घरको नबुझेको पीडा

 

अचेल समाचार, अनलाइन ब्लगहरुमा मधेश र पहाड बाझाबाझ गरेको देख्न पाइन्छ। भन्न त दुवै तर्फले ‘तर्क राखेको, खुल्लमखुल्ला बहस गरेको, स्वच्छ विचार प्रस्तुत गरेको’ आदि भन्छन। तर मेरो मनले भने यी कुनै पनि कुरा मान्दैन। म जाबोको मनले जे भनोस्, त्यति महत्वपूर्ण हैन। तर ताज्जुब चैँ गजबले लाग्दो रहेछ हेर्नुस्।

यो विषयमा खासै बोल्न मन लाग्दैन। किनभने, बोल्दा बात लाग्ने डर छ। मनले राम्रो चिताए पनि नराम्रो सोच्देलान भन्ने समय छ, अनि बोलिन्न। ‘पोलिटिकल्ली करेक्ट’ हुनैपर्ने जमाना छ अचेल। अनि के ठूला कुरा बोल्नु, यो सानो छुच्चो मुखले जस्तो नि लाग्छ। तर मनले नमान्ने। ‘दुनियाँ नाटक हो, किन घोक्रो सुकाउँछौ, किन आफ्नैलाई दुष्टको व्यवहार गर्छौ’ भनेर सम्झाउन मन लाग्ने। व्यर्थको प्रयास।

भव्य नौटंकी आँखासामुन्ने छ; नाटकमा नाच्ने बाँदरलाई नचाइएको छु भन्ने थाहा नभएको देख्दा आश्चर्य लाग्नु ठूलो कुरा भएन। ‘तँ चैँ बाँदर हैनस् र?’ भनेर नि भन्लान, सोच्लान कतिले।

मलगायत हामी धेरै बाँदर थियौँ कुनै बेला; कति त अझै छौँ। नौटंकी कम्पनीबाट उम्केपछि, बाहिरबाट दर्शकका आँखाले हेरेपछि बुझिने रहेछ – कसले नचाउँछ; कसले उफार्छ, र बाँदरको उफ्राइ उसको घाँटीमा बाँधिएको डोरीको लम्बाइभन्दा धेरै नहुने रहेछ भनेर। वा चटकेले भुइँमा केरा फ्याँक्छ, बाँदर फर्केर भुइँमै आउँछ। चटकबाट उन्मुक्ति पाएकालाई, वा चटकमा रूचि नभएकाहरुलाई सोध्दा हुन्छ, बाँदर हुनु र नहुनुबीचको फरक।

पहिले मेरो ‘वर्ग’को परिचय दिन्छु। म पहाडमा जन्मेर, त्यतै हुर्केको मान्छे। लिङ्गले पुरुष, जातले बाहुन, धर्मले हिन्दू, आदि-इत्यादि। यीमध्ये कुनै पनि मैले छानेर लिएको हैन। जन्मिँदा भएछु। मजस्तै, मेरो उमेर हाराहारीका पहाडमा जन्मेका र हुर्केका (नारी हुन या पुरुष, तर विशेषगरी बाहुन वा क्षेत्री जातका) सबै यो वर्गमा पर्छन भनौँ यो लेख भरिलाई। हाम्रो (मेरो हकमा) मधेश ज्ञान शायद मठ्ठ छ। लगभग शून्य। शंका छैन, यो वर्गलाई आज ताज्जुब लाग्ने कारण यो हो कि हामीले व्यवहारमा नल्याएका शब्दहरु कति सजिलै ‘तिमीहरुले शुरु गर्‍यौ‘ भनेर हामीमाथि चोर औँला तेर्साइन्छ। मेरा हजुरबाउ वा उनीभन्दा अघिल्लो पुस्ताले जथाभावी रूख काटेर पहिरो गएपछि ‘यसरी त हुन्न, वनको त माया गर्नुपर्ने रहेछ’ भन्ने बुझेर मेरो बाउ, र मेरो पुस्ताले रूख रोप्दा पनि ‘हुनेजाने सबै पहिरोको दोष तेरो साखासन्तानको; तिमी पापीहरुको रगतमै छ’ भनेर उफ्रनेहरुको नौटंकी देखेर बडा ताज्जुब लाग्छ। यो त भयो मेरो प्रमुख गुनासो, मेरो कुण्ठा।

