मेरी आमाका हुन नसकेका बुहारीहरु

 

हाम्रो समाजमा छोराछोरी हुर्केपछि बिहे बाउआमाले गराइदिन पर्छ, मुख्यतया। माम्पाखा यो सोचेरै टेन्सन हुन्छ कैलेकाइँ। यत्रो लाठे भइयो र पनि केटी भेट्टाउन सकिएन भनेर। नभेटिएका त हैनन्, बुहारीवाला गुण भएकी छान्न गाह्रो। समस्याहरु पनि अलि धेरै हुने रहेछन बाहिर बसेपछि। नेपाली केटीहरुसँग उत्ति भेटघाट नहुने, र जोडी खोज्न अलि गाह्रो हुने। भेटिएका कस्ता कस्ता पर्ने, केही महिना सम्बन्ध जाँचेपछि महिनालाई वर्ष बनाउन मनले नमान्ने। भेटिएका खैरी र अन्य देशका केटीहरु अक्खा हुन खासमा। लुगा लगाउन जान्या छन। मुसुक्क हाँस्न जान्या छन। हाम्रा केटीहरु चैँ चोसो पसार्न मात्र जान्या छन।

तर फेसबुकमा खैरी-काली अंकमाल गर्‍या छोडौँ, सँगै डुलेको फोटो देखेर मात्रै नि बाउआमाको सात्तो जाने। हजुरआमा भन्थिनः ‘हेर बाबु, हात्ती पाल्न सजिलो होला कुइरिनी पाल्न हुँदैन। नल्या है केटा यस्ता डंकिनीलाई।‘ गुहु-मुत सोहोरे। हुर्काए, बढाए, यस्तो मान्छे बनाए। लौ मन त राख्दिनै पर्‍यो जस्तो लाग्छ। मन राख्ने मात्र भन्दा नि आफ्लाई नि रहरै छ भनौँ न नेपाली लड्की बिहे गर्ने। बूढीले मस्यौरा पकाएर ख्वाउली भन्ने ठूलो इच्छा छ हेर्नुस्। पकाउन त के पकाउलान र खै अचेलका केटीहरुले – प्राय हाइ मेन्टिनेन्स भैसके। झुक्केर पकाउनीवाली परिछ भने अहोभाग्य! 😉

घरमा फोन दाबिन्छ यस्स्सो कैलेकाहीँ। के भन्छिन आमा, फोन राख्नुअघिः “छोरी भा’को भए उहिले नै पोइल गैसक्थिस् होला। छोरो भइस् र ढुक्क छ।“

!!!!!!!

मेरा स्कूल-कलेजका केटी साथीहरु, जसमध्ये धेरै अझै अविवाहित नै छन, पोइल गाका त छैनन् भन्ठान्छु मनमनै।

अनि केटीका कुरा जोड्छिन। याँबाट कुरा आको छ, त्याँबाट कुरा आको छ। यति पढेकी, उति पढेकी। हाइट यति। सर्लक्क परेकी। गोरीमा गोरी। ह्यान – त्यान – ठ्यानठ्यान। मलाई भने…. अर्काकी छोरी, चिन्नु न जान्नु… इन्फोरमेशन ओभरलोड! दिक्कै लाग्दो गरी व्याख्या गर्छिन। तैपनि आमैका यी जोशिला प्रस्तुतिहरु चाख मानेर सुनिन्छ।

“पुल्चोकबाट इन्जिनियरिङमा मास्टर्स गरेकी। न्यूयोर्कमा बस्छे। अग्ली (याज इन हाइटले अग्ली ;पी)। कान्छा बाको घरा’ट कुरा आएको। सबै राम्रो छ। याडी याडा याडा।“ – भनेर आमैले भनिन्, घर फुनाम्दा।

लौ अब अमेरिकैमा छिन भने कन्याको अनुहारको दर्शन गरौँ न त भन्ने विचार मनमा पैदा भयो। कन्या मन परिछन् भने कुरो बन्ला कि त भन्ने अलि उत्सुक लालसा नि पैदा भयो। मान्छेको मनै त हो।

आमालाई भनेँ – लौ नाम पाउँ न त उनको।

भन्छिन – मलाई था’छैन।

कुरा ल्याउँछिन। लालसा देखाउँछिन। आफैँ उत्साहित हुन्छिन यस्ता कुरामा। भरे नाम चैँ थाहा छैन रे!

