इपिक यान्ड अवोसम गोसाइँकुण्ड ट्रेक

गोसाइँकुण्ड

गोसाइँकुण्ड

झ्यासहरुले भन्लान – जाबो गोसाइँकुण्ड पुगेर आउनु कसरी इपिक हुन्च?

नहुने भए जुज्दाइले बलग लेखेर बस्थ्यो होला त वत्स? 😉

 

पृष्ठभूमि

अपर मुस्ताङ्ग र लोमान्थाङ्गको यात्रा गरेर आएको दोश्रो दिनै त होला, हाम्रो ‘धोकेबाज ग्रुप’ लाई मैले सोधेँ: को तयार छ गोसाइँकुण्ड जान?

कसैले जान्छु भने, कसैले जान्न। पक्का जानेमा म र जुलोजिस्ट बोरो अनुज भयौँ। तर २ जना मत्र अलि नपुग्ला कि भनेर गुरुपमा कुरा राखिराख्यौँ। तर कुरो फेरि उही: किटानी यति जाने भनेर कसैले भनेनन्। त्यसैले त गुरुपको नाम धोकेबाज राख्या 😉

तेस्रो मान्छेको खोजीमा मैले बोकी दिदी स्टोरीको ‘चावहिल’ फुनाएँ। मैले भन्या कुरो उसले काट्दैन भनेर भनेकै हो, तत्काल समर्थन जनायो। कति हिँड्नुपर्छ? भनेर सोध्या त थ्यो मलाई। अब म आफैँ तेता नहिँडेको मान्छे, कति हिँड्नुपर्छ भन्नु?

भनेँ – अलिअलि त परिहाल्छ नि मुल्ला। ४००० मि. चानचुनको हाइटमा नि हिँड्नपर्छ।

भन्यो – बिस्तारी हिँडुला नि।

यसरी ३ जना भयौँ। अनुजले बसको टिकट काट्यो।

 

बनेपा-धुन्चे

पौने पाँच बजे बाउले उठाए। घरा’ट बनेपा पुग्दा ६:३० भैथ्यो होला। बनेपा’ट बालाजु पुग्दा पौने आठ।

निरज सवा साततिर नै पुगिसक्या रैछ। अनुज पनि मभन्दा अलि अघि।

तर कुरो बुझ्दा ८:३० मा हिँड्ने भन्या बस ट्याममा नआउनी जस्तो कुरो बुझियो। काउन्टरको मान्छेले पहिले बसको कुन्नि के बिग्रेर बनाउन गैछ भनो। पछि तेल छैन भन्नथालो। पछि हामी अर्को गाडी खोज्दैछौँ भनो। तर ९-सवा ९ बजिसको, बस आउँदैन हेर्नुस् है।

बल्ल बल्ल पौने दशतिर बस आयो। एकैछिनमा हिँडाइहाल्यो पनि।

बसमा एकजना ५०-५५+ महिला चढेकी थिइन्, हात भाँच्एको थियो। खासै मतलब गरिएको थिइएन। जब हामी राम्चे पुग्यौँ, बसबाट कोक्किँदै रुँदै पो झर्छिन त बा! यिनलाई लिन बसको ढोकामा २-४ महिलाहरु आएका थिए; रुँदै-रुँदै एउटा घरभित्र छिरिन। अनि बल्ल मेसो पायौँ हाम्ले: ६-७ दिनअघि घटेको बस दुर्घटनामा बचेकी रहिछन यिनी।

शायद खुसीका आँशु होलान – बाँचेकोमा। र दु:खका नि होलान – आफ्ना कोही आफन्त गुमाएकोमा। तर त्यो देखेपछि लाग्यो – स्याला जीवन भन्या के हो र। एकैछिनको रमझम। एकैछिनमा चट्!