मैले नबुझेको एक वर्ग हो मधेशमा जन्मेका, हुर्केका तर थर ‘पहाडे’ नभएको। यानेकि अचेल शब्द खेलाउन जानेकाहरुको परिभाषाअनुसार ‘टोटल मधेशी’ थर भएका। टोटल मधेशी के हो भनेर मलाई थाहा छैन; माथि नै भनेँ, मधेश ज्ञान मठ्ठ छ। मधेशको समाज कसरी बनेको छ, मलाई थाहा छैन। मधेशी समाजमा वर्गविभाजन कस्तो छ, त्यो पनि थाहा छैन। उनीहरु के चाहन्छ, किन चाहन्छन, मलाई कसरी हेर्दछन, नेपाललाई कसरी हेर्छन, आदि केही पनि थाहा छैन। तर पत्रिका पढ्दा, रेडियोमा अन्तर्वार्ता सुन्दा, सोसल मिडियामा उठेका कुरा पढ्दा लाग्छ कि यो वर्गमा रिस धेरै छ। शायद पहाडबाट हेपिएको, राज्यबाट उपेक्षित भएको, आदि कारणहरुले गर्दा होला। कति हेपिए, कसरी पेलिए, कति उपेक्षित भए भन्ने मलाई थाहा छैन। किनभने मेरो मधेश-ज्ञान लगभग शून्य छ। राज्यकै कुरा गर्दा यो चैँ थप्छु कि हाम्रो देशमा राज्यले नेता तथा माथिल्ला तहका कर्माचारीबाहेक सबैलाई पाखा गर्दछ – जात, धर्म, बसोबास, आदि हेर्दैन, पैसा र पावर हेर्छ…. मेरो २ पैसे बुझाइमा।

विगतमा, हामीभन्दा अघिल्ला पुस्ताहरुले अपहेलना, दमन गरे होलान्। तर पीडादायक, घृणायोग्य सम्झनाहरुलाई पछाडि छोडेर अगाडि बढ्ने सके पो राम्रो हुन्थ्यो। यसो गर्न, गराउनमा राज्यको पनि रूचि छैन – राज्य चलाउनेलाई घाउ गिजोल्न पाए पुग्यो। राज्य कहिले धामी बनिदिन्छ, कहिले बोक्सी। तर दोष भने माथिल्लो पहाडे वर्गमा आउँछ किनभने राज्यको देखिने नाम, थर, छालाको रङ, बासस्थल, आदि प्राय पहाडे टाइपका हुन्छन। धेरै वर्षअघि पोलिटिकल साइन्स पढाउने मेरा प्रोफेसरले भनेको याद आउँछ – The oppressed will never be equals, because they do not want to be equals. They choose to be offended; they choose to be hurt, because that unites them, and that is where they find security. उत्तर तथा दक्षिण अमेरिकाका गोरा र कालाबीच आजका दिनमा पनि कसरी विभेद छ भन्नेबारे चर्चा गर्दा यो कुरा उठेको थियो। बुझ्नेले जसरी बुझे पनि म विचरो बेकसुर पहाडेमाथि औँला उठ्दा; अनि मजस्तो पहाडेले मधेशीको गिल्ला गरेको, नीच स्तरको व्यवहार गरेको देख्दा बडा ताज्जुब लाग्ने रहेछ। ताज्जुब थोरै, डर र ग्लानि धेरै लाग्ने रहेछ।

मैले नबुझेको अर्को वर्ग पनि छ – मधेशमा जन्मेको वा/र हुर्केको तर ‘पहाडे’ थर भएको। लाग्छ, यिनीहरु बीचमा ठिङ्ग उभिएका छन। भन्न त आफूहरुलाई मधेशी नै भन्दछन (जुन सत्य हो, मेरो तुच्छ विचारमा), र आफ्नो मधेशी परिचय गुम्न नदिन अथक प्रयास पनि गरेको देख्दछु। तर मधेशी वर्गले थर र छालाका रङ्गका आधारमा ‘हैन’ भनिदिँदो रहेछ क्यारे; अनि पहाडे वर्गले यिनको बोलीको लवजबाटै चिनेर ‘तराइमा कति बिघा छ’ बाट कुरा शुरु गर्दा हुन क्यार। न यताका न उताका जसरी असमञ्जसमा पारिएका, “बीच नदीको यो भूमरीमा जीवन नाउ पर्न गयो…” भनेर फत्तेमानले गाएजसरी। दुवैतिरकाले नसुनिदिएपछि यिनीहरुको बोली यत्तिकै हराएको देखेको छु। तर यिनीहरुको पनि खास समस्या के हो, बुझ्दिनँ।

