बोकी दिदी & the Tongue of Her Eyes

मैले काठमाडौँ विश्वविद्यालयबाट आइ. एस. सी. पढ्दाखेरिको घटना सुनाउँदैछु।

भर्ना हुँदा म सेक्सन ३ मा परेँ। हरेक वर्ष चारवटा सेक्सनमा लगभग २५० विद्यार्थी भर्ना गर्थे, एउटा सेक्सनमा लगभग ६० जनाको हाराहारीमा। सेक्सनहरु रोल नं (जुन नामको पहिलो अक्षरका आधारमा दिइन्थ्यो) का हिसाबमा २ भागमा बाँडिन्थे – ३०/३२ का दरले – ताकि फिजिक्स, बायोलोजी, र केमिस्ट्री ल्याबहरुमा विद्यार्थीहरुको भीड नहोस्। म मेरो सेक्सनको ल्याब ग्रुप १ मा परेँ। यो कुरा महत्वपूर्ण छ; हामी पछि फर्केर आउनेछौँ यो ज्यादै महत्वपूर्ण वर्ग विभाजनमा। 😀

पहिलो वर्ष सकेर दोश्रोमा टेकियो।

पहिलो वर्षमा जसरी बेञ्चमा बसिया थिइयो, केटाहरुले फेरि त्यसैगरी बसौँ भन्न थाले। मेरो ग्याङ पहिलो साल कक्षाको दाहिनेतिर अन्तिमबाट तेस्रो डेस्क-बेञ्चमा बस्या थियौँ। म बीचमा, केटाहरु साइडमा। देब्रेतर्फको छेउमा जनकपुरको केटो; दाहिनेतिर पनौतीको केटो, र दाहिनेतिरको छेउमा भैरहवाको केटो। जनकपुरे र पनौतीको ग्रह ६ दिनमा ३ दिन मिल्ने, ३ दिन नमिल्ने। ग्रह मिलेका दिन म पनौती र भैरहवाबीच बस्थेँ, नमिलेका दिन जनकपुर र पनौतीबीच। त्यसैले average गर्दा बीचमा।

तर कति बस्ने एकै ठाउँमा? दिक्क लाइसक्या थियो त्यो साइडको लास्ट र सेकेन्ड-लास्ट बेञ्चरका हो-हल्लाले। यी मुल्ला यथास्थितिवादीहरुको कुरा सुन्नु हुन्न भनेर म अर्को साइडमा गएँ। ज्यादै मन मिल्ने भैरहवा मसँगै आयो अर्को साइडमा पनि। उताको साइडको फाइदो के पनि भने, झ्यालहरु छेउ बस्न पाइन्थ्यो! बडेम्मानका शीशावाला झ्यालबाट बाहिरको जंगल, बाटो, आदि सबै देखिने। पानी पर्दा झन रमाइलो हुने। बडा मजा आयो हेर्नुस् पहिलो दिन। मनले, आँखाले असाध्यै सञ्च माने।

दु:खका साथ भन्नुपर्दा, दोश्रो दिनदेखि भने सेकेण्ड इयर नसकेसम्म कक्षाकोठामा साह्रै सकसमा बाँचियो। किनभने पहिले वर्षमा जे भोगिएन, दोश्रो वर्षमा हरेक दिन भोगियो। भोगाइ हल्का त्रासदीपूर्ण रह्यो भन्दा गलत हुने छैन।

