कृषिमा कम्पनीको प्याटेन्ट: किसानलाई पासो

 

यूरोपियन प्याटेन्ट अफिसले कृषिमा प्रयोग हुने एउटा अति सामान्य प्रविधि (MAS) लाई ‘टेक्निकल’ विधाअन्तर्गत प्याटेन्ट दियो। गत हप्ताको कुरा। CGIAR ले राम्रो सारांश उसको पेजमा लेखेको छ

यो कुरा पश्चिमा मिडियामा खासै आएन किनभने, मेरो विचारमा १) मुद्दा पुरानो थियो, २) जित्ने कम्पनी सानो हो, कसैले बाल नदिने खाले, र ३) हार्ने कम्पनीहरुले पनि शायद सोचे होलान, यस्तै केस पछि कसैले हामीमाथि हाल्न सक्छ… अहिले चूप बस्यौँ भने पछि यै फैसलाको भरमा किसानलाई चेँप्न सकिन्छ।

पश्चिमाले नउठाएको कुरा नेपाली मिडियाले कसरी उठाउलान; उनीहरुको छापामा नदेखिइकन कहाँ कपी-पेस्ट गर्न मिल्छ र यताका छापामा। यसले उदासीनता त पक्कै देखाउँछ हामीमा, यो क्षेत्रबारे। कृषि नेपालको मेरूदण्ड भनेर खोक्ने तर कृषिलाई नबुझाउने र नबुझ्नेहरु भएसम्म यस्तै हो।

यहाँसम्म कि, नेपालमा वैज्ञानिक सोल्टीहरुले पनि यो कुरा उठाउन आवश्यक देखेनन्।  यसो सबैले बुझ्नेगरी १-२ आर्टिकल लेख्नु बेलाबेलामा। छपाउन खोज्नु पत्रिका वा रेडियोमा। अनि पो मान्छेले बुझ्छन के हुन्छ कृषिमा, नयाँ के भैरहेछ यो क्षेत्रमा, र यी उतारचढावले हाम्रो जीवन छोटो र लामो समयमा कसरी प्रभावित पार्छ भनेर। तर धेरैमा लेख्ने र बुझाउने कला छैन। जोसँग छ, ती काममा व्यस्त हुन्छन होला। अनि मानौँ केहीले लेखे वा बोल्नै खोजे अरे… तर स्थान दिने कसले? विचराहरुको आवाज मिडियासम्म कसले पुर्‍याइदिने। कसलाई फुर्सद छ र केपीओली कनिबक्सेको, प्रचण्ड ठसठसिँदै उफ्रिबक्सेको, बाबुराम नेप्रिबक्सेको, शुकोले केही नलछारिबक्सेको बाहेक अन्य देखाउन? ए, देखाउँछन क्यार। कोको सेलिब्रिटीले बुट र चप्पल किन लाइबक्सेको, कुनकुन धनाढ्यले आफ्नो डगी र पुसीको नाम के राखिबक्सिया छ, शपिङमलमा सबैभन्दा लेटेस्ट कुन लिपिस्टिक र चिपिस्टिक आइबक्सेको छ। अनलाइन मिडियाका कुरा त भो गर्दै नगरौँ।

मुश्किलले हप्ताको २ घण्टा कृषि कार्यक्रम बज्लान हाम्रा रेडियो र टिभीमा, त्यो पनि प्याज कसरी रोप्ने र ट्याक्टरले धान रोप्न गह्रा सम्याएको बाहेक अरु देखाउन नसक्ने लाचारीपन छ। मैले बारम्बार भन्दै आएको छु, अरु केही गर्न नसके पनि रामपुरका प्रोफेसर र नार्कका वैज्ञानिक तथा प्राविधिक कर्माचारीहरुलाई आफुखुशी कृषि कार्यक्रम चलाउन दिने हो भने वैज्ञानिक विचार समेटिएका स्तरीय कार्यक्रम बन्थे होलान। तर हैन, ठिस रेडियोजक्कीलाई ‘अनि in my opinion खासमा के भयो भन्नुहोला त my dear *frens* भन्दा नि this is a really beautiful number के, मेरो असाध्यै मनपर्ने गानामा पर्छ and सुन्नुस न ल तपाईँ पनि once more in our झ्यास program’ भनी भुक्न दिइन्छ १८ घण्टा, सातै दिन। श्रोता पनि यस्तै खोज्ने हो कि है? वा जे हुँदा पनि नबोल्ने लाटा नेपाली हौँ हामी?

