हामी गरीबहरु

लेखिसकेपछि यसो पढिहेरेको त के लेखियो के लेखियो जस्तो लाग्यो। तर थन्काउन नि मन लागेन। कसम झारपात लेखिएको छ, किन पढ्नुहुन्छ र खै। एनिवे…. पढ्ने कष्ट उठाउनु भयो भने यति चैँ भन्दिराखम कि यो लेख हल्का रूञ्चे सुनिन सक्छ।

 

गरीब को हो?

यो पढ्ने सबै गरीब। ‘छ या छैन’ ढाँचाको कुनै पनि प्रश्नमा उत्तर ‘छैन’ आउँछ भने गरीब।

ठाउँ हेरेर, अवस्था हेरेर सबै गरीब। कोही तन्नम गरीब, कोही मध्यम गरीब। कोही धनका गरीब, कोही मनका गरीब। यो पढ्ने अधिकांश हामी भने अभावका गरीब – मुहान डोल परेको खेतको अभाव; बाटोछेऊमै पसलको अभाव; असल पार्टनरको अभाव; राम्रो डेराको अभाव; बढी दाम पर्ने मोबाइल, बाइक, कम्प्यूटरको अभाव; आदि-इत्यादि – भएर पनि नभएका गरीब। नभएको हैन, तर पुगेको छैन। यो अर्थमा यहाँ को गरीब छैन र? सबैका बढ्दा इच्छा छन; यी इच्छाले अभाव देखाउँछन्। त्यसैले म ठान्दछु कि हामी मुल्ला सबै गरीब। अरु केहीमा नभए विचारका गरीब। गरीबीका तह फरक, तर गरीब पक्कै। यो लेख जिन्दगीका धेरै मागहरुमा पुगीसरी आएका तर पनि ‘भो पुग्यो, चाहिएन’ भन्न नसकेका तिनै गरीबहरुबारे छ।

लेखको मूल आशय यो हो कि गरीबका अनावश्यक व्यथा कति कति। यति उति भनेर भन्न नसकिने। दलिनमा स्याउँस्याउँ परेका साङ्लाका झुण्डभन्दा धेर। हामी गरीबको एउटा व्यापक नराम्रो बानी के भने बाढीले बगरका सबै मूढा टिपेजसरी सकेजति दुःख, चाहना, भावना समेटेर हिँड्न खोज्ने। फलानोको के छ र चिलानोले के गर्‍यो, ती आफूमा पनि लागू होउन् भन्ने विचार राख्छौँ हामी दरिद्रहरु। विचार नराम्रो हैन – प्रतिष्पर्धाले चुली चुमाउँछ। तर फगत आशा र दृढ योजनामा धेरै फरक हुन्छन भनेर हामी गरीबलाई कसले भनिदिने? समय नै कहाँ छ र योबारे सोच्न? फलानो र चिलानोको डाढ गरेरै जो बिताउछौँ धेरै समय। शायद यही कारणले पनि गरीब होलाउँ कि हामी। देखेको चाहिने, छोड्न असमर्थ। भौतिक कुरा मात्र नभएर विचारमा पनि। कहाँसम्म भने, कुनै चिन्ता गर्ने विषय नै नभएर टेन्सन पर्‍यो भन्ने खालका गरीब हामी। पाइलैपिच्छे दुःखमनाउ गर्न नपाए बाँचेजस्तो नलाग्ने खै किन हो है। आफ्ना व्यथा थोरै, अरुका इर्ष्यामार्फत जन्मेका व्यथा धेरै।

डाढ र इर्ष्या गरीबमा अधिकतम हुन्छन्। फलानाले यो गरेछ, चिलानाले त्यो ल्याएछ, ढिस्कानाले त्यत्रो जोडेछ, आदि। कसरी भएछ र कसरी आफूले गर्न सकिएलामा थोरै जोड दिन्छौँ। तर के, कस्तो भनेर नाक जोत्दै जाने हामी गरीबको विशेषता हो; अरुको बनिबनाउबारे केही त खराब कुरा चुहिएला भनेर सुँघ्दै पिछा गर्ने पुरानो बानी हो। खासमा रोग नै भन्दा पनि हुन्छ। रोगाउन सजिलो, दवाई गर्न मुश्किल। डाढको आडमा गरीबले खुट्टा तान्छ, विष्टा बर्साउँछ, परे हमला पनि गर्छ। तर विचरा गरीबले सोच्न भ्याउँदैन, या शायद सक्दैन कि उसको झम्टाइ उजस्तै अर्को गरीबमाथि नै हो भनेर। कुन हो किराले आफ्नै प्रजातिको किरा खाएजस्तो। गरीबले ‘क’ले गरीब ’ख’ देखिसहेन, किन भन्दा ‘ख’को इच्छा खाडलबाट निस्कने थियो। विडम्बना, ‘क’को पनि इच्छा त्यही थियो। तर जब ‘क’ असमर्थ हुन्छ, उसले ‘ख’को सामर्थ्य देख्न सक्दैन। अनि सक्ने ‘क’ले या ‘ख’को डाढ गर्छ, नसक्ने ‘क’ले डाढले डढेलो लगाइदिन्छ। तर ‘क’ जहाँको त्यहीँ। सक्ने भए त ‘ख’ बन्थ्यो होला। ‘क’को रोषले गर्दा ‘ख’ पनि जहाँको त्यहीँ। आखिरमा खाडलभित्रको अवस्था जस्ताको तस्तै। त्यसैले त गरीबहरुको झुण्ड सधैँ गरीब नै रहन्छ।