दोश्रो दिन मैले अनुभव गरेँ, एउटी केटी एक टक लगाएर हामीतिर हेरिरहन्थी। एक टक = कसम से एक टक। कहिल्यै बाख्री लिएर बोको लाउन जानुभएको छ? जब बोकोले बाख्री उ परबाट ल्याइँदै गरेको देख्छ, र बाख्री बोकोको टाट्नुमा नपुगुञ्जेल जसरी मुन्टो हल्का घुमाएर, लत्राएर हेर्छ, हो, त्यै पाराको एक टक। सास फेर्न बिर्सलिन यिनले तर हेर्न बिर्सन्न जस्तो। त्यो दिन त खासै मतलब गरिएन… तर क्रम हरेक दिन दोहोरिन थाल्यो। हरेकपल्ट ‘यल्ले किन हेर्छे हौ यसरी’ भन्ने सोचेर यसो पछाडि फर्केर जब हेर्‍थेँ, ती बोके नजरका कोपमा यसरी परियो कि सरहरु, कुरा गरीसाध्य छैन। के खान हेरेकी हो, यसको बारे केटाहरुसँग कतै कुरा काट्या त थिइनँ, यसले बिताउँछे कि के हो, लौ हेरिहाली अब कता हेर्नु के गर्नु, आदि प्रश्नहरु बाल्टिनबाट माछा खनाएजसरी दिमागमा खनिन्थे। व्यापक अप्ठेरो स्थितिको सिर्जना तत्कालका तत्कालै हुन्थे। चरम अक्वार्डनेस (awkwardness) हुने।

(यहाँबाट यी केटीलाई आदरार्थी तृतीय पुरुषमा सम्बोधन गर्न चाहन्छु।)

उहाँको बारेमा कुरा गरौँ। पहिलो वर्षमा देखेको हो, हाइ-हेल्लो भएको हो। तर चिनजान घनिष्ट थिएन। ल्याब ग्रुप (माथि भनेँ) छुट्याउँदा भिन्ना-भिन्नै ग्रुपमा परेकाले त्यति राम्रोसँग बोलिएन, चिनिएन। दोश्रो वर्षमा उतापट्टि गएर बस्न थालेपछि पो थाहा भयो उहाँको अस्तित्वबारे। वहाँको अस्तित्वसँग हाम्रो दैनिकी बडा नराम्रोसँग मुछिन पुग्यो।

वहाँको हेराइ हामीले ठम्याउन सकेनौँ। मायाको हेराइ थिएन। मित्रताको हेराइ थिएन। वासनाको हेराइ थिएन। खै कस्तो कस्तो। अर्थ्याउन नसकिने हेराइ। हामीले सहि अर्थ लगाउन नसके पनि एउटा कुरा भने प्रष्ट भइसकेको थियो – उहाँ हेर्नकै लागि हेरिदिनुहुन्छ। र हेर्ने क्रममा अरुलाई सहज तवरमा आफ्ना कृयाकलापहरु गर्न साह्रो मुश्किल पारिदिनुहुन्छ। हुन्छन नि, ट्याउ टाइपका मान्छेहरु, ‘कुरा गर्‍यो कुराकै दु:ख’ वर्गका? त्यस्तै। हेरेरै अरुलाई गाह्रो पारिदिने, अप्ठेरो अवस्थाको सिर्जना गराइदिने.. उही, चरम अक्वार्डनेसको अवस्था!

अर्थात, वहाँ आँखैले हेरीकन लपलपी चाट्दिने खुबी भएकी हुनुहुँदो रहेछ।

म कोठाको उतापट्टि सर्दा मसँग भैरहवामात्र थियो। पछि धापासीको एउटा र चावहिलको अर्को थपिन आइपुगे। चावहिलको आएको चैँ मसँग बसियो भने पढिन्छ कि भनेर। सोल्टीले पहिलो वर्षको जाँच धुस्नु पारेछ जाँड खानी लतमा परेर। यसरी त हुन्न भनेर हामीसँग ‘बस्न आउँ?’ भनेर सोध्या थियो मलाई र भैरहवालाई। लौ हल्लाखल्ला नगरी बस्चस भने आइजो भन्यौँ हामीले। पछि यो सोधाइ देउताले जुराइदिएको जस्तो लाग्यो।

पहिलो दिनदेखि नै हामीसँग आएर बस्न थाल्यो चावहिल। हाम्रो बेञ्चमा सिटको orientation तय भैसक्या थिएन, जो जहाँ बसे नि हुन्च सुरुसुरुमा भनेर सहमति गरियो। म छेउमा बस्या थिएँ शुरुतिर। तर दोश्रो दिन जब म चाटिएँ, अनि हंसले ठाउँ छोड्यो। प्रश्न उठ्छ, उठ्नु स्वाभाविक पनि हो – ‘आइ. एस. सी. पढ्दै गर्‍या लक्का जवान छोरो केटो केटीले हेरी भनेर डराउनी? झन कार्यक्रमको व्यवस्था हुन सक्थ्यो। थुइये मुल्ला तेरो हिक्मत!’

