हाइब्रिड, GMO, मोन्सान्टो… आदि-इत्यादि

प्रश्नः के मोन्सान्टो ठीक हो?
उत्तरः के कम्पनीहरु ठीक हुन?

कम्पनी भनेको व्यवसाय हो। पसलेले घाटा खानका निम्ति पसल खोल्दैन। देशमै भएका जुत्ता कारखाना, औषधी कारखाना, चाउचाउ कारखाना आदि-इत्यादिको ग्राह्यता सूचीमा ‘पैसा बटुल्नु’ पहिलो हुन्छ;  जनसेवा, वातावरणमैत्री, आदि त्यो सूचीमा कतै होलान्, नहोलान्। त्यसैले चौधरी ग्रुप, र मोन्सान्टो कम्पनी कुनै अपवाद हैनन्।

संङ्क्षिप्तमा, मोन्सान्टो बीउ तथा रसायन बेचबिखन गर्ने अमेरिकास्थित एक उद्योग हो। मकै र भटमासका बीउ बढी बेच्ने यो कम्पनीले गहुँ, कपास, तरकारी, आदिका बीउ पनि बेच्छ। यीमध्ये केही हाइब्रिड बीउ छन भने केही GMO बीउ, केही हाइब्रिड-GMO खाले, र केही परम्परागत ‘शुद्ध’ बीउ।

तर मिडियामा धेरैलाई GMO के हो, हाइब्रिड के हो भनेर थाहा नभएको पाएँ। खासमा धेरैबाट हाइब्रिड र GMO खत्तम हुन भन्ने सुनेँ। जुन सहि हैन। यी प्रविधिहरु अब्बल छन्, तर प्रविधि बेच्ने पो डाँका पर्‍यो त! त्यसैले यहाँ विषेशतः यिनीहरुबारे, अनि यिनीहरुको मोन्सान्टोसँगको सम्बन्धबारे चर्चा गर्दैछु।

हाइब्रिड

विज्ञानको ठाडो परिभाषामा कुनै १ बाबु र १ आमाबीचको क्रस भएर जन्मिने सन्तानलाई हाइब्रिड भनिन्छ। यसर्थमा तपाईँ-हामी सबै हाइब्रिड हौँ। हामीले खाने खानेकुरा हाइब्रिड, लगाउने लुगा-जुत्ता हाइब्रिड। हाइब्रिडिज्म नहुने भए जीवहरुको इभोलुसनले पनि गति लिन्थेन होला। तर अचेल यो शब्दको अर्थ उक्त बाबु या आमाभन्दा ‘राम्रो’ सन्तान हो भनेर अर्थ्याइन्छ – जुन गलत छ भनिहाल्न पनि मिल्दैन। खासमा बाबु र आमाबीच आनुवांशिक (जेनेटिक) भिन्नता छ भने यी दुइको क्रसबाट पैदा हुने सन्तानलाई हाइब्रिड भनिन्छ। अब ‘राम्रो’ भनेर केलाई भन्ने? मान्छेको हकमा बाउ या आमाभन्दा अग्लो, ज्यान मिलेको, बुद्धिमान, भद्र, आदि भनिएला। बीउको हकमा  थोरै लगानीमा धेरै उब्जनी दिने, रोग-किरा-मौसमले धेरै बिगार नपार्ने (उपलब्ध बीउको तुलनामा), आदि बुझ्न सकिन्छ। हाइब्रिड बीउको बेच-बिखन साधारणतया बाह्य-प्रजनन (out-crossing) गर्ने विरूवाहरुको हुन्छन किनभने यी विरूवाहरूबीच क्रस गर्न-गराउन सजिलो हुन्छ।

अचेल मोन्सान्टोको हाइब्रिड बीउको, विशेषगरी मकैको, सर्वत्र विरोध भइरहेको छ। हाइब्रिड बीउबारे मुख्यतया यी कुराहरु सुन्छु, पढ्छु मिडियामाः

१.      यो धेरै फल्दैन!
२.      हाइब्रिडले अर्को वर्ष राम्रो उब्जनी दिँदैन!
३.      किसानहरुले बीउ राख्न पाउँदैनन्!
४.      यसले माटो बिगार्छ!
५.      लोकल बीउ नाश हुन्छ!