अनि कसलाई थाहा छ त?

तेरी सानिमालाई।

अब आमाको गनगनले नपुगेर उनकी बहिनीको पनि सुन्नपर्ने भयो भनेर दिक्क लाग्यो। झोँक नि चल्यो। सानिमा बसेतिर रातको २-३ बजेपछि फेसबुकमा तिम्री दिदीले यस्तोयस्तो भनिन् भनेर खबर छोड्नुपर्ला भन्ने सोचेर फेसबुक खोल्या त सानिमाले पहिलै मेसेज छोडिसक्नुभएको रहेछ। दिदी-बहिनीबीच छलफलको प्रक्रिया सकिएर आन्तरिक सहमति पहिले नै भएर यस्तो निर्णयमा पुग्या हुन दुवै माईहरु भन्नेमा कुनै शंका रहेन।

कन्याको फेसबुक लिङ्क खोलियो। यसो हेर्छु, जम्मा ३ वटा प्रोफाइल फोटो, त्यसमाथि नि एउटा खै कुन तालको, अनि बाँकी २ मा भिन्ना-भिन्नै अन्वार! एउटा फोटोमा भन्दा अर्को कन्या अलि मोटाइछिन कि भनेर अड्कल काटेँ तर अनुहार मिलेन। पक्का २ जना देखिए।

तत्काल शंकास्पद स्थितिको सिर्जना भैहाल्यो। यिनलाई नि नमस्ते गर्नुपर्‍यो भन्ने सोच्दै थिएँ, एक्कासी उनको नाम गुगलमा सर्च गरौँ, के भेटिँदो रहेछ भन्ने खुफाहा आइडिया आयो। सर्च गर्दा कन्याको लिङ्क्डइन पेज भेटियो जहाँ उनी काम गर्ने ठाउँको बारेमा लेखेको रहेछ। त्यो काम गर्ने ठाउँ पनि गुगलमा खोजियो अनि सर्चमा भेटिएको पेज खोलेको त सौन्दर्य-प्रशाधन गरिने पसलमा काम गर्दि रहिछन उनी। कन्याको व्याकग्राउन्डका बारेमा बढाइचढाइ गरिएको हो भनेर बुझ्न धेरै समय लागेन।

काम त जे गरे पनि ठिकै छ, तर सरासर ढाँटियो उनको बारेमा। उनको भनिएको उमेरलाई पढाइसँग दाँज्दा र पढाइलाई अहिले काम गरिरहेका वर्षहरुसँग दाँज्दा उनको उमेर र पढाइबारे ठूलो डिस्क्रेपेन्सी भेटियो। माम्पाखा ग्रान्ड डिजाइन नै जस्तो झण्डै झुक्काएका यार मेरा मावली पट्टिका कान्छा हजुरबाउका कान्छा सुपुत्रले! आमा र सानिमाले सोचेका थिए होलान भाइले राम्रो कुरा ल्यायो भाञ्जोलाई। खुब ल्याएछन!! (कसैलाई याद छ भने, अस्तिनै ट्विट गरेको थिएँ – एउटाको १ वर्षे छोरोलाई मैले ‘बच्चो’ भन्दा तत्काल मेरो कमेन्ट डिलिटेर फेसबुकको इनबक्समा म्यासेज पठाइथे उनले मलाई! ती बच्चाका बाउ यिनै हुन्! यस्ता नौटङ्कीले त ल्याएका कुरा, के सद्दे हुन्थ्यो! :डी)

