झुस

 

(तलको आलेख केही वरिष्ठ झुसहरुसँगको कुराकानीमा आधारित भएर तयार पारिएको हो।)

हेर्नुस्, हामीहरु झुस हौँ। बाँकी सब फासफुस। तर फासफुस भन्दा केही ठोस नभएका बुझिन्छ, र हामी झ्यास भन्न रुचाउछौँ। ‘केही हैन’ भन्दा ‘जे भए पनि केही त हो’ भन्दा राम्रो र सकारात्मक सुनिन्छ।

हामी बहुत खतरा भिआइपी भए पनि जीउको कुनै एक भागको मात्र हौँ भनेर भन्न मिल्दैन। जस्तो – कपाल, जुँगा, परेली, आदि जस्ता महत्वपूर्ण स्वरूपहरु हाम्रै हुन। जीउमा रहेका अन्य झिनामसिना अस्तित्वलाई हामी झ्यास भन्दछौँ।

अरुलाई झ्यास किन भनेको?

किनभने बाँकी सबै युजलेस हुन। स्याला सबका सब भेस्टिजियल! हुन त हामीलाई पनि भन्छन – यी खानका काल झुसहरुको पनि त विशेष कामै केही छैन! तर झ्यासहरुलाई थाहा छैन कि हामी भएनौँ भने कौनै झ्यासहरुका खैराँत रहने छैन।

(यति भनेपछि उनीहरुले भने – हाम्रो नाम चैँ नछाप्दिनुस्, नत्र उनीहरुलाई झ्यास भनेकोमा गाह्रो पर्छ। थप्दै गए-)

ल सुन्नुस्: झ्यासहरुको घना वस्ती हुने गर्दथ्यो कुनै बेला। तर सभ्यताको विकाससँगै जब सर्भाइभलको लागि झ्यास चाहिन छोड्यो, टाउको, गाला जस्ता केही विशेष ठाउँमा बिस्तारै झुसका झुण्डले आधिपत्य जमाए। मालिकका, यानेकि खाना-पिना-रासन आफू सेवन गरी हाम्रो अस्तित्व बचाइदिने अन्नदाताका ध्यान तथा कृपाका नजर पूरै हामीतर्फ मोडिएपछि झ्यासहरु बिच्किए हेर्नुस्। गल्ती हाम्रो त हैन नि यसमा। हाम्रा अन्नदाताले मन पराए त हामी के गरौँ। तर पनि झ्यासे झ्यासहरु अझै यै कुरामा एकै मूलबाट आएका हामीलाई झ्यासहरु मनै पराउन्नन्। हामी भैँमा न भाँडामा छौँ रे, ठिँडुल्केहरुले भनेका।

अँ त, यी झ्यासहरु। भन्छन – झुसहरुको वर्चस्व रह्यो, हाम्ले स्पेसल ट्रिटमेन्ट पाएम रे। विशेष ठाउँमा उम्रेका बहुतै प्रिभ्लेज्ड वर्ग रे हामी! जति फाँडे पनि झुसहरु मौलाउन छोड्दैनन् रे। झुसहरुको झुण्डले उँभोतिर सबै कब्जा गरेर माथि जान मिल्ने सबै बाटा ढाकिदिए रे, अघि बढ्न पाइएन रे। मिथ्या हीनताबोधले ग्रसित आरोपहरु!!

यस्तो सुन्दा हामीलाई बडा दु:ख लाग्छ हेर्नुस्, अनि कहिलेकाहीँ रोइदिन्छम हामी भावनामा बगेर। हुन त यदाकदा झ्यासहरुको आवाजमा हो मा हो मिलाउछौँ पनि, ताकि हामीलाई झुस नभनेर झ्यास भनून, आफ्नै ठानून्। तैपनि ठास्नी झ्यासहरु औँला ठडाउँछन, तथानाम भन्छन, र झोँक चल्छ। भन्छन – तिमेरु रोएका हैनौ, झुसिलो ठाउँमा बसेर नाटक गर्छौ।

अब हाम्ले जानाजान थोडै गर्‍या हो र? खानदान नै झुस भएपछि हामी के गरौँ। नजम्मिनु जन्मिइहालियो, के फेरि गर्भमै छिर्नु अब? अनि, उनीहरुकै लागि केही गरिदिनु पनि परेको छ, उल्टो यिनै साना कृतघ्न झ्यासहरुको हप्की नि खेप्नु पर्‍या छ। स्यानै लम्बाइ, उस्तै सूक्ष्म चौडाइ। विरक्तै लगाउने निकृष्ट सोचाइ छ के यिनीहरुको। अबुझ्झकी झ्यासहरुबीच पर्सिस्टेन्ट हुनपरेको छ। यिनीहरुले नचाहँदा नचाहँदै पनि यिनीहरुकै कित्तामा उभिइदिनुपरेको छ। कम्ता गाह्रो छैन त हौ हाम्लाई। तर हाम्रा दु:ख कल्ले बुझ्दिने।