मेरो (र त्यो बेञ्चको, किनभने हामी सबैले भोगेम पालैपिलो दिदीको चटाइ) उत्तर:

  • प्रश्न सोध्ने तपाईँ गाँडु त्याँ हुनुन्नथ्यो। वातावरण खासमा ज्यादै विषम र जटिल थियो। सहज भएको भए यो कहानी लेख्ने लेठो के खान गरिन्थ्यो?
  • नशामा हर्मोनको बाढी नै भएपनि कक्षा छिरेपछि, र दिदीले आज कतिबेर चाट्नुहुनी हो, के-के मात्रै गर्नुहुने हो भन्ने सोचिसकेपछि सर्वाङ्ग शिथिल हुन्थे। ढाँटेको भए मरिजाउँ यार!

अब चावहिलको कुरा जोडम याँनिर। केटो पङ्क्स टाइप भए नि मैले भन्या मान्थ्यो है सर्लक्क। मतलब, उठ् भने उठ्ने, बस् भने बस्ने! केहि दिनसम्म नराम्ररी चाटिएपछि अब त्यसरी त सधैँ सकिन्न भन्ने सोचेर चावहिललाई मैले अर्को हप्ताको एक दिन बिहानै ‘तँ छेउमा बस्’ भनेँ। के, किन केहि नसोधी बस्यो। तर बिहानभरि तनावमा थियो केटा… मैले बुझिर’को थिएँ। जब हाफटाइम भो, कक्षा बाहिर पुग्नेबित्तिकै ‘ह्या यार, कस्तो हो त्यो केटी? लेख्नवर्न छोडेर ट्वाँ परेर हेरिबस्छे। मलाई त साइको हानिसकी।’ भनेर भन्यो। उसका पीडा मेरा लागि दबाइ – साथी जो भेटेँ अब मैले!! हाँस्देको त रिसायो, मैले उसलाई त्याँ जानाजान पठाएँ भनेर।

मैले भनेँ – हेर भाइ, तँ आफैँ सोध्दै खोज्दै बस्न आइस्, तँ बस्नी भए छेउमा बस् हैन भने जा तेरै केटाहरुसँग।

उसलाई यति भन्दा ‘लौ तिमी मुजीहरु नै बस शिकार भएर’ भनेर घात गर्‍या भए यहाँनिर बडा गाह्रो पर्न सक्थ्यो। तर गरेन है तैतै। आइडिया फुरायो – भैरहवा र घैँटे (धापासी अलि मोटे थियो) लाई राख्दिउँ छेउमा।

म भुङ्ग्रोमा नपरेसम्म मलाई त बालै हो! हुन्च भनेर थप केहि दिन हाम्रो आयु टिकायौँ। जब चारै जनाले पालैपालो छेउमा बसिसकेम, तब सबैलाई थाहा भैसक्या थियो यहाँ के हुँदैछ भनेर। भैरहवा, जो हामीभन्दा २ सालजति कान्छो थियो, भन्छ – अरे यार, ऊ त मेरी दिदीसमान छ। हामी ३ जना हाँसेर झण्डै मूर्छा परेनौँ उसको कुराले।

अनि चावहिलले नाम जुरायो – बोकी दिदी। बोका प्रवृत्ति, तर केटी, अनि त्यसमाथि १ वा १ भन्दा धेरैकी दिदीसमान (उमेरकी)।