राम्चेमा बस दुर्घटना भएको ठाउँ

राम्चेमा बस दुर्घटना भएको ठाउँ

 

अनि त्यो बस खसेको ठाउँ राम्चेभन्दा पनि धुन्चेको चैँ नजिक रहेछ। अचेल लगभग टुरिस्ट स्पट जस्तो नि बनिसक्या रैछ: यताबाट जाने बस त्यो बस खसेको ठाउँभन्दा अलि वर रोक्ने। यात्रु झर्ने, र त्यो भीर हेर्ने, अनि फेरि बस चढ्ने, र बस त्यै भीरको बाटो हुँदै उतापट्टि जाने। मुटु अलि कमजोर भएकाहरु चैँ बसबाट झरेर बस खसेको भन्दा उता गएर बस्दा रछन, अनि बस उता पुगेपछि फेरि चढ्दा रछन। रमाइलो लाग्यो। 😉

धुन्चे पुग्दा सम्म ३ ठाउँमा चेकिङ्ग भयो क्यारे आर्मी र पुलिसको। झोलै खानतोलासी गरेर हेर्दा संकटकालमा बसबाट ओरालेर झोला जाँचेको याद आयो। 🙂

बेलुका ५:३० तिर धुन्चे पुगियो क्यार।

 

धुन्चे – गोसाइँकुण्ड

अब हेर्नुस्, इपिकनेसको डेफिनिशन याँबट शुरु हुन्च। मतलब, एकैदिनमा धुन्चेबाट गोसाइँकुण्ड पुग्नु चानचुने कुरो हैन। र यो हाम्ले भनेका हैनौँ है, कैयन् लोकलहरुले खुद भनेका हुन हाम्रो हिँडाइको प्रशंसामा। 😀

बिहान ६:१५ जस्तोमा हामी हिँडेम धुन्चेबाट। एकछिन तेर्सो हिँडेपछि ठाडो उकालो शुरु भो। उचाइ: १९५० मिटर

धुन्चेबाट बिहान देखिएको हिमाल

धुन्चेबाट बिहान देखिएको हिमाल

 

बाटोभरि हिमाल हेर्दै, चराका आवाज सुन्दै, अनुजलाई त्यो के चरा, त्यो कुन चरा भनेर सोद्दै, कसरी सामन्ती बाउन हुँदाहुँदै पनि अनुजले हालसम्म पिलेन नचढेको तर शोषित मधेशी र जनजातिले जुस पिएको र पिलेन चढेको बारे कुरा गर्दै, ‘हाम्रो देश’ कसरी जाने र गएपछि के के गर्ने भनेर छलफल गर्दै उकालो लागियो। बाटोमा लङ्गुर पनि देखियो… मैले नेपाली वनमा लङ्गुर देखेको पहिलोचोटि थियो। काटीकुटी हाम्रा नेताजस्तै हुँदो रहेछ। 😉

डेढ घण्टापछि देउराली भन्ने ठाउँमा पुगियो। चिया-बिस्कुट खाएर उकालो लागियो। उचाइ: २६२५ मिटर

निरज, देउरालीमा

निरज, देउरालीमा

 

अर्को डेढ घण्टापछि धिम्सा भन्ने ठाउँमा पुगियो। आर्मीको क्याम्प थियो रे यहाँ, तर भुइँचालोपछि माथि सिङ्गोम्पा (चन्दनबारी) मा सारेछन। भुइँचालोले चिराचिरा पारेको हेलिप्याड नि देखियो। उचाइ: ३००७ मिटर

करिब ११:४० तिर हुनुपर्छ हामी सिङ्गोम्पा (चन्दनबारी) पुगेको। यो ठाउँमै हो नेपाल सरकारको चिज फ्याक्ट्री भएको। एउटो होटलमा भात बजाएम। होटलकै दिदीलाई छुर्पी छ भनेर सोधेको, उहाँले बेच्न त छैन भन्नुभो। तर एक पसरजति दिनुभो है सित्तैमा! 🙂 यिनै दिदीलाई भनेर गोसाइँकुण्डको होटलमा बस्न र खानको व्यवस्था गर्न नि भनियो।

दिदीलाई सोधेम पनि – पुगिन्छ नि आज कुण्डसम्मै? बिस्तारै हिँडे पनि ६ बजेसम्म पुगिन्छ भन्नुभो।