मिडियालाई देखिसहेन यो झारपातले भन्दाहुन धेरैले। त्यसैले एकलट गैससंलाई गाली गर्छु। सबै त हैन, तर धेरै गैससंहरु ३ पाइले कार्यनिर्देशिकामा चल्दछन: १) विदेशीको पैसो भीख माग्ने, २) कोठे रिपोर्ट हाल्ने, र ३) २ हप्तामा २ वर्षे रिपोर्ट सकिएपछि पाइला नं १) मा फर्केर जाने, तर केही ककटेल पार्टीपछि। फेरि पनि भन्छु, सबैले गर्दैनन्, तर अधिकांशले गर्ने यै हो, धेरैलाई थाहा छ। कम्प्यूटर र इन्टरनेट जोडेका हुन्छन अफिसमा, तर सामाजिक सञ्जाल र झ्यासपाटीदेखि छेरपाटीभन्दा कटेर अरु साइट नखुल्लान। लौ भनौँ नै त भने, मुठ्ठीभर मात्र संस्था छन कृषिमा – फेसबुक, तुइटरमा फलो गर्नु; वा न्यूजलेटरको लागि इमेल सब्स्क्राइब गर्नु; वा महिनाको १ पटक मात्रै भए पनि ती संस्थाको साइटमा गएर नयाँ खबर पढ्नु। अहँ। कसैलाई चासो छैन। गफ चैँ यसरी जोत्छन कि किसानको कोदाली यी आफैँले धार लगाएर खेत खनेर बीऊ छरीवरी मात्र त्यो हातको ह्विस्की समातेका हुन। गैससंलाई त्यति धेरै दोष दिन यसकारण मिल्दैन कि यी नाफाका हेतु खोलिएका हुन्छन। पसलेले खसीको माल देखाएर बाख्रीको मासु बेच्यो भनेको सुन्दा हामी के भन्छौँ? ‘दोबाटेको कामै त्यै हो।‘ हो, गैससं नि त्यस्तै दोबाटे हुन। खास दायित्व जसले निर्वाह गर्छु भनेर आम मानिसमाझ कबुलेको हुन्छ, उसैले निर्वाह गर्नुपर्छ => राज्यका चार अंगहरु।

फर्केर उक्त प्याटेन्टको कुरा गर्दा, MAS भनेको marker assisted selection हो। हरेक जीवित प्राणीको कोषमा DNA हुन्छ भनेर भनिरहन नपर्ला। निकै नै साधारण तवरमा भन्नुपर्दा, MAS विधिले कोषमा DNA कसरी रहेका छन (कुन जीन, जीनका कति प्रकार, आदि) र यसले उक्त प्राणीमा कसरी असर पुर्‍याउन सक्दछ (होचो, अग्लो, कालो कपाल, नीला आँखा, पहेँला पात,  लटरम्म फल, कुन रोग लाग्छ/लाग्दैन, आदि) भनेर जाँच्न मद्दत गर्दछ।