म नबोलाइएको बहसमा पाहुना बनेर छिर्न सक्दिनँ, किनभने म मेरो वर्गबाहेक अरु वर्गहरु बुझ्दिनँ। (आफ्नै वर्ग पनि पूरै बुझेको छु भन्दिनँ।) छालाको रङ, बोलीको लवज, लगाइएको लुगा, बसोबासको थलो, आदि कारणले गर्दा अपमानजनक शब्द र व्यवहार कसैमाथि प्रयोग हुँदा कस्तो अनुभव हुन्छ, त्यसको खासै अनुभव मसँग छैन। बाहुन जातको (जात मान्दिनँ) भएकाले टपरे र काठो धेरैले भन्थे स्कूलमा पढ्दा, तर हँसीमजाकको रूपमा लिइन्थ्यो। मन मिल्ने साथीहरुले भनेको खण्डमा उनीहरुको जातको नाम काढेर आफूले नि रमाइलो गरिन्थ्यो। उबेला बालसुलभ हानिविहीन व्यवहार थिए ती, अचेल नहोलान्। तर कुरा के भने, उमेर पुगेका वयस्कहरुले, पढेलेखेका तथा कुरा बुझेकाहरुले कसैको भद्दा रूपमा जानाजान मजाक उडाउँदा कस्तो अनुभव हुन्छ, त्यो मलाई थाहा छैन। त्यसैले मधेशीहरुले ‘हामीलाई तथानाम भनियो, भेदभाव गरियो’ भन्दा हुने अनुभव म बुझ्छु भनेर कसैलाई ढाँट्नु छैन। पहाडेहरुले पनि ‘हामीलाई तथानाम भनियो, भेदभाव गरियो’ भन्लान… यसको पनि अनुभव मसँग छैन। नबुझेको कुरा नबुझ्दा पनि बुझेको छु भनेर बुझ पचाउँदै उत्पीडित समूहलाई उल्टै सम्झाउने, थर्काउने, हेप्ने, पेल्ने जस्ता पाखण्ड गर्नु पनि छैन।

तर, बिझ्ने कुरा के भने कोही पनि साथीहरुबाट बुझाउने प्रयास पनि छैन… मलगायत। यो भयो, यसरी भयो, हामीलाई यसरी हेरिनुपर्ने, उसरी हेरियो भनेर कसैले बुझाउला कि भन्ने लाग्छ, तर खासै देख्दिनँ। हुन त यिनीहरुका मनमा पनि मेरो जस्तै डर होला – ‘आफ्नोबारे खासै नबुझेको वर्गलाई आफ्ना कुरा राख्दा कतै उसको वर्गको मानमर्दन त हुने हैन?’ भनेर। तर दुवै वर्गका हामी चुप छौँ। कुनै तथाकथित विद्ले एउटा कुरा भन्छ, अनि खनिएर या समर्थन गर्छौ, या विरोधमा हुण्डरी मचाउछौँ। कसैले ‘के भो’ भनेर सोद्दा सीधा जवाफ विरलै दिन्छौँ। उदाहरणका लागि अनलाइन खबर साइटहरुका कमेन्टमा आँखा डुलाए पुग्छ। एउटा वर्गले एक थरी भन्छ, अर्को वर्गले अर्को थरी। गाली र गलौज दुवैतिर तयार हुन्छ, राम्रा कुरा कमै। रिस र उद्वेगबाहेक अरु कमै देख्छु दुवैतर्फ। नबोलौँ, रिसको ज्वालाले घरै लपेट्ला भन्ने डर। डराई-डराई दुई कुरा भन्यो, एउटा वर्गले ‘मुल्ला पहाडे, सामन्ती’ आदिको तक्मा तयार पारेर राखेको हुन्छ; अर्कोले ‘बंगाली, धोती’ आदि। ‘यसरी हेपिस्, उसरी पेलिस्’ भन्छन। ‘तँ खत्तम, देश माया नगर्ने’ भनेर अर्कोले। खै, मैले कसैलाई र कसैले मलाई हेपेको त छैन जस्तो ठान्छु। मैले कसैलाई र कसैले मलाई देशद्रोही पनि भनेको छैन जस्तो लाग्छ। तर पनि बीचमा परिएको छ। कुरा नबुझी पनि गाली बुझिलिनु परेको छ। मैले नबुझेको, ताज्जुब लाग्ने भनेका यिनै परिस्थितिहरु हुन। हामी जुनै, कुनै वर्गका किन नहौँ, धेरैलाई यस्ता परिस्थितिहरु कैयन पटक परेको हुनुपर्दछ।

