the color green

हरियोमा हराउने हामी – the color green

(यो लेखमा प्रस्तुत सबै तर्कका वैज्ञानिक आधार नहुन सक्ने अग्रिम जानकारी गराउँदछु।)

 

‌========================

हामी पढ्ने विश्वविद्यालयबाट यस्तै ३ घण्टा पर रहेका २ वटा राष्ट्रिय निकुञ्जहरु २ दिनमा भ्याउने योजनाअनुसार साथी रब र म घुम्न निस्कियौँ; २०१० को June हो क्यार।

म ब्यानै उसको घर पुगेँ। चाहिने सरसामान हिजै किनेर रबेकै घराँ राख्या थेम। त्यो मोटरमा खाँदेर बाटो तताइहालेम। पहिलो दिन एउटा निकुञ्जका २-४ डाँडा चढी भ्याएपछि लगभग १ घण्टा परको राष्ट्रिय वनमा (national forest) बास बस्न पुग्यौँ। कारण चाहिँ निकुञ्जमा बस्न पैसो तिर्न पर्नी भएकाले बरु अलि पर तर सित्तैमा बसौँ भन्ने सल्लाह भएथ्यो हामीबीच। नेशनल फरेष्टमा क्याम्पिङ गरेको पैसो लाग्दैन, अपवाद छोडेर।

दोश्रो दिन उठेम, हिजो मासु पोल्न बालेको आगोलाई बालुवाले निभाइवरी दोश्रो निकुञ्जतिर हान्नियौँ। चिप्रा नि नखोस्री हान्निनुको कारण चैँ त्याँ पुग्नेबित्तिकै हक्स दिनु पनि थियो हाहा। ४०-४५ मिनेटमा त्यहाँ पुगेम, नित्यकर्म सिद्ध्याएम, र निकुञ्ज घुमेम। राता चट्टानहरुको घर यो निकुञ्ज मार्स ग्रहको कुनै भाग जस्तो देखिन्थ्यो।

अब फर्किँदाखेरीको कुरो, जसले यो लेख लेख्न घोचिराख्या थियो। फर्कँदै गर्दा खोलाको तीरैतीर पहाडहरुको काखैमा बनेको बाटोमा हुइकिँदै थियौँ। जुन (असार-साउन) महिना भएकोले पानी परि नै रहन्थ्यो। बाटोछेऊ जताततै घाँस उम्रेका थिए। रूखहरुले लोभलाग्दो गरी वैँश देखाइरहेका थिए। हामी छेवै र परका पनि पहाडहरुमा जंगली घाँसहरु प्रशस्तै देखिन्थे।

यत्तिकैमा रबले भन्यो: man, after two days of seeing the desert, feels good to see green again. दुई दिन फुस्रा निकुञ्जहरु हेरेर आँखा टट्टिएछन क्यारे सोल्टीका।

उसको कुरा दिमागमा बस्यो: के मानवजाति हरियो रङ्ग हेर्न रुचाउँदछ? या, हरियो रङ्ग हेर्न पाउँदा दिमागमा शान्ति पाउँदछ मानिसले?

========================

मान्छेले बुझेको हरियो रङ्ग

ईतिहासले भन्दछ कि विश्वमा मानव सभ्यताका उद्गम विन्दुहरु धेरै थिए, छन। अनौठो लाग्