अझै साधारण पार्न यो उदाहरण दिन चाहन्छु: धुलिखेलबाट नेपालथोक पुग्ने बाटोलाई DNA मानौँ। बाटामा देखिने दूरी, स्थान, बाटोको मोड, सुझाव गरिएको गति, आदि सूचकहरुलाई markers मानौँ। यो अर्थमा, जसरी बाटोका यी सूचकहरुले मोटर हाँक्नेलाई विविध जानकारी दिन्छन, त्यसैगरी markers ले कुनै प्राणीबारे लगभग उसैगरी एउटा वैज्ञानिकलाई जानकारी दिन्छन। बसमा रहेका यात्रुहरुलाई भोक लागेपछि ड्राइभरले सूचक हेरेर भन्छ – अब ८ कि.मि.मा होटल भएको ठाउँ पुगिन्छ। त्यसरी नै, किसानहरुले रोग नलाग्ने नाफल (यो नयाँ शब्द मैले नि भर्खर सिकेको, अंग्रेजीमा rye [Secale cereale]) चाहियो भनेपछि एउटा ब्रिडरले markers को सहयोगमा रोग नलाग्ने नश्लको विकास गर्छ, र केही वर्षमा उपलब्ध गराउँछ। सुन्दा, पढ्दा जति सामान्य तुलना गरिएको छ यहाँ, खासमा कुरा उति नै साधारण छ। विज्ञान भनेको सेतो कोट लगाएर ल्याबमा खटिने मात्र काम हुन्न। यो बुझाउन नसक्नुमा मजस्ता वैज्ञानिकहरुको पनि गल्ती छ… हामीलाई काम गर्न आउँछ, तर गरिरहेको काम बाहिरकालाई सरलीकृत रूपमा बुझाउन आउँदैन। त्यसैले दूरी बढ्छ किसान र उपभोक्ताबाट। बीचमा बसेकाहरुले उल्टो बुझाएर झन बर्बाद पारिदिन्छन।

अनि selection भनेको छान्ने काम। खुमलटारको वैज्ञानिकले डोल्पाको लागि जौको नयाँ नश्ल खुमलटारमै बसेर विकास गर्न सक्दैन। ऊ डोल्पा (वा उस्तै वातावरण भएको ठाउँ) पुग्छ, र त्यहाँ राम्रो गरेका जौका बोटहरु छानेर अर्को सिजनमा फेरि परीक्षण गर्दछ। नराम्रोबाट राम्रो छानेर आगौँ रोप्ने काम किसानहरुले हजारौँ सालदेखि गर्दै आएका छन, यो कुनै नयाँ प्रयोग हैन। के चैँ नयाँ हो त भन्दा, डोल्पाको चिसो खप्न सक्ने र नसक्ने जौका बोटहरु फिल्डमै गएर छान्नुभन्दा (किनभने पैसो र समय धेरै लाग्छ फिल्डमै सबै गर्ने हो भने) lab मा marker को सहयोगले छान्नु धेरै किफायती हुन्छ। यसरी markers ले कुन बोटमा कुन जीन(हरु) छ वा छैन भनेर थाहा पाउने, र छ भने उक्त बोटलाई छान्न सहयोग गर्ने भएकाले marker assisted selection भनिन्छ यो कामलाई। गाई-बाख्रा-चल्ला आदिका उच्च नश्ल विकास गर्न पनि यो प्रयोग हुन्छ, बोटविरूवामा मात्र हैन।

बकबक ज्यादा हुन्छ हेर्नुस् मैले लेख्दा। फर्केर फेरि प्याटेन्टमा।

अब त्यो दिएको लिङ्क पढ्ने चेष्टा १०० मा १ ले पनि गर्दैन, बाजी थापेरै भन्न सक्छु। त्यसैले सारांश यतै दिन्छु:

MAS विधि नौलौ विधि हैन। कृषिमा धेरै वर्षहरुदेखि प्रयोग हुँदै आएको छ। सबै ल्याब वा कम्पनीले एकै प्रकारले यो विधिको प्रयोग गर्छन भन्ने नि छैन। कहिलेकाहीँ अलिकति भिन्नता हुनसक्छ। तर कुरोको चुरो के हो भने एउटा कम्पनीले यो विधिको सहयोगबाट विशेष ब्रोकाउली उत्पादन गरेपछि प्याटेन्ट दर्ता गर्‍यो। अरु ठूला २ कम्पनीले ‘MAS भनेको साधारण बायोलोजिकल प्रोसेस हो, त्यसैले प्याटेन्ट गर्न पाइँदैन’ भने। MAS लाई बायोलोजिकल प्रोसेस भनिहाल्न त मिल्दैन हेर्नुस्, तर प्याटेन्ट गरिहाल्न मिल्ने पनि हैन यो।