यीमध्ये धेरै जायज छन। केही हावा छन। हावा भएको शायद नबुझेर होला। यिनीहरु १-१ गरेर केलाउँ। (मोन्सान्टोका हाइब्रिड बीउबारे बुँदा नं ४ मा विशेष चर्चा गरिएको छ।)

१. धेरै फल्दैनः यो कुराको पुष्टि गर्न प्रसंग चाहिन्छ। गुगल गरेर हेर्दा थाहा हुन्छ कि हाइब्रिड बीउको प्रयोगले कतै वार्षिक सरदरभन्दा कैयौँ गुणा धेरै फलेका छन त कतै बीउ पनि मुश्किलले उठेका छन। FAO को डाटा हेर्नुभयो भने (तलको चार्ट, source: http://faostat.fao.org/, 12-18-2013) थाहा पाउनुहुनेछ कि सरदरमा हरेक बालीको वार्षिक उत्पादन बढ्दो छ विश्वमा। कुनै देशमा, या देशका केही क्षेत्रहरुमा उब्जनी घटबढ भएको होला, तर विश्वव्यापी आँकडा उक्लँदो छ।

crop-production-chart

अब यी सबैको उत्पादन बढ्नुमा हाइब्रिड बीउकै भूमिका छ भन्न मिल्दैन। किनभने कतिपय बालीका हाइब्रिड बीउ नै छैनन! तर, जति बालीका छन, तिनीहरुको उत्पादन बढेको हाइब्रिड बीउले गर्दा हैन भन्नु पनि उति नै गलत हुनेछ। दोश्रो विश्वयुद्धपछि कृषिलाई जति फाइदा बम बनाउनका लागि अनुसन्धान गरिएका प्रविधिले (एमोनियाको सहज आविष्कारविना यूरिया मलको उत्पादन लगभग असम्भव) गर्‍यो, त्यति नै फाइदा २० औँ शताब्दीको बीचतिर विश्वभर अपनाइएको हाइब्रिड बीउ उत्पादन प्रविधिले गरेको छ। हरेक प्रविधिका आफ्नै राम्रा र नराम्रा पाटा भएजस्तै हाइब्रिड बीउका पनि आफ्नै समस्या छन, जसमध्ये प्रमुख एक बुँदा नं २ मा चर्चा गर्नेछु। तर बढ्दो जनसंख्यालाई धान्नका लागि हाइब्रिड बीउले सुझाएको पद्दतिलाई खराब भन्न मिल्दैन भन्ने मेरो बुझाइ छ।

२. हाइब्रिड अर्को वर्ष राम्ररी फल्दैनः यो सत्य हो। (अलिकति बायोलोजी उल्लेख नगरी नहुने भएकाले सकेसम्म साधारण भाषामा बुझाउने प्रयास गर्नेछु।) किनभने हाइब्रिड बीउ पहिलो बेतको सन्तान हो। पहिलो बेतेमा बाउको १ र आमाको १ जीन हुन्छन। बाउ र आमाको जीनमा कुनै १ अलि कमसल खाले परे पनि अर्को राम्रो जीनले (आमाको कमसल परे बाउ-जीनले, र बाउको कमसल परे आमा-जीनले) ढाकिदिने भएकाले पहिलो बेते समग्र रूपमा गजब हुन्छन। त्यसैले हाइब्रिड बीउको धेरै डिमान्ड भएको – धेरै जो फल्छ! तर पहिलो बेतेलाई अरुसँग क्रस गर्न दिए (हावा र किरामार्फत क्रस भई बाह्य-प्रजनन गर्ने मकै, धानका केही प्रजाति, थोरै हदसम्म भटमास पनि) वा आफैँसँग क्रस गर्न दिए (आंतरिक-प्रजनन (self-crossing) गर्ने अधिकांश गहुँ, धान, भटमास, आदि) दोश्रो बेतमा जीन साटासाट प्रणालीमार्फत जीनहरु छरपस्ट हुन्छन। यो प्रकृयामा बाउका सबै नराम्रा जीनलाई आमा-जीनले र आमाका सबै जीनलाई बाउ-जीनले ढाक्न असम्भव छ। त्यसैले, केही विरूवाहरुले बाउका नराम्रा जीन त केहीले आमाका नराम्रा जीन देखाउँछन, जसले गर्दा पहिले जसरी उत्पादन पाउन असम्भव छ।