हामी मख्ख परेम! अनि चिज किनेम र खाँदै फेरि उकालो लागेम। उचाइ: ३३०० मिटर

चन्दनबारीदेखि चोलाङपाटीसम्म पुग्दा एउटा वन कट्नुपर्थ्यो। पुराना धुपी सल्लाका रूखहरुले भरिएको वन रहेछ। हल्का पातलो वन तर लेउ लागेका रूखहरु अनि कुहिरोले छोपेको अवस्था! मलाई चैँ व्यापक मन पर्‍यो यो वन।

चोलाङपाटी पुग्यौँ। त्यहाँको एउटा होटलको मान्छे के भन्छ – तपाईँहरु पुग्नुहुन्न कुण्डसम्म त। यतै बस्नुस्!

डेटमा गएको केटीलाई मीठा-मीठा कुरा गरेर फकाउन छोडेर सिधै समागमको कुरा गरेजसरी झ्याम्मै प्वाइन्टमा आयो हेर्नुस् है सोल्टी हाहहा। इस् पनि नबस्नी भनेर हामी लौरीविनाको उकालो उक्लिन लागेम। उचाइ: ३५८४ मिटर

उकालो तेति डेन्जर त छैन, तर लामै छ।

यो उकालो कटाउन बीचबीचमा मनोरम दृश्यहरु छन। हिमाल देखिन्छन २ तिर। चराहरुको चिरबिर, गुराँसका रुखहर। बीचमा कतै बुद्ध पनि छन, मनमा शान्ति मिल्छ बुद्धको ठाउँ आइयो भनेर थाहा पाउँदा।

अनुज, कसैका बारेमा सोच्दै। (माकुरा कता छन याँ भनेर सोच्दै हुनुपर्छ।)

अनुज, कसैका बारेमा सोच्दै। (माकुरा कता छन याँ भनेर सोच्दै हुनुपर्छ।)

 

तर मन तत्काल अशान्त हुन्च, जब बुद्धलाई खुलेआम उच्छृङ्खल गतिविधिमा संलग्न अवस्थामा रेड ह्यान्ड पक्राउ गरिन्छ (फोटोसहित)! हाहा 😀

बुद्ध नटी भएको पहिलो पटक देखेको थिएँ, अनौठो लाग्यो।

नटी बुद्ध :D

नटी बुद्ध 😀

 

लौरिविनाको होटल पुग्दासम्म त ज्यानमा खानेकुराको चरम अभाव भैसक्या थ्यो। आफैँले ल्याएको च्याउच्याउ र अण्डा अनि चिया-बिस्कुट दबेटेपछि बल्ल ज्यानमा राहतको महशूस भयो।

अनि फेरि ठाडो लागेम, उकालोको दोश्रो खण्ड पूरा गर्न। उचाइ: ३९०१ मिटर

याँनिर कथाले हल्का सिरियस टर्न लिन्छ। निरज हिँड्न त हिँडिरहेकै थियो। तर उकालोको यो दोश्रो खण्डमा भने अलि सेलायो। लौरिविना उकालोको टुप्पोमा एउटा गुम्बा (अहिले भत्केको, भुइँचालोले नै होला) छ, जुन शायद गोसाइँकुण्डकै उचाइको हाराहारीमा होला (लगभग ४४०० मिटर)। यो गुम्बासम्म आइपुग्न निरजले निकै टाइम लायो। माथि पुगेपछि ‘लेक लाग्यो कि मलाई’ भन्छ। के भयो भनेर सोद्दा रिँगटा लागेजस्तो छ, टाउको गह्रौँ छ भन्यो। लेक लाग्याविरुद्धको औषधि मसँग थिएन, अनुजसँग नि रहेनछ। के गर्नी त भन्दा तल जानुभन्दा बिस्तार कुण्डतिरै लागौँ भनियो। बाटो पनि याँबाट लगभग तेर्सै-तेर्सै तर अलिअलि उकालो भएको थियो। करीब ५:४५ तिर गुम्बामा पुगेका हामीलाई कुण्ड पुग्न २ घण्टा लाग्यो! जबकि बाटो २०-२५ मिनेटभन्दा धेरैको थिएन। केहीचोटि त डर नि लाग्यो – निरज यैँ ढल्दियो भने के गर्नी यस्तो अँध्याराँ!?! धन्न यो आपत आइपरेन। अडिँदै, सुस्तरी हिँड्दै भए पनि साँझ पौने आठतिर हो क्यारे हामी कुण्डछेउको होटलमा पुग्यौँ। उचाइ: ४३८० मिटर