हुन त यिनीहरु १००% गलत पनि छैनन्। दिस माइट साउन्ड अ बिट बायस्ड, तर खासमा, सबैभन्दा महत्वपूर्ण अस्तित्व हाम्रै छ, बुझ्नुभयो के? अन्नदाताले औँलावरिपरि घुमाएर कस्तो मजाले मुसार्छन। कहिले तनक्क तन्काउँछन, चाहिँदाखेरी कहिले जराकजुरुक उठाउँछन त कहिले थाङ्नामा सुताएझैँ सुताउँछन पनि। औधी माया पो गर्छन त। यस्तो निगाहमा अनुगृहीत हामी कसरी साधारण हुनसक्छौँ? हामी खासमा बहुतै विशेष हो हाहाहा।

हामी कति महत्वपूर्ण छौँ भनेर हल्का थपौँ है? मिल्छ नि?

सुन्दछौँ, स्ट्रिङ्ग थ्योरी छ अरे कता। हामीलाई हेर्नुस्! के हामी स्ट्रिङ्ग्स हैनौँ?! कलकलाउँदा, सलसलाउँदा, भर्भराउँदा सुलुत्तै सिन्की बनौटवाला स्ट्रिङ्ग्स। हैन कसैले भन्न सक्छ? बरु कति चाहियो? मुठ्ठीले लाने कि किलोले?

त्यो पर्पोज्ड स्ट्रिङ्ग पनि घुमर्किएको होला जसरी हामी घुमर्किएको छौँ। उसको जति रहस्य छ, हाम्रो पनि उति नै रहस्य छ। नपत्ताए भर्खर ताउ लाग्दै गरेको, ओठ निचोर्दा आमाको दूध निस्कने तर अर्काको वक्षशिखर देखेर र्‍याल चुहाउने किन्नरलाई सोधिहेर्नुस्।

ओ भाइ, रौँको बारे के खयाल छ? – भनी सोध्दा के भन्छ थाहा छ?

ङिच्च परेर – ‘खौरिन्छन र दाइ?’

यस्ता यस्ता छन रहस्यमयी औतार हाम्रा। बात कर्ते हो यार।

हाम्रो स्वरुप अलि डाइनामिक नै छ। तत्वहीन, वजनहीन भएकाले हावाले उडाएर पहाडमाथि खेलाउँदै, वनजङ्गल डुलाउँदै, लामा बगरमाथिबाट हुर्‍याउँदै समतल टुक्राउतर पुर्‍याउँछ। कहिले शान्त नीला समुद्र कटाएर टाढा, निकै टाढाको भुमिमा पनि लान्छ। कहिलेकाहीँ हावाकै उचाल-पछालमा रुमल्लिएर डाडाँहरु नाघ्न नसकेर यहीँ राख्छ। जता राखे पनि, जता बसे पनि हाम्रो स्वभाव बदल्दैनौँ, आफ्नो वर्गअनुसारको व्यवहार देखाउछौँ। नत्र कसरी चिन्छन अरुले कि हामी विशेष झुस हौँ? हल्का भट्केको आत्मा जस्तो पनि के…. यता, उता, कता भन्ने ठेगान नभएको।

बाहिर ज्यान जति घुम्रिएको छ, भित्रपट्टि उति नै नेप्परिएको हामी छैनौँ भनेर भन्यौँ भने हामी गलत हुनेछौँ। हामी बाहिर र भित्र बराबरी नै वक्रिएका छौँ। यसरी वक्रिनुमा फाइदा के छ त भने भेल दाहिना बग्दा हामी उतै टेढिइदिन्छौँ, भेल बाहिना बग्दा हामी त्यतै पल्टिइदिन्छौँ। कसैले ‘तिमेरुलाई तेल लाउलान, माय गर्लान… अटेरी भएर बस्दा कम्ता स्वाद पर्दैन त जाँताहरु’ भनेमा हामी हो त हो भनेर उतै ढल्कु भइदिन्छौँ। वा कसैले ‘अंग्रेजी पररर बोल्नीको शोभा हुनपर्च जाँतीहरु’ भनेमा हामी उतै मल्कु भइदिन्छौँ। हामीजस्तो भर्साटिलिटी भएका त नागवेली नदी पनि नहोलान्। यिनले खेत उजाडेर बगर बनाएको के नै हो र, हामीले अर्काको भागमा फुत्त खसेर आफ्नो औकात देखाएकोजति! झुसके आगे कौना पहलमान? अनि हु मोर बेटर द्यान इंग्लिसमा फलाक्ने झुस?