गरीब गाँडा हुन। अबुझ, लाटा, भेडा सबैको मिश्रण। ‘तेरो कान कागले लग्यो’ भनेर कसैले भन्दा कान छाम्न छोडेर ‘तँलाई के मतलब’ भन्ने प्रवृत्ति राख्छन।एउटाले एउटा कुरा गर्छ, उसकै हो मा हो मिलाउँछन। अर्कोले अर्को कुरो गर्दिन्छ, अनि पहिलोलाई दुश्मन बनाउँछन्। विवेक कमै हुन्छ गरीबको। भएको पनि अस्थिर हुन्छ। चलखेल गर्न सिपालु हाइक्लास गरीबहरु आएर भन्छन् – ‘तँ यति गरीब छस् कि तैँले अरुसँग प्रतिष्पर्धा गर्दा विशेष स्थान पाउनुपर्छ। तेरालागि खुड्किला हामी बनाइदिन्छौँ, चिन्ता नगर्। तँ चढ् मात्र।‘ तर विचरा गरीबले या बुझ्दैन, वा बुझेर पनि बेवास्ता गर्छ, कि चढ्ने अरु गरीबमाथि हो; ऊजस्तै उनीहरुका सपना कुल्चँदै, रीतविपरित। उसले बुझ्ने भए अरु गरीबका व्यथा बुझ्दो/बुझ्न खोज्दो हो, खाडलबाट सँगै कसरी निस्कने भनेर सोच्दो हो। गरीबले जात भन्दैन, धर्म भन्दैन। हाइक्लास गरीबले जे भन्छ, त्यो मात्र हो भन्छ। हाइक्लासले दिवास्वप्न देख्न सिकाउँछ, गरीब कर्म छोडेर मिथ्या कल्पनामा रम्न थाल्छ। त्यसैले गरीब गाँडा हुन।

हामी गरीब औधी आदर्शवादी पनि हुन्छौँ। लाग्छ, आदर्श बनाइएको गरीबकै लागि मात्र। जातको आदर्श, धर्मको राष्ट्रियताको आदर्श…. धनकै पनि आदर्श। हुन त गरीबको दोष धेरै पनि छैन यसमा। त्यस्तै संस्कारमा हुर्काइएका हुन्छन्। बराबरीको पाठ सिकाइन्न। भनिन्छ यो जात सर्वश्रेष्ठ; त्यो गाईखाने धर्म खत्तम; छिमेकी देश खराब – छिमेकी मात्र के, आधा-गलोब उताको फलानो-ढिस्कानो देश खतम। किन त भन्दा सहयोग गरेन रे। गरीबको सोच! यस्ता हावा कुरा सिकाउने पनि गरीबै हुन विचरा। बुद्धिको भाँडो प्रायः खाली हुनेले विचार कसरी बाँडून्। जे छ त्यही बाँड्ने न हो। मेरो ठीक, मै ठीक भनेर सिक्छ गरीबले। आफूभन्दा बाहेकको अस्तित्व स्वीकार्न गरीबलाई गाह्रो पर्छ। त्यसैले आफ्नो जात, आफ्नो धर्म, आफ्नो भाषा, आफ्नो देशका अरु गरीबहरुसँग धेरै मिल्छ ऊ। उस्तै परे अन्यलाई पेल्छ। श्रेष्ठताको फुस्रो धाकमा गरीबले गरीबलाई पेल्छ। अचम्म मान्नुपर्दैन, किनभने गरीबले गरीबलाई नपेले खुड्किला कसरी बनाउने, खाडलको परिधि कसरी तोड्ने?