लौरिविनाको उकालोबाट देखिएको सूर्यास्त

लौरिविनाको उकालोबाट देखिएको सूर्यास्त

 

लगभग २.५ किलोमिटर ठाडो चढेछौँ हामीले। १२ घण्टा जति लगाएर (बसेको, ब्रेक लिएको घटाएर)। चानचुने कुरा हो यो?

यसको उत्तर स्थानीयकै मुखबाट (गोसाइँकुण्ड होटलकी दिदी): हामीलाई नि तेस्तै ११-१२ घण्टा लाग्छ। तर हामी हतपत हिँड्दैनौँ यसरी। बाटोमा आफन्तकोमा बस्दै २-३ दिन लगाएर आउँछौँ। एकैदिनमा भ्याउनु भनेको भाइहरु बबाल हिँड्या हो।

बबाल शब्द प्रयोग गरिनन्, तर कुरो बुझियो नि? (विशेषगरी ईश दाइलाई हो यो प्रश्न :P)

 

गोसाइँकुण्डमा चोबलिँदा

पानी यति चिसो थियो कि कुरै छोड्नुस्। हिजो राति चर्पी जाँदा ड्रमको पानी जमेको खुद मेरा र अनुजका आँखाले देख्या थिइम। यस्तो वातावरणमा कसरी न्वाउन सकिन्छ भनेर मनमा नआएको पनि हैन।

तर मैले भनेकै छु, एक्सपिरियाँस बटुल्न जुज्दाइ कैले नि पछि हट्दैन। एकचोटि मात्रै भए नि चोपलिन त पर्छ है पर्छ भन्ने सोचेँ।

पोखरीछेउ पुगियो। क्यामरा अनुजलाई दिएर लुगा खोलेँ। रौँ ठाडा भए हेर्नुस्। रौँ अडिने छालाको भाग नि ठाडो भो हाहाहहा। मुक्तिनाथभन्दा कति हो कति चिसो रछ नि यो ठाउँ त। हावा उत्तिकै चिसो। ढुङ्गा उत्तिकै चिसा। हिउँ पग्लेर आएको पानी जम्मा भएको कुण्डको त कुरा गर्नै परेन।

कुण्डमा बिस्तार छिरेँ, एक डुबुल्की लाएँ, अनि बाहिर निस्केँ।

कुण्डमा जुज्दाइ ;)

कुण्डमा जुज्दाइ 😉

 

स्याला, चिसो भएजस्तै लागेन। ल भएन, ३ डुबुल्की त लाउनै पर्‍यो भने फेरि छिरेँ।

फेरि गएर ठूलो गल्ती गरिएछ नि। 😀

दोस्रो खेप डुबुल्की मार्दा नि खासै केही भएको थिइन, तर तेस्रोमा टाउको ख्याप्पै खायो चिसोले। कान त झरो भन्ठानेको।

हत्तपत्त तर्सिँदै बाहिर निस्केँ, गोडाले टेकेको ठाम थाहा नपाउने भएछ! केटाहरुलाई त बहुत मजा आयो भनिहालियो, तर आफ्नो अवस्था आफैँलाई थाहा थ्यो। कसम, औँलाका नङ् नीऽऽऽऽला भैसक्या थे। गोडा त अब गयो कि के मास्साला भन्ठान्या थेँ।

सकेसम्म चाँडो लुगा फेरियो। गोडामा जुत्ता र मोजा लाइसकेपछि राहत भएजस्तो भो तर नि केही थाहा थेन गोडालाई।