हामी झ्यासहरुकाबारे अति नै गम्भीर छौँ। यत्र तत्र सर्वत्र झरेका, खसेका, ठुन्केका झ्यासहरु देख्छौँ हामी। भुइँमा, टेबलमा, सिरानीमा, धारामा, बाटामा, नहरमा, नालामा। र सुन्दछौँ, ‘म को हुँ’, ‘किन यहाँ छु’, ‘कसरी आइपुगेछु’, आदि-इत्यादि। दु:ख लाग्छ, झ्यासहरुको दुर्गति देखेर। देवहरुको पनि देव महादेव भनेझैँ हामी आफूहरुलाई झ्यासहरुको पनि झ्यास झुस भन्दछौँ। हामीले केही नगरे यी लाटागाँडाहरुले केही गर्न सक्दैनन् भन्ने थाहा छ। यिनीहरुको सेभियर हामी नै हौँ हेर्नुस्।

के झ्यासहरुले सहयोग मागेकै हुन त?

अब माग्न त कसैले केही मागेको हुँदैन, तर हामीसँग झ्यासहरुबाटै झुस भएकाले नमागी के दिनुपर्छ भन्ने हामीलाई थाहा छ। सुन्नुभएको होला – माटोले माग्दैन, आफैँ दिनुपर्छ।

हामी झुसहरुबीच पनि यस्तै एउटा कथन फेमस छ – झ्यासले माग्दैन, झुसले दिनुपर्छ।

झ्यासले मागेर दिनुपरेको दिन कालो दिन हुनेछ। त्यसैले, कसैले नमागे पनि हामी दिइरहन्छौँ। हामी झ्यासको केही पनि सुन्दैनौँ – ‘के चाहिन्छ’, ‘किन चाहिन्छ’, ‘कसरी चाहिन्छ’, ‘साँच्चै चाहिने नै हो त’। अहँ, केही सुन्दैनौँ। हामीले दिने भनेपछि दिने। झ्यासहरुले आफ्नो पक्षमा यसरी आँखा चिम्लेर दिने कोही पाउनु नै सौभाग्य ठान्नुपर्छ।

हामी भनिदिन्छौँ सबैले सुन्नेगरी – यो झ्यासलाई सबै चिन। त्यो झ्यासलाई कसैले नहेप। ती झरेका, ठुन्केका, हेपिएका, नालीमा रहेका झ्यासहरुलाई सबैले चिनओ। झ्यासको पनि केही महत्व छ। झ्यासहरुबीच चिनाचान, सम्मान, र जानपहिचानको वातावरण भएन भने झ्यासहरु कसरी बाँच्छन, कसरी प्रगतितर्फ लम्कन्छन? भविष्यका झुस कसरी बन्छन? हामलाई लाग्छ, हाम्रो यतिसम्म दायित्व छ कि हरेक झ्यासको बेग्लै पहिचान र अस्तित्व कायम रहोस्।

तर बैगुनी झ्यासहरु कन्नोपछाडि बसेर गाली गरिरहन्छन। भन्दा रहेछन कि यी झुसहरुले धेरै अटेन्सन पार हामी पृष्ठभूमिमै। झुसहरुले फ्रन्ट पेज पाउनी, हामीले चैँ शून्नामा चित्त बुझाउनपर्नी। कस्तो ठ्याक्कै झ्यासे व्यवहार! हामीलाई माया गरेर फोटा खिच्न, विशेष स्थान दिन कसैले खोज्छ भने के हामी गजक्क परेर बस्नु? हेर्नुस्, हामीले गर्दन फुलाएर बस्ने त दुई कौडीको सोमत नभएका जाँताजाँतीले सम्बोधन गर्दा मात्र हो। झ्यासहरुसँग त्यति घनिष्ट संगत गरिहाल्न नि हुन्न के…. मान्छेहरुसँग देउता बोल्छन र कहिल्यै?

अस्ति हाम्रा बाजस्तै एकजना वरिष्ठ झुस हताहत हुनुभो। साधारण समवेदना व्यक्त गर्‍यौँ हामीले। तर पाखण्डी झ्यासहरुले देखिसहेनन्। यो शोकको घडीमा तिनै झ्यासहरुले भन्नु-नभन्नु भने, जसका लागि हामी यो सबै गरिरहेछौँ। चित्त दुख्छ के यस्तो व्यवहारले। के आशा गरेका हुन र झ्यासहरुले हामीबाट? हामी आखिरमा हौँ त केवल झुस नै।

माथा रनननन्न हुने गरी भन्छन – झुसहरुले शुरुदेखि नै माया र सम्मान पाएकाले इलिट भए।