फेरि उदाहरण: घर बनाउन माटो मुछ्दा कसैले कालो माटो त कसैले रातो माटो प्रयोग गर्लान; कसैले भुस मिसाउलान, कसैले गोबर + भुस मिसाउलान… आ-आफ्नो हिसाबमा बनाउलान। यसरी बनाइएका लिउन बनाउनेले प्याटेन्ट दर्ता गराउन पायो किनभने उसले आफ्नो बुद्धि र श्रम खर्चेर अरुभन्दा भिन्नै खाले लिउन तयार पार्‍यो। तर माटो मुछ्नु वा लिउन बनाउनुको प्रकृया त एकै नै हो – माटो ल्याऊ, पानी हाल, ढडाऊ, अनि मिस। यो प्रकृयामाथि नै कसैको प्याटेन्ट त लाग्नु नपर्ने। योभन्दा नि साधारण उदाहरण: कसैले १ औँलाले, कसैले २ त कसैले दशै औँलाहरुले भात मुछ्लान। मानिलिऊँ, यिनमा प्याटेन्ट हाल्न पाइयो। यदि ‘भात मुछ्नु’लाई प्याटेन्ट दिने हो भने, भरे एउटाले आएर भन्ला – मैले यसको प्याटेन्ट पाएको छु, कि त तँ मलाई रोयल्टी तिर्, हैन भने भात नमुछी निल्! अब आफैँ सोच्नुस् र बुझ्नुस्, यो MAS लाई किन प्याटेन्ट दिन हुन्न + हुन्नथ्यो भनेर।

संसारभरै त मान्यता पाएको छैन यसले। यूरोपमा मात्र हो। त्यसमाथि, हारेको कम्पनीले माथिल्लो अदालतमा मुद्दा हाल्छ, फेरि हारेमा त्योभन्दा नि माथिल्लो अदालत, आदि गर्दा गर्दै डेढ-दुई दशक यतिकै उल्ल्याइदिन्छन। बीचमा ललाईफकाई (प्रोजेक्टहरुको लागि कुस्त फण्डिङ दिएर) विश्वविद्यालय र ठूला संस्थाहरु (CGIAR कै छातामुनिका संगठनहरु) को सपोर्ट जित्छन, अनि यिनलाई मैदानमा उतार्छन। आवाज बढेपछि मुद्दा जित्ने कम्पनी अलि हच्किन्छ, अनि साविकका कूटनीतिक चाल चालिन्छन। यी मेरा देखाइ, सुनाइ, र बुझाइका आधारमा भनेको हुँ; मसँग प्रमाण चैँ छैन।

उक्त मान्यता पाउनु पनि अति हो। अंग्रेजीमा slippery slope भन्छन, जसको अर्थ हुन्छ यस्तो मुद्दा एउटाले जित्यो भने भरे दशवटाले उस्तैउस्तै मुद्दा जित्न सक्छन। यी दशका आड परेर पछि हजार उस्तैउस्तै मुद्दा जितिएलान। १० वर्षपछि जितिएका सबै मुद्दाहरुको मुचुल्का उठाएर एउटा गम्भीर मुद्दा मोन्स्यान्टो, पायोनियर, बायर, आदिले जित्दिन्छन, अनि किसानहरु हेर्‍याहेर्‍यै। कसको शरण पर्नु त्यसपछि? त्यसैले यस्ता मुद्दाहरुबारे विशेष चासो राख्न सके, सचेत भैरहे, पछि पिछवाडामा केही रोपिन्न।

पोहोर कि परार हैन, मोन्स्यान्टोको विरोधमा जुलुसवुलुस निस्केको? मिडियाले छापे, सूचना समयमै पाएर तथ्य बाहिर फ्ल्यास गर्ने हो भने मान्छे सचेत हुन्छन भन्ने बुझिन्छ नि त्यसबाट। तर हाम्रा मिडियालाई यस्तो कुरामा चासो राख्नै डर लाग्दो हो, सातबाँस लामो दूरीबाट नि छुन्नन्। जानेको मान्छेहरुलाई सोधे आफ्नो कद घट्छ भन्ने सोच त हामी नेफोलीहरुको जीनमै छ। Markers पत्ता लाएर यी जीन हटाउन सके, है?

Advertisements

One thought on “कृषिमा कम्पनीको प्याटेन्ट: किसानलाई पासो

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s