जब बिस्तार हिँडन थालियो, अनि चैँ sense फर्किए गोडामा। होटलमा पुगेर ज्यान तताएपछि बल्ल बाँचियो भन्याजस्तो भो।

धर्मकर्म भन्या बालै हो, तर जे होस्, शिवको कुण्डाँ हामफाल्दा खतरै अनुभव भो। 😉

 

गोसाइँकुण्ड – ठाडेपाटी

त्यस्तो डेन्जर हिँडेपछि हाम्रो उद्देश्य अब एक मात्र बाँकी थियो: यो ट्रेकलाई नै इपिक बनाउने।

इपिक बनाउन के गर्नुपर्छ त भनेर सोच्दा चौँथो दिनमा काठमाडौँ पुगेर झ्यासहरुलाई देखाउनुपर्छ भन्ने भो।

न्वाएर, चिया खाइर सूर्यकुण्डतर्फ लम्कियौँ। करीब १ घण्टापछि सूर्यकुण्डछेउको लौरिविना पास पुगियो। मेरो GPS ले यहाँको उचाइ ४६८० मिटर देखाएको थियो, तर ४७००-४८०० सम्मका कुरा हुँदा रहेछन, मान्छेअनुसार।

सूर्यकुण्डतिर जाँदै गर्दा बाटोमा रहेको हिउँ

सूर्यकुण्डतिर जाँदै गर्दा बाटोमा रहेको हिउँ

 

लौरिविनाको पासबाट ओरालो झर्न थालियो। साइको रैछ यो ओरालो। यताबाट उकालो चढेर गोसाइँकुण्ड जान खोज्ने मान्छे साँच्चै मगज खुस्केका हुन भन्ने विचार सर्वसम्मतिले पारित भो। लगभग साँढे दुई घण्टा ठाडो ओरालो झरेपछि फेदी भन्ने ठाउँमा पुगियो। चिया-बिस्कुट खाएर फेरि ओरालो! उचाइ: ३७३० मिटर

गोसाइँकुण्डको होटलमा एउटा भोटे कुकुर थियो। नाम चैँ ‘रमेश’ हाहहहा। होटलकी दिदी आफैँ हाँस्तै थिइन हाम्ले कुकुरको नाम सोद्धा। यो कुकुरलाई फेदीमा भेट्टाइयो। अर्को ग्रुपको पछि लागेर आएको रहेछ। हामी घोप्टेसम्म पुग्दा नि रमेशले कहिले हाम्लाई त कहिले अर्को ग्रुपलाई साथ दिइरह्यो। यदी केही गरी हामीले हिँड्न ढिला गर्‍यौँ भने अलि पर पुगेर कुरेर नि बस्थ्यो रमेश। तर घोप्टेबाट हामी उता लागेपछि भने हामीसँग आएन। उचाइ: ३४०० मिटर

घोप्टेबाट अलि पर पुगेपछि एउटा खत्रा पहिरो गएको ठाउँ आयो। बाटै नदेखिने गरी। आर्मीको obstacle course भन्दा कम थिएन त्यो पहिरो पार गर्नु! अनि पहिरो कटेपछि नि झण्डै बाटो झुक्केको हामी ठाडेपाटी जाने कता हो भनेर! बाटो भेटियो, र हामी ठाडोपाटी पुगेम करीब ५:३० तिर। उचाइ: ३६३० मिटर

 

झण्डै वनको बास!

ठाडेपाटीको होटलका दाइ (होटल मालिक) ले ओछ्यान मिलाउँदै रहेछन हामी सुत्न भनेर। एउटा सानो घरजस्तोमा हामी ३ र तलको बाटो हुँदै गोसाइँकुण्ड जान लागेका ४ जना अरु नेपाली केटाहरुलाई राख्ने सहमति भएको थियो शुरुमा। पछि ती दाइ भन्छन – “तपाईँ सरहरु (सातैजना!) यहाँ भुइँमा सुत्ने, त्यो दुईटा खाटमा खैरेको गाइड सुत्छ।“

अझ थप्छन – दुईजनाले एउटा सिरक बाँड्नुपर्छ।

मलाई झोँक चल्यो। शान्त भएर नरम लवजमै भनेँ: खैरेहरुलाई नि यस्तै हो दाइ? हामीलाई चैँ यस्तो भेदभाव किन?