त्यसैले दोष हाइब्रिड बीउको हैन, बीउ बेच्ने र किन्नेको हो। चेतना जरूरी छ। गाउँका किसानलाई ‘फलानो बीउ नकिन’ भन्नुभन्दा किन किन्न हुन्न भनेर बुझाउन सके राम्रो।

(तर यी बीउहरु केही वर्षसम्म यसरी नै रोप्ने/छर्ने गर्ने हो भने उत्पादन लगभग स्थिर हुन्छ।  तर हामीलाई स्थिरता चाहिएको हैन! – धेरै जो चाहिएको हो। पहिलो वर्षको हाइब्रिड जति त जे गरे पनि फल्दैन। त्यसैले हाइब्रिड बीउ वर्षैपिच्छे किन्नुपर्छ।)

३. बीउ राख्न नपाउनुः यसको निर्धारण बीउ बेच्ने कम्पनीले गर्छ। धेरै बीउ कम्पनीहरु (मोन्सान्टो, पायोनियर, सिन्जेन्टा, लिमाग्रेन, आदि – बाइ द वे, मोन्सान्टोबाहेक अरु बीउ कम्पनीहरु पनि छन। तर मोन्सान्टोले प्रमुख पृष्ठ पाउँछ, अरु बीउ कम्पनीहरु ओझेलमा बसेर उस्तै, दुरुस्तै काम गर्छन र पनि खासै कसैले मलतब गर्दैनन्!! :D) वर्षैपिच्छे बीउ बेच्न चाहन्छन किनभने पैसो बटुल्ने नै यसैगरी हो। त्यसैले बीउ राखेको थाहा पाए कानुनी कदम चाल्नबाट पछि पर्दैनन्!

तर कुनै किसानले यदि पहिलो वर्ष हाइब्रिड बीउ किन्छ भने किन राख्नुपर्‍यो बीउ? एक त, दोश्रो सिजनमा पहिले सिजनमा फलेजति मरकाटे फल्दैन, माथि भनेअनुसार। हुन त हाम्रो देशमा कतिपय किसानहरुलाई माथिको कुरा थाहा छैन। शायद कतिपयले त धेरै फलेको बीउ रोपेर आगामी वर्षमा झन धेरै फलाउने लोभका कारणले पनि राख्दा हुन। अनि अर्को, कानुनी चंगुलमा पर्ने जोखिम किन उठाउनु? किनेको हाइब्रिड बीउले गजब उब्जनी दिन्छ भने वर्षेनी बीउ किन्दा फरक पर्दैन।

४. माटो बिगार्छः गलत। मिडियामा उफ्रने कतिलाई थाहा छ, कति माटो बिगार्‍यो भनेर? जबकि देशमा हाइब्रिड मकै र धानका बीउ बेच्न थालेको उहिलेदेखि! मोन्सान्टोलाई यो बुँदामा मुछ्नु हुन्छ भने यो धेरै हदसम्म साँचो हो, किनभने यो कम्पनीले — यहाँ पनि अलिकति जीनबारे कुरा गर्नुपर्ने हुन्छ — आफ्ना मकै, भटमास, आदिमा एउटा गैर-विरुवाबाट झिकेको जीन घुसाएको हुन्छ (GMO को एउटा परिभाषा यो हो, थप व्याख्या अलि तल) जुन जीनले herbicide (विरूवा मार्ने रसायन) विरूद्ध प्रतिरोध गर्छ। त्यसैले मोन्सान्टोका मकैका (र भटमासका) लगभग सबै बीउहरु हाइब्रिड-GMO हुन। अरु पनि थुप्रै जीनहरु घुसाइएका छन, तर तीबारे पछि कुनै दिन चर्चा गरौँला। यो (र अन्य कम्पनीले पनि) किन यसो गर्छ त भन्दा, खेतमा गएर मेसिनले झार उखेल्नुका साटो यो रसायन छर्किनु धेरै सस्तो र सजिलो हुन्छ। रसायन छर्केपछि झार र गैर-बालीका बोट-विरुवाहरु मर्ने भए, तर आफ्ना बालीका विरुवाहरु (जसमा प्रतिरोधक जीन हुन्छ) भने बाँच्ने भए।