तर धन्य इन्टरनेट! गलत शिकार हुनबाट बाँचिएछ।

***<<<+++>>>***

अर्को एउटा राम्रो प्रोपोजल — मेरी आमाको नजरमा  — आएको थियो निकै अगाडि। मेरालागि त सबै उस्तै। नचिनेकालाई के राम्रो भन्नु, के नराम्रो भन्नु। फेरि अर्काकी छोरीचेलीलाई नराम्री भनिहाल्न नि हुन्न भन्ने लाग्छ।

केटी हेरेर, हल्का बुझेर आमा र सानिमाको दुई सदस्यीय अन्तरिम परिषदले निर्णय गरिसकेका रहेछन्। मलाई त फ्याट्ट लाएर सिधै कन्याको फेसबुक लिङ्क पठाए। यस्स्सो हेरिदिएको त कन्या मन परेपरे जस्तो भओ है। मुख त लाज र आकांक्षाले रातै भो के, ल जोडी मिलि पो हाल्च कि भनेर। चट्ट खाइलाग्दो ज्यान। आफू सुहाउँदो पढाइ पनि। मुसुक्क मुस्काको फोटो हेर्दा त मोरीका दाँत के बिधि राम्रो हुन जस्तो नि लाग्यो। झण्डै-झण्डै लबै परेको नि यी कन्यासँग।

केटो परियो। पहिलो नजर त रूप, ज्यानमै जान्छ। हर्मोनको कमाल हो भन्नुस्! अनि यसो अरुतिर नजर डुलाइयो। नानीको थर मेरो कुप्रो मावलीकै (जीबाउको मामाघर) थर रहेछ। अब जीन पढेको मान्छे, इनब्रिडिङको त्रासले चसक्क पारिहाल्यो। हुन त छोरी पाउनु कैले कैले, भोटो सिउनु अहिले भनेजस्तो पनि। तैपनि सोच त आइहाल्यो नै।

सानिमालाई भनेँ – थर यो रहेछ। के दुःख गर्नु। कुरा अगाडि नबढाउँ।

सानिमाले मलाई माथ गर्दिनुभोः थप कुरा बुझियो नानीको। कुप्रो मावली थर भन्दा पनि तेरो थर र केटीको मावली थर एउटै रे’छ।

आफ्नै थर कन्याको मावली हुँदैमा इनब्रिडिङ हुन्छ नै भन्ने छैन। तर सकेसम्म टाढा बसेको राम्रो। हाम्रो समाजमा र मुलुकी ऐनमा पनि हाडनाताको कुरा उठेको यसै कारणले हो।

अन्त्याँण कुरो त त्यहीँ सकिगो। क्या फसाद! हल्का मन परेकी कन्या र मबीच अन्य विविध कारणले बाधा पुर्‍याए। र यसरी यी कन्या पनि मेरी आमाकी बुहारी हुन सकिनन्।

***<<<+++>>>***

लास्ट एउटीको कुरा गरौँ।

३-४ महिनाअगाडि होला, घरमा फोन गर्दा ‘एउटी डाक्टरनी केटीको कुरा आयो’ भनिन् आमाले। शुरुमै “ल भयो माई। डाक्टर-नर्स कन्याहरुलाई बाइबाइ गरौँ अहिले नै। यी पेशाका थप कुरा आएछ भने इग्नोर गर्दिउँ।” भनेँ।

“पख् न, याँ कुरा त सुन्” भनेर पेलिहालिन्। करैले नि सुन्न त परिगो।

केटीको नाम फलाना रे। ढिस्काना मेडिकल स्कूलमा पढेर अहिले चिलाना हस्पिटलमा काम गर्छे रे। यति हाइट, र उति डाइट भनेर फेरि रामायण शुरु भो। तर कथाले अचानक अर्कै मोड लियो।

“काठमाडौँ शहर इलाकामा घर नहुनेलाई नदिने रे, त्यसका बाउआमाले भनेका” भनिन्। मलाई हाइसञ्चो भयो – यी केटी नि ‘जाल’मा नपर्ने भइन भनेर हैन, काठमाडौँमा घर नभएर हैन; त्यहाँ घर भएका खोज्ने मूर्खहरुको संगत नहुने भो, यदि कुरा अघि बढेकै भएमा, भन्ने सोचेर।