गरीबको देशप्रेमको बनावटी आदर्श सबैभन्दा हाँस्यास्पद हुन्छ। सल्लाको खोटोमा भुसुना टाँसिएजसरी देशप्रेमको खोक्रो आदर्शमा टाँसिन्छन। खोटोले के दिन्छ र भुसुना आकर्षित हुनु? तैपनि हाइक्लास गरीबले खोटो देखाउँछ, गरीब टाँसिन जान्छ। हाइक्लास गरीब छाँट्छः ‘देशले यतिका वर्ष पाल्यो तँलाई, तर तँ भने विदेश भासिन खोज्दैछस्?’ विचरा गरीब ग्लानिले अल्झिन्छ। हाइक्लास गरीबले भावनाको कालोपट्टि बाँधिदिन्छ, हीन बनाउने राष्ट्रियता बोकाइदिन्छ। गरीबले भारी बोक्छ। लाटो गरीब सोच्दैन, कि बाउले घरको कर तिरे, स्कूलको फि तिरे; कमिज किने, इरेजर-कलम किने; आमैले साग उमारिन्, भात-रोटी खुवाइन्। खै र देशले पालेको २० वर्ष? विचरा जोइपोइले आफ्नै करबाट खास्टे तलब/ज्याला बुझे। सकी-नसकी यहाँसम्म पढाए। बनाए। सपारे। पठाए। देशले पक्कै पालेको हो त २० वर्ष?यस्ता विचार बोकेर जो गरीब खोटोबेगरका सपना देख्छ, उसको र उसका सपनाहरुको खिसी उडाइन्छ। देशघातीको आरोप लगाउँछन हाइक्लासहरु, अरु गरीबहरुलाई उरालिदिन्छन – ‘हेर्, यो कस्तो कुजात’ भनेर। हाइक्लास गरीबका हनुमान अरु गरीबहरु डाढले मर्छन, अनि फेरि हो मा हो मिलाउँछन। दुःखको कुरा, पछ्याउनेबाहेकका विकल्पहरु गरीबसँग छैनन्। ऊसँग तर्क हुँदैन, बुझ्ने ऊर्जा हुँदैन। त्यसैले बौरिन्छ, उचालिन्छ, थचारिन्छ, अनि खोटोमै रम्न बाध्य हुन्छ गरीब।

कहिलेकाहीँ एउटा बाहिरिया इलिट गरीब आएर भन्दिन्छः वाह, गरीब त कति राम्रा। कति सहनशील। दुःखमा पनि हाँसिरहने, विपतमा सधैँ हात बढाइरहने। यी गरीबहरुजस्ता त दुनियाँमा (अरू गरीब) कोही छैन। कति सादा छ जीवन, कति सुखी छ जीवन। इर्ष्या लाग्छ हामीलाई त, यिनीहरुको जीवन देखेर।

गरीब ठान्छ, हो न हो, क्याबात गर्‍यो यसले। नाक अत्रो पार्छ गरीब, छाती चौडा पार्छ, अनि दङ्ग पर्छ आफ्नो तत्काल बढेको शान, शोभा देखेर। भ्रमित गरीबहरु हामी।

अझ थप्छः तिमीहरु गरीब हैनौ। तिमी निम्न-वर्गीय, तिमी मध्यम-वर्गीय, तिमी चैँ अलि उच्च-वर्गीय। तर गरीब भने कदापि छैनौ!

गरीब फेरि ठान्छः ड्याम राइट म्यान। म कहाँ गरीब हो त। म त माथिल्लो वर्गको। मसँग यो छ, त्यो छ, यति बनाएँ, त्यति थुपारेँ – त्यसैले म गरीब हैन। समीकरणको उकालोमा पर्खेका के छैन, कति छैन, कसरी जोड्ने बारे भने गरीबले भुलिदिन्छ, इलिट गरीबको उर्लाइमा। जब इलिट जान्छ, र उही विवशताले घेर्छ, तब वास्तविकतामा झर्छ ऊ। वर्गविभाजन नभएर सबै गरीब भएको एकै खाडलमा इलिट गरिबले पर्खाल बनाऊ यसरी भन्छ, गरीबले उसैगरी बनाउँछन पनि। त्यसैले त भनेको, हामी गरीबहरु हरिलठ्ठक हौँ।