यो खूंखार चलाख उपाय हो। तर भैदियो के त भन्दा १) रसायन माटोमा मिसियो, २) केही झारहरुले उक्त रसायनविरूद्ध प्रतिरोधक क्षमताको विकास गरे (डार्विनको थ्योरी)। अब यी झारहरुलाई हटाउन झन कडा रसायनहरु चाहिए, जुन प्रयोग गर्दा फेरि माटोमा मिसिने भए। एवं रीतले माटो खराब हुन्छ, अटेरी झारहरु बढ्दै जान्छन। विरूवालाई रोगबाट बचाउन हाल्नुपर्ने विषादी र कीटनाशकहरु पनि थप्दा माटोमा थप खराब असर पुग्छ।

तर रसायनहरु प्रयोग गर्नुनपर्ने हाइब्रिडहरु (जुन नेपालमा वर्षौँदेखि बेचबिखन र प्रयोग हुन्छन) माटोका लागि सुरक्षित छन। म गलत पनि हुनसक्छु। कसैसँग केही डाटा छ भने कृपया बाँड्नुहोला। मनपरी मल, विषादी प्रयोग गरेर माटो बिगार्नेहरुले पनि दोष लगाउँदा हुन हाइब्रिड बीउलाई।

५. लोकल बीउको नाशः मेरो विचारमा मोन्सान्टो लगायतका बीउ कम्पनीहरुको सबैभन्दा नराम्रो पक्ष यो हो। माथिका २. र ३. पढेपछि थाहा हुन्छ कि उस्तै उब्जनी पाउन बीउ वर्षेनि किन्नुपर्छ। वर्षैपिच्छे बीउ किन्दा आफ्ना पुराना बीउको मतलब त्यति गरिन्न। आमाहरुले नयाँ चोली पाएपछि पुरानोलाई भाँडा माझ्ने लुँडो बनाएजस्तै हो यो पनि – नयाँ आएपछि पुरानाको मतलब गरिन्न। मतलब गरे पनि एक वर्ष बीउ नरोपेपछि बीउ बढ्दैन, हराउला, गहुँ-मकै भुटेर खाइएला, मुसाले खाइदेला, आदि-इत्यादि समस्याहरु छन। तर यहाँ पनि दोष त किसानको हैन। उसले त जुन बीउले धेरै उब्जनी दिन्छ, त्यै त रोप्छ! दोष न त बेच्नेको नै हो – उसको त कामै पैसा बटुल्नु। दोष चेतनाको अभावको हो, जसका लागि समाज, देशको भूमिकामा प्रश्न गर्नुपर्ने हुन्छ। सामाजिक समृद्धिका लागि समाज जागरूक हुनु जरूरी छ। अबुझ, अज्ञानी समाजलाई बुझाउने, जगाउने दायित्व देशका नीति-निर्माताहरुको हो जस्तो लाग्छ।

यस्तै १०-११ वर्षअगाडि ‘आँखीझ्याल’ कार्यक्रममा बेगनास तालभन्दा माथितिरको एउटा गाउँमा लोकल धानका प्रजातिहरु बचाएर राखेको बारे टिभीमा हेरेको थिएँ। यस्ता समुदायहरुले देशभरिका अरु समुदायहरुलाई पनि प्रेरित गर्न सके!