मधेश नबुझे पनि मधेशसँग पक्का परिचित छु, कुनै न कुनै रूपमा। नर्सरीदेखि २ कक्षासम्मको स्कूलका हेडमास्टर जनकपुरे रेग्मी थिए; १ कक्षामा म्याथ पढाउने महतो सर पनि जनकपुरे नै थिए; २ कक्षामा अङ्ग्रेजी पढाउने शर्मा थरका जुम्ल्याहा सरहरु राजविराजका थिए; स्कूल (४ क्लासमाथि) देखि कलेजसम्म घिमिरे, महत, शाही आदि घनिष्ट दोस्तहरु तराइकै थिए। यी कोहि पनि भैया, मर्स्या, मदिसे भएनन्। म, र यो वर्गका सबै, यिनका लागि पनि खस, काठे, पहाडे, सामन्ती आदि भएनौँ। पहाडे वर्गका, त्यसमाथि मेरो उमेरका, धेरैका यस्तै उदाहरणहरु होलान्। तर ‘हेप्ने, सामन्त’को घेराभित्र मजस्ता कति परेका छौँ। मेरा माथिका सरहरु, साथीहरु पनि ‘भैया, मदिसे’का कित्ताभित्र परेका होलान। काग कराउँदैमा अनिष्ट हुन्छ भनेर विश्वास गर्दिनँ, त्यसैले मलाई यस्ता कुराहरुसँग फुट्टी मतलब लाग्दैन। आशा छ, म परिचित भएको मधेशले पनि मतलब गर्दैन। तर मतलब नगरे पनि बोल्न भने जरुरी छ। बोल्नभन्दा ज्यादा अरुले बुझ्नेगरी बोल्न जरूरी छ।

ताज्जुबको अर्को कारण चैँ, म पहाडेले तराइ जसरी बुझेको छुइन, त्यसैगरी मधेशीहरुले कत्ति पहाड बुझेका होलान; वर्ग तीन कसरी? वर्ग तीनले दुवैपक्ष कति बुझेका होलान? पहाडेले वर्ग तीन कसरी?? अनि जुनै वर्गले होस्, बुझेर गाली गरेको भए, आक्रोश पोखेको भए ठीक छ। तर मजस्तै अबुझ भएर गाली गरेको भए? बुझ्ने प्रयास गर्दा कसो होला? ७० वर्ष बाँचिन्छ, २०-२५ वर्ष नबुझेर बिताइन्छ, अनि अन्तिमका ५-१० बाहेक बाँकी सबै उफ्रेर, गाली गरेर बिताइन्छ जस्तो लाग्छ। युवा बेलाको तातो जोशले चर्किसकेको जग फुटाउन दुरुपयोग गर्ने हो कि, जुटाउन, समेट्न सदुपयोग गर्ने हो? किनभने, अरु केही नबुझे पनि, बुझ्छु कि भाइ-भाइ बाझ्दा जति उफ्रे पनि फोडिने घरको मझेरी नै हो। भत्किनै तिनै, आफ्नै घरका भित्ता नै हुन। यो नबुझ्ने थोरै होलान। के बाझाबाझ र झगडा सधैँ चलाउने हो? सधैँ चलिदिने हो, चलाउनेको भड्काउमा?

पहाडे र मधेशीको बारे मात्र लेखिनुका पछाडि मेरो अज्ञानता बोल्दछ – हिमाली क्षेत्रको बारेमा सुक्को केही नबुझेर हो। नबुझेको लेखेर हिरो पल्टिनु छैन। उनीहरुको पीडा उनीहरुसँगै छ… हिमाल-पहाड कटेर, नदी तरेर तल्लो-पहाड र मधेशसम्म कहिले आउला? पहाड-मधेशले सिलाबरको थालमै भए पनि ‘राज्यले दिएको’ थापेर खाएका छन; उत्तरतिर थाल होला कि नहोला, बाझाबाझ गर्नेलाई के मतलब। हाम्रो आफ्नो समस्या सबैभन्दा ठूलो।

यस्तै हो हाम्रो पीडा। एकले अर्कोलाई बुझेका छैनौँ। तर पनि हात्ती बखान्न हामी सबै तेज; सबैका बखान सहि। 🙂

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s