दिदी कसरी चाट्नु हुन्थ्यो, त्यो भन्नै पर्ने हुन्छ। यो बयान गर्न म पूर्णतयारीका साथ, चित्रसहित आएको छु हेर्नुस्। उहाँको बेञ्चको छेउमा बस्नुहुन्थ्यो। जब चाट्ने मुडमा आउनुहुन्थ्यो, तब दाहिने कुइना डेस्कमा अडाएर मुन्टो हत्केलाले थामेर पूरै हामीतिर फर्केर बसिदिनुहुन्थ्यो। हामीतिर फर्केर बसेको बस्यै, बसेको बस्यै, त्यो ५० मिनेटको पिरियडभरि। हाम्रो sixth sense ले हामीमाथि आक्रमण हुँदैछ भन्ने भेउ पाइसकेको हुन्थ्यो। त्यसैले पछाडि हेरिन्न’थ्यो। हेरिएमा लपक्कै। लामलुम लपक्कै!! अनि त्यो दिनभरलाई डोज पुग्थ्यो। अति चाटिएका दिनहरुमा हाफटाइममा ब्याग बोकेर कक्षाको उतापट्टि जनकपुरसँग गएर नि बसेँ म धेरैपटक।

boki didi

हामी ब्ल्याकबोर्डअगाडिबाट हिँड्दा उहाँका आँखा ट्रयाकिङ् डिभाइस बन्थे र हामी गएको, आएको, बसेको, उठेको सबै ट्रयाक गर्थे। यी गतिविधिहरु पनि भइरहेका छन हामीलाई थाहा हुन्थे, तर थाहा भएर भुत्रो गर्नु? कहिलेकाहिँ त स्याला लेख्दै गरेको बेलामा उठेर ‘हेर्छेस्? के हेर्छेस् तेरो बाउलाई?’ भन्न मन नभएको हैन। तर आँट भएन। त्यसो गरेको भए अरु राम्रा केटीहरुबीच उल्टै आफ्नै बिल्ला हुनसक्थ्यो, क्या आँडे रैछ यो भनेर।

परमेश्वरको कृपाले हामी चारैजना एउटा ल्याब ग्रुपमा थियौँ भने दिदी चैँ अर्कोमा। जब ल्याबको समय हुन्थ्यो, हामी चारभन्दा हँसिलो अरु कोहि हुन्थेनन् होला! चटाइबाट ३ घण्टालाई मुक्त भएर सास फेर्ने मौका पाउथ्यौँ। त्यसैले शुरुतिर नै भनेँ त, हामी ल्याब ग्रुप १ मा र दिदी २ मा पर्नु ज्यादै महत्वपूर्ण रह्यो।

वर्ष ढल्कँदै गएपछि के पनि गरेम त भन्दा अलि दुर्बल र निरीह केटाहरुलाई ‘भिजिटिङ गेस्ट’का रुपमा हाम्रो बेञ्चको छेउमा बस्न डाक्थ्यौँ। १ बाट २ पिरियड कोहि टिक्न सकेन! हाहाहा। दिदीका नजर त्यति कडा। दिदीका हेराइ त्यस्ता जानलेवा। लमजुङ, चितौन, झापा, आदि जो जो भिजिटिङ गेस्टमा परे, सबैले बुझे हाम्रो पीडा र बोकी दिदीको चाटु प्रवृत्ति। केटाहरुबीच दिदी ज्यादै फेमस हुनुभो।

अहिले सम्झँदा हल्का रमाइलो लागेपनि फर्केर ती क्षणहरु चैँ फेरि भोग्न नपरे हुन्छ जस्तो लाग्छ। भन्छन नि, you could not pay me anything to do that भनेर, त्यस्तै। 🙂

(शीर्षकको अंग्रेजी भाग ह्यारी पोट्टर सिरिजबाट प्रभावित छ। उक्त भाग सुझाइदिने @bbkbhl लाई धन्यवाद!)

Advertisements

One thought on “बोकी दिदी & the Tongue of Her Eyes

  1. हा हा बिचरा दाजुहरुलाई पर्नु पर्या रैछ तर कुरा के भने ती दिदी को गल्ती नहुन नि सक्छ बिचरी को आँखा मै ठुलै गडबडी हुनसक्छ किनभने यस्तो समस्या हाम्लै नि आको झन्डै केटो ले गोदाई खाएन ,लास्टा पो थाहा भयो कि उस्को आँखा मै
    समस्या रैच

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s