मैले यो पनि सुनेको छु कि ‘मोन्सान्टोका हाइब्रिड बीउ लगाएपछि उक्त माटोमा पहिलेको बीउले उब्जनी दिएन।‘ यसको कारण अत्याधिक कीटनाशक-झारनाशक रसायन प्रयोग हो या उक्त बीउबाट हुर्केको बोट या अन्य केही, मलाई थाहा छैन। कसैसँग जानकारी भए बाँड्नुहोला।

GMO

Genetically Modified Organism का मान्छेअनुसारका व्याख्या र बुझाइ छन। दुनियाँले बुझ्ने डरलाग्दो हाउगुजी GMO चाहिँ यो होः फरक species को जीन अर्को species मा घुसाउनु। उदाहरणलाई मोन्सान्टो नै लिउँ: मकैमा माथि उल्लेख गरेको रसायन प्रतिरोध गर्ने जीन ब्याक्टेरियाबाट झिकिएको हो; भारतमा व्यापक विरोध भइरहेका bt cotton र bt brinjal का जीनहरु पनि ब्याक्टेरियाबाटै झिकिएको हो। यिनीहरुको मुख्य बदनामी मोन्सान्टोको रसायन व्यापारले गर्दा भएको हो। अलिअलि बदनामी चाहिँ मान्छेको डरले गर्दा।

मान्छेहरु सोच्छन कि GMO मकै, धान, फल आदि खाँदा उक्त जीनले के गर्छ भन्न सकिन्न। हाम्रै जीउमा पो मिसिने हुन कि? वातावरणमा के असर पार्छन? धार्मिक-सामाजिक महत्व बोकेका खानेकुराहरु अशुद्ध हुने हैनन्?

यी सबै हावा कुराहरु हुन। किनभनेः

१)  तपाईँले जीन हरेक दिन खानुहुन्छ! रोटी, फलफूल, भात, मासु, आदि हरेक कुरामा जीन हुन्छ। जीन या पच्छन नपचे फालिन्छन, जीउमा मिसिँदैनन्।

२)  हामीले प्रयोग गर्ने धेरै औषधीहरु GMO प्रविधि अपनाइएर बनाइएका हुन, विशेषगरी सुइ लगाउनुपर्ने औषधीहरु।

३)  माटोबाट खराब रसायनहरु प्रशोधन गरेर (bioremediation) माटो सफा पार्न GMO रूखहरु लगाइन्छन।

४) GMO खान कसरी र किन सुरक्षित छन भनेर इटालियन वैज्ञानिकहरुले एउटा स्वतन्त्र अध्ययन गरेका थिए, केही महिनाअघि। उक्त अध्ययन यहाँ छ भने उक्त अध्ययनबारेको समाचार यहाँ छ। आफैँ पढेर विचार बनाउनुहोला।

सबै GMO खराब छैनन्। आफूलाई चाहिएको कुरा बोटबालीमा छैन भने कहाँबाट कसरी जुटाउन सकिन्छ, त्यसो गर्दा हुन्छ। गोल्डेन धानबारे थाहा होला धेरैलाई। अन्य भिटामिन र अमिनो एसिड यसैगरी जीउलाई दिन सकिन्छ भने यसलाई खराब भन्नु हुँदैन। GMO प्रविधिद्वारा हुर्काइएका बोटबाली नै हाम्रा भविष्य पनि हुन सक्छन। वातावरण र जलवायु परिवर्तनसँगै जाडो-गर्मीमा बोटहरुलाई रोग, किरा, चिसो तथा अनावृष्टिबाट जोगाउन पनि GMO को सहयोग लिनुपर्ने हुनसक्छ। अनिकालको समयमा बाली नहुनु भन्दा भएकै राम्रो भन्ने लाग्छ मलाई।

फेरि पनि, सबै हाइब्रिड खराब, सबै GMO खराब भन्न मिल्दैन। आगोले पोल्छ भनेर आगो नै बहिष्कार गर्नुलाई बुद्धिमता मानिन्न। व्यावसायिक प्रयोजनका लागि बनाइएका हाइब्रिड, अझ विशेषगरी GMO-हाइब्रिड खराब हुन/होलान। हाइब्रिडलाई नराम्रो मान्ने हो भने त कुनै नयाँ क्रस गराउने कसरी, लोकल प्रजातिका राम्रा जीन धेरै फल्ने विरूवामा मिसाउने कसरी…. कृषिमा क्रान्ति हुन्छ कसरी!?!