अनि गुनासो गरिन: जग्गा छँदैछ, घर बनाउन केको आइतबार। त्यो नि तिमेरुले (म र मेरो भाइ) नबना भनेर त हो नि। कस्तो राम्रो कुरा आको थियो।

म र मेरो भाइ काठमाडौँ शहरमा घर नभई ‘हैसियत’ बन्दैन भन्ने पूर्णपागल सोचका पहिलेदेखि नै विरोधी। यसो भन्ने अर्धपागलै लाग्छन मलाई। घर जहाँ बनाए नि भो, बस्ने, बनाउनेको इच्छा हो। तर काठमाडौँमा घर भए-नभएको कुरा हैसियत र मान-प्रतिष्ठासँग जोड्नेहरु देख्यो कि हाँसो उठ्छ। हुन्छ नि, काठमाडौँमा त सुनै फल्छ जस्तो। जहाँको हावा र पानीको यस्ता बिगारा छन कि यिनको संगतमा पर्‍यो भने बिहान-बेलुका मान्छेले आफैँ पार्ने ‘सुन’ त कालो निस्केला भन्ने डर हुन्छ, त्यहाँ के सुन मिल्छ? वर्षौँ बस्दा बरु विष मिल्छ। ज्यान धरापमा पर्ने ठाउँ हो त्यो।

अनि डर्टीमान्डुभन्दा बाहिर बसेकाहरु रूख र ओडारमा बस्छन जस्तो गर्छन यहाँ घर भएका सभ्य सज्जनहरु। अरुले छोरीलाई दाइजो दिन्छन, यी भने छोरीको बदलामा घर माग्छन। कस्तो खत्तम सोचहरु जन्माउने मान्छेहरु यार हामी। तोइट।

अस्ति केही दिनअगाडि फोन गर्दा फेरि यो कुरा उठाइन् आमाले – कस्तो राम्रो कुरा थियो रे, सबै कुरा मिलेको थियो रे, आदि-इत्यादि। विचरी आमैलाई बडै पीर परेको रहेछ बरा। केटी उम्की भनेर हो या काठमाडौँमा घर नभएर, उनैलाई थाहा होला!

तर कुरा जे भए पनि,यी कन्या पनि मेरी आमाकी बुहारी हुन सकिनन्।

यसरी धेरै कुराले भाँजो हाल्छन र कन्या भेटिन्नन्। र मेरी आमाले कसैलाई बुहारी बनाउन सकेकी छैनन्।

हतार भने छैन। छोरो अझ हुर्कँदै छ। 😀

 

Advertisements

8 thoughts on “मेरी आमाका हुन नसकेका बुहारीहरु

  1. Hello Jujumaan! let me tell u that ur an amazing writer! very persuasive, very logical n at times, very candid! and I read ur ‘virginity’ piece, very relevant. I strongly agree with what u have so effectively advocated. glad to have came across ur blog! keep writing! 🙂

    Like

  2. हाहा। बिहानबिहानै राम्रै हँसाउनुभयो, अनुजी। हाम्री आमाहरुले खोजेजस्ता बुहारीहरु र ज्वाइँहरु भेटून भन्ने आशा राखौँ। 🙂

    Like

  3. सारै राम्रो लेख! त्यस्तै त हो नि केटीहरुको हाल पनि। कहिले भने जस्तो पढाई हुदैंन, कहिले जागिर र घरबार, अनि कहिले हाईट -हुन नसकेका ज्वाईहरु। 😛

    Like

  4. हाँसेर सकिएन, असाध्यै गज्जप । बिहेको कुरो केटा केटी सबैको उस्तै कमेडी हुने रैछ 😜

    Like

  5. आफ्नो हुन नसकेका र नालीबेली सबै थाहा भएकाहरुको फेसबुक लिंक नै यता ठेल्दिए अन्य अबिबाहित केटाहरुमा ठुलो गुन लाग्ने थियो नि बाबै 😛

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s