कसम, यी २ वाक्यभन्दा बढी बोलेको थिइनँ। ती दाइ त बिच्किहाले यार! भन्छन – तपाईँहरु झन कुरा बुझ्छ भन्ठानेको, शहरको पढेको भन्ठानेको, यस्तो जे पायो त्यै भन्छ। मेरो मुटु दुखायो भाइ तपाईँको कुराले। साह्रो हेप्नुभयो सर।

आदि इत्यादि। हल्का टुच्च लगाका रैछन यी दाइले भनेर बुझिहालियो।

आफ्नो ढाकछोपमा – हैन दाइ, त्यसो हैन…. मात्रै के भनेको थिएँ, रौसीले टालेको कानले खै के सुनेछ, ठाडो धम्की आयो:

“भाइ, म मालिक हो यो होटेलको। मलाई यहाँ काम गर्ने भन्ठान्छ कि के तपैँ? निकाल्दिन्छु म आइले सबलाई बाइर!”

सात्तो गयो हेर्नुस् अनि चैँ। मैले एक शब्द नि बोलिनँ अब बोल्न ठीक छैन भनेर। अनुज र निरजले सम्झाउन खोज्दै थिए, तर ती दाइ आफ्नै हिसाबमा बोल्दै गए। यी बोल्ने मात्र रछन, यिनले निकाल्दैनन् भन्ने लाग्यो अनि।

सिचुएसन अलि मत्थर भएपछि मैले सोधेँ – दाइ, याकको छुर्पी बेच्नुहुन्छ? किन्नपरो टन्नै।

दाइ: हेर भाइ, ढाँट्न हुन्न। याकको त हामी बनाउँदैन, चौरी गाईको चैँ बनाउँछ।

अनुज र मैले एक-अर्कालाई हेरेर मनमनै हाँस्दै थियौँ, तर यसको रिप्लाई केही दिइएन… दिने आँट आएन भनौँ न। 😀

भएछ के त भन्दा ती दाइ ठाडेपाटीभन्दा तल कता गएका रहेछन। जब त्यो रात होटलमा पाहुना धेरै भए, दाइकी श्रीमतीले एक्लै भ्याउन सक्दिनँ भनेर दाइलाई फोन गरेर बोलाइछन माथि। शायद त्यसैको रिस हल्का हामीमा पोखियो भन्ठानेम।

तर त्यत्रो बोल्दा नि ती दाइले मुख छोडेनन् है। असलै रछन मान्छे। पछि ल्यार सिरक थपिदिए, सबैलाई १-१ को दरमा। अनि गाइडहरु नि ल्याएनन् त्यो घरमा। बरु यिनकै ४-५ वर्षको छोरोले ‘म्याचिस्.. ढोका खोल्’ कि के भन्या थियो सिरक ओसार-पसारको क्रममा। हाहहहा।

झण्डै वनको बासबाट जनही १-१ सिरक पाएर मस्त सुतियो त्यो रात।

भोलिपल्ट तिनै दाइले छुर्पी र दुर्खाको भेद बुझाए: छुर्पी महीबाट बनेको अलि अमिलो हुन्छ भने दुर्खा दूधबाट बनेको अलि गुलियो हुन्छ।

 

ठाडेपाटी – बनेपा/काठमाडौँ

ठाडेपाटीबाट मागिनगोठ पुगियो। उचाइ: ३२८५ मिटर

मागिनगोठमा एकजना दाइलाई हामी एकै दिनमा धुन्चे-गोसाइँकुण्ड र अर्को दिनमा गोसाइँकुण्ड-ठाडेपाटी पुगेको भनेको त के भन्छन – “भाइहरु मान्छे हो कि घोडा” रे! 😀

मागिनगोठबाट कुटुमसाङ्ग। उचाइ: २४७० मिटर

कुटुमसाङ्गमा खाजा खाँदै गर्दा त्यहाँका होटलवाला दाइले भने: भाइहरु चनौटी/चनौटे झरेर जानु न, काठमाडौँ आजै पुग्नुहुन्छ।