लास्ट लामो लेखिएछ। अब एकलट मोन्सान्टोको चर्चा गर्छु। अनि हाम्रो दही-चिउरे प्रवृत्तिबारे। अनि सकियो।

धेरै मान्छेहरु भन्छन मोन्सान्टो खराब हो, यो खत्तम छ। मेरो विमति छैन। हो, खराब पक्कै छ। नियतमा दुष्टता अवश्य छ। तर एउटा व्यापारिक उद्योगबाट अरु थोक, शायद धेरै नै राम्रो कार्यको, आश गर्ने हामी चाहिँ मूर्ख हैनौँ? नेपालमै पनि हानिकारक चाउचाउ, चिजबल, चिप्स, सोडा (कोक-पेप्सीजन्य पदार्थ), जुस बेच्नेहरुबारे के छ हाम्रो धारणा? कि यिनीहरुका बम्पर पुरस्कार र दशै एक्स्ट्राभ्यागञ्जामा हामी सम्मोहित छौँ? मोन्सान्टोले पनि ५ किलो हाइब्रिड मकैको बीउसँगै १ तोला सुन पुरस्कार दिए सबै ठीकै त छ भनेर मकै छर्न बारीतिर त लाग्दैनौँ?

मोन्सान्टो ठीक-बेठीक भन्दा पनि यसबाट हुने फाइदा-बेफाइदा केलाउनु जरुरी छ। बेफाइदा धेरै भए (धेरै छन नै, कृषिको विद्यार्थीको आँखाबाट) हाम्रो आँगन टेक्न नदिऔँ। देशले देशलाई पुग्ने बीउ, खाना उत्पादन गर्न वातावरण बनाइदियो भने बाहिरबाट मोन्सान्टो जस्ता कम्पनीहरुले देश छिर्ने चेष्टा पनि गर्दैनन् होला। हुन त मोन्सान्टोले नेपालमा बीउ बेच्न भन्दा पनि हावा-पानी र वातावरणीय विविधताको फाइदा उठाएर आफ्ना बीउ टेस्ट गर्न खोजेको जस्तो मात्र लाग्छ मलाई। किसानलाई guinea pig बनाएर केही नभन्ने, बीउ बेच्ने, डाटा जम्मा पार्ने, अनि डाटाले के भन्छ त्यो अनुसार ठूला देशमा अर्को कदम के चाल्ने भनेर निर्णय गर्ने यो कम्पनीको दाउ हो कि जस्तो ठान्दछु म। किनभने नेपालको सानो बजारमा  बीउ बेचेर यिनीहरुलाई खासै नाफा हुने देख्दिनँ। तर कारण जे भए पनि यो कम्पनीबाट परै बसेको बेस।

अन्तमा, बारीमा रोप्न बीउ घरमा हुनुपर्‍यो। नभए बीउ बनाउनुपर्‍यो। खाना सबैलाई चाहिन्छ। शहरमा बस्नेले कोदाली उठाउन सक्दैनन् भने गाउँमा बस्नेले नेताको कठालो समात्न। दुवैतिरबाट हातेमालो भए के गाह्रो! १० वर्षअघिकै कुरा त हो, हामी धान-मकै विदेश पठाउँथ्यौँ यार। सम्झँदा नि रून मन लाग्छ।