गरीबलाई सयल नहुने, सुख त परको कुरा। चाहिएको न्याय नमिल्ने। देशका देउता समेत तिनै गरीबको आत्मा धितो राखेर बेची खान्छन अरु, गरीब लाचार हुन्छन आफ्नो देउता जोगाउन। गरीब लाचार छ। गरीबले गल्ती गर्दैन। मान्छे मार्दैन। अर्काको पसिना जम्मा पारेर डुबुल्की मार्दैन। रगत चुस्दैन, शत्रु पोस्दैन, जमीनलाई हेप्दैन। तर पनि माफी माग्छ गरीब। न्याय नपाउँदा पनि भोलिको आशा ताप्छ गरीब। इलिट गरीबलाई यी केही लाग्दैन। उसको गरीबीको तह माथिल्लो छ। गरीबलाई लाग्ने उसलाई नलाग्ने उसको ओहदा छ। गरीब हेर्छ, सराप्छ, तर रहन्छ खाडलमै। गरीब जुझ्दैन, झुक्छ। इलिटले चुस्छ। त्यसैले गरीब झन गरीब।

खासमा यो लेख्न जाँगर चलेको चाहिँ केही हप्ताअगाडि इथियोपिया पुगेर आएपछि हो। हामीले बच्चैदेखि सुन्दै आएको कुरा हो: इथियोपिया संसारकै गरीब देश; नेपाल दोश्रो (वा तेस्रो, भुटानको नाम लिएर)। ‘नेपाल जलश्रोतमा दोश्रो’ भनेजस्तै होला यो कुरा पनि। तर मैले जति देखेँ, त्यतिको आधारमा भन्ने हो भने हामी जति नै गरीब छन इथियोपियनहरु। त्यहाँ हाम्रो सम्पर्क कार्यालय क्षेत्रीय कृषि कार्यालय (सरकारी) थियो जुन शोध र संरचनाका हिसाबमा नेपालकै नार्कको जिल्लास्तरीय कार्यालय जस्तै थियो। कर्मचारी पनि हाम्रैजस्ता ‘हैसियत’का। त्यहाँ हाम्रो बालीमा चरा नबसून भनेर माटोका डल्लाले चरा धपाउनेमध्ये एक महिलाको फोटो खिचिमाग्दा अर्कीले जिस्केर ‘जान्छेस् कि के हो विदेश?’ भनेर खितिति गर्दै थिइन्। [फोटो खिचेको चैँ उनीहरुको चरा धपाउने उपकरण गजब लागेर। नाइलनको डोरीले बनाउने रहेछन। बीचमा स्यानो पाता, जसमा माटोको डल्लो अड्याउन, अनि दुवैतिर लामो डोरी। पातामा माटो राखेर यो दुवै डोरीका फेर औँलाले च्यापेर घुमाउने रहेछन्, र चरो ताकेर एउटो फेर छोड्दा रहेछन्। चरा भुरुर्र! २ वटा फोटो राखेको छु पूछारमा।] अनि अलि दिनअघि ट्विट गरेको थिएँ, मैले ‘जर्किन’ भन्दा एउटा सोल्टी दङ्गदास परेर हाँस्यो – कहाँदेखि आएको यो मुर्दारको तिर पनि जर्किन हुँदो रैछ भनेर होला। यो सोल्टी त्यहाँकै एक कर्मचारी हो, र लेटर अफ रिकमेन्डेसन चाहियो भनेर हाम्रो ग्रुपका एक वरिष्ठ वैज्ञानिकको पछि लागेको थियो।

अनि सोचाइ आयो, बोलिने भाषा फरक भए पनि हामी गरीबको जीवनशैली लगभग एकै, बाँच्ने तरिका लगभग एकै। नेपालमा पनि हामी गरीबहरुको हालत यस्तै त हो – अभावका बीच सपना फुलाउने। जति नै तन्नम भए पनि बातैपिच्छे सुनौला आशा लुकेका हुन्छन – शहर/विदेश जाने, कमाउने, बनाउने, सुखमा बस्ने। गरीबको कर्ममा दुःख र अभाव जति धेरै भए पनि सपनाले ठाउँ पाउछन्। तर बोझ उत्तिकै। त्रास उत्तिकै। नचाहिने झैझमेला बटुल्ने हाम्रो बानी पनि उत्तिकै। वाहियात कुरामा चासो राख्न पर्ने, टिप्पणी गर्नै पर्ने, सके हामीमाझकै अर्कोलाई पछार्न पर्ने स्वभाव पनि उत्तिकै भएका चण्डाल गरीबहरु हामी। देखिँदा सोझा तर कुरा बाङ्गा; हेर्दा सीधा तर चाल टेढो हाम्रो।

अन्तमा फेरि,गरीब भनेर ‘साँच्चैका’ गरीबलाई भनेको हैन। हामी स्वाङपारेहरु – भएर पनि नभएका, पुगेर पनि नपुगेकाहरु – अपार गरीब हौँ।

 

eth14_1eth14_2

 

 

 

 

 

 

 

ठूलो साइज हेर्न फोटोमा क्लिक गर्नुस्।

 

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s