खासमा चिसापानी बस्न हामी तीनै जनालाई मन थिएन। काठमाडौँका पैसा भएका तर बुद्धि नभएकाहरुले पिरतीको रेनकोट ओढाउने ठाउँ हो चिसापानी। व्यापक महँगो तर क्वालिटी बसाइ नहुने भएकाले या चिप्लिङ्ग बस्ने या त सुन्दरीजलै पुगेर मेरो मामाघरमा बस्ने कुरा पहिल्यै गरेका थियौँ हामीले। दाइको आजै काठमाडौँ पुग्न सकिने कुरा सुनेपछि हामीले त्यतै लाग्नपर्छ भनेर निधो गरेम।

राजधानी जाने अन्तिम बस यस्तै २:३०-३ बजे आउने, र हामीलाई चनौटी पुग्न लगभग ३ घण्टा लाग्ने देखियो। ११:३० जति मा हामी कुटुमसाङ्गबाट फेरि वनैवन ओरालो झर्‍यौँ।

त्यस्तो मस्त हिँडिया थियो विगत २.५ दिन। जब यो ओरालो झर्न थालियो, बल्ल ज्यानले बोल्न थाल्यो। घुडाँछेउको मसल दुख्दै थियो मेरो, अनुजको नि त्यस्तै केही। औषधि दलेर, दुखाइ खपेर भए नि हामी चनौटी टाइममै पुग्यौँ। एकैछिन बसेपछि गाडी आयो।

अनि चनौटी-मेलम्ची-सिपाघाट-कुन्ताबेसी-पाँचखाल हुँदै बनेपा आइयो। म त्याँ झरेँ। केटाहरु त्यै बसाँ राजधानी गए। बेल्का पुगेछन, भाइबराँ खबर गर्‍या थे।

 

यसरी ३ दिनमा गोसाइँकुण्डको इपिक यान्ड अवोसम ट्रेक हानियो। त्यो इलाका नगएकोले बुझ्न अलि गाह्रै हुन्छ, कि अझ इपिक भन्दैछ यो झ्यासले भनेर। त्यहाँ गएकोले बुझ्छ र appreciate गर्छ, हाम्रो ड्याञ्जर हिँडाइ!

र ४ दिनमा धेरै कुरा गरियो हामी-हामीबीच। सबै भनेर त यहाँ साध्य नै छैन, त्यो रमाइलोबारे। तर ‘चेतुरल’ भन्ने नयाँ थेगो निरजले पायो; मलाई पछि फोन गर्दा नि ‘चेतुरल बोरोको के छ, मैले सोध्या छ भन्दैऊ है’ भनेर भन्थ्यो। हाहा 😀

अनि भन्नैपर्ने हुन्छ: निरजले पहिले दिन तर्सायो। तर सोल्टी हिँडेको हो। मान्नुपर्छ यार। मोटाएर घ्वाँक भए नि हामीभन्दा १-२ मिनेटभन्दा पछि परेको थिएन ऊ। हामी उसलाई कुरेर बस्थेम, र हाम्रो थकान मेटिइसकेको हुन्थ्यो। तर त्यो बेलाँ नि ल हिँडौ-हिँडौ भनेर धेरैपल्ट बस्दै नबसी बिस्तारै हिँड्यो ऊ। लास्ट हिँड्या हो यार सोल्टीले।

खर्च: लगभग ३८०० खर्च भयो, प्रति व्यक्ति। यदी धुन्चेबाटै जाने र त्यतैबाट फर्कने हो भने ३००० पनि नलाग्ला।

Advertisements

One thought on “इपिक यान्ड अवोसम गोसाइँकुण्ड ट्रेक

  1. हजुरको लेखाईको त फ्यान नै भैयो, आजै जुल्दाईको नयाँ लेख कैलेआउँछ होला भनेर सोच्या के थियो दाइले टप्लक्कै पोस्ट गरिदिनुभो….
    नाम लिया ………………haajir :-d

    Like

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s