*** कमेन्टमा एक साथीले योबारे कुरा उठाउनुभएकोले प्रष्ट पार्न थप्दैछुः हाइब्रिड सन्तान पैदा गर्न बाबु र आमा दुवै inbred हुनु जरूरी छ। त्यसैले एकै बोटमा भाले र पोथी दुवै फूल हुने विरूवाहरुको क्रसबाट जन्मिने बीउहरुलाई हाइब्रिड मानिन्न। वैज्ञानिकहरूका अनुसार मानिस, जनावरहरुका सन्तानलाई हाइब्रिड भन्न किन मिल्छ त भन्दाः १) out-crossing गर्न नसक्ने भएकाले, २) अत्यन्तै सानो gene-pool मा बस्ने, सन्तान जन्माउने भएकाले। तर यो कुराको विरोध गर्ने वैज्ञानिकहरु पनि उत्तिकै छन। सबै डाटा र तर्क दिन यहाँ सम्भव अलि छैन, यसको लागि क्षमा माग्छु। ‘सबै हाइब्रिड बाँझो हुन्छन’ भन्ने बुझाइले गर्दा पनि होला यो कुरा उठेको। तर सबै हाइब्रिड बाँझो हुँदैनन्। बाबु र आमाबीच क्रोमोसोम संख्या तलमाथि भएर सन्तानको क्रोमोसोम बिजोड संख्या भएमा मात्र बाँझो हुन्छन।

Advertisements

9 thoughts on “हाइब्रिड, GMO, मोन्सान्टो… आदि-इत्यादि

  1. Pingback: GMO, भ्रम र यथार्थ – Anotherverse

  2. Pingback: Nepal Affairs | Monsanto! Is it really that harmful?

  3. If I’m not wrong Chaudhary group is planning to lunch this Moonsanto product in Nepal. This big enterprenour of nepal is again putting us in dark side like it is doing with Wai Wai noodle. MSG in food is not accepted thing but so called CG is making nepLese ppl fool, addictive , dependent in its product . Basically these business person have no any duty towards human service rather they always thing to collect , suck bucks from ordinary people. So in my opinion it’s our failure that we accept their things easily . Like wise writer says if we have been given some sort of bumper prize along with Monsanto product this topic would not have come in front.

    Like

  4. Dear Jujuman Jee,
    Had wanted to contact you urgently about your article on Monsanto. I am Rabindra Mishra from the BBC. Would be really thankful if you could suggest me a way to contact you.

    Regards
    Rabindra

    Like

  5. हैन यी धुरन्धर बैज्ञानिक बिद्यार्थी को यो तार्किक कुरा ले म जिज्ञासु त अचम्मै पो परे … “विज्ञानको ठाडो परिभाषामा कुनै १ बाबु र १ आमाबीचको क्रस भएर जन्मिने सन्तानलाई हाइब्रिड भनिन्छ। यसर्थमा तपाईँ-हामी सबै हाइब्रिड हौँ”
    रे ल भयो त ?? मानिस लगायत का अन्य जनावर हरु पनि बनस्पति जस्तै स्वं आफै एक्लै ले सन्तान उत्पादन गर्न (मैले बुझ्ने भाषा मा आमा- बाउ आफै ) सक्छन र ?? जस्तो एक बोट मकै मा मात्री-तत्वो र पितृ-तत्व उ आफै मा भए जस्तो | यदि हुदैन भने कसरि हैब्रिड ??

    अनि मोन्सान्टोको कुरा गर्दा संसार भरि पहिले भएका इतिहास, युरोप का बैज्ञानिक ले गरेका अनुसन्धान हेर्न सकिदैन र ?
    यहा सवाल हैब्रिड को मात्र हैन मोन्सान्टोको हैब्रिड संगै आउने के के जाति बिसादी को नि हो | तपाइँ जस्ता धुरन्धर अध्यता ले त अलि प्रस्ट संग लेख्नु -बोल्नु पर्यो नि | मोन्सान्टो नि नाबिच्काउने किसान लाइ नि ठिक्क पार्ने पारा को लेख लेखेर भएन नि ..

    Like

  6. thank you for ur information. BUt i think the critical question is wat would be the scenaario after 10 or more years of using these hybrid GMOs maize? This would increse our dependency on such companies and our local varieties would be lost. They would control our feeding system through seeds.

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s