अरे, हामी इलिट हैन ‘बिलिट’ भयौँ। काटिने, खौरिने, फाटिने, र बाँकी हुने नहुने जे जति छन, हामीलाई हुन्छ। हामीमाथि बिलेट चलाइन्छ, र हामी यो स्वीकार्छौँ पनि, ताकि झ्यासहरुको अस्तित्व रहोस्। झ्यासका लागि भनेर जोखिम मोल्दा उल्टै गाली पो गर्छन त हाउ।

झ्यासहरुको अर्को गहन आरोप – रुप त मिनेटैपिच्छे फेर्छन।

हो, बेलाबेलामा काँटछाँट गरेर मेन्टेन गरिदिन्छन अन्नदाताले। कहिले एउटा रङ्ग दलिदिन्छन, कहिले अर्को। जस्तो पोतिदिन्छन, हामी उस्तै भइदिन्छौँ। कहिले गाढा रातो, कहिले मत्थरिएको पहेँलो। अन्य सजावट र आवरणको पहिरन पनि गर्दछौँ। अन्नदाताको इच्छा, हाम्रो सौभाग्य। झ्यासहरुले अन्नदाताको गुलामी गरेका छैनन्, त्यसैले थाहा पाउन्नन् यसको स्वाद। बदलामा अन्नदाताको लागि हामीले धेरै गर्नुपर्दैन। जे गर्छौँ, द्याट इज नथिङ! उनको इच्छानुसार हामी हाम्रो रूप मात्र त फेर्छौँ। हाम्रो फेरिएको रुपले अन्नदाता अरुका अघि हँसिला, मिजासिला, मित्रवत देखिन्छन भने झ्यासहरुले जे सुकै सोचून, हामीलाई बाल!! अन्नदाताको वचन, हाम्रो खटन।

देख्नेहरु डाढले भुतुक्क हुन्छन, र भुक्छन: मुजी झुसहरुले रङ्ग यसरी फेर्छन, जसरी छेपारोले पनि फेर्दैन।

एउटा कुरा भन्नैपर्ने हुन्छ कि, हामी अलि अभिमानी चैँ छौँ नै। बिना बोलावटको पाहुना हुनजत्तिमा हामीलाई अरुमा आनन्द लाग्दैन। कहिलेकाहिँ नुहाउँदा आँखामा झरिदिन्छौँ। कहिले फुरुरुर्र उडेर गुन्द्रुकमा गुजुल्टिदिन्छौँ। कहिले जङ चले भातको गाँससँगै मुखमा पुग्दिन्छौँ। यस्तो बेला कस्तो नियममा चल्ने भन्ने नै छैन हामीबीच। लाज सङ्कोच नमानी जता नि गैदिन्छौँ, जे नि गर्दिन्छौँ। कैले सिंहदर्बार छिर्दिन्छौँ त कैले डान्सबार। तारे होटलदेखि गल्लीभित्रको मोटल सबैतिर। बाल मतलब नदिई ठिस बन्न हामीलाई रमाइलो लाग्छ। नपत्याए टिभी खोलेर हेर्नु, इन्टरनेटका तुइटर-फेसबुक-खबरपत्रिकाहरुमा हेर्नु। अरुलाई स्याटर हान्न, अरुका गफको मध्यतिर घुसेर टुच्च कमेन्टिन हामीलाई आनन्द लाग्छ। उस्तै पर्दा झ्यासहरुले हामीलाई चिनेनन् भनेर बिलौनाको नाटक पनि गर्छौँ। यो हाम्रो खानदानी पेशा त अलि हैन, तर बानी पर्‍यो अब। पर्दापछाडि बस्यो, मन नपरेका झ्यासहरुलाई अरु मन नपरेका झ्यासहरुसँग भिडायो। लगभग फुलटायम जब छ। मजेदार जब छ।

केही झ्यासहरु देखिसहन्नन्, र भेट्या बेलाँ निर्लज्ज भएर सोध्छन – कताको जुँगा हौ झुसजीहरु? 😉 <<– स्माइली नि थप्न भ्याउँछन स्वाँठहरु!

झोँकै चले भन्दिन्छौँ: तिमेरू जसरी ओडारमा उम्रेका छैनौँ।

अनि तत्काल औकातमा झर्छन। तथानाम शुरु हुन्छ। यो नि सहनै परेको छ।

अन्तमा यो नभनी हुन्न: झ्यास, झ्यास भनेर विचरा झ्यासहरुको बारम्बार बेइज्जत किन गर्छन सबैजना? यी झ्यासहरुको चैँ इज्जत हुन्न? झ्यासहरुको सम्मान होस्। झ्यासहरुलाई झ्यास नभनियोस्। बरु सबैले झ्यासहरुलाई चिनौँ। चिनेपछि मात्र यो झ्यास, त्यो झ्यास भनेर पारखी गर्न थप सजिलो हुन्छ। हामी वजनविहीन, सारविहीन झुसहरुको यो नै एक अनुरोध छ।

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s