, पिना सुक्दै गर्छ’ भने झैँ त्यही पाखे र भोटे शब्दबाटै प्रेरणा लिएर आज सम्म पनि म आफुलाई अनगिन्ती बिबेक र सभ्यताले थिचिएर मानवता हराएका शहरीयाहरु बिच आफ्नै पाखे आका भोटे अस्तित्व लिएर गर्वका साथ् बाचेँकै छु ।

    Like

  2. Kudos! Without a doubt, this was probably the most moving piece I’ve read in recent times. You are one amazing writer! I will spend my entire weekend reading remaining of your blog posts. Keep ’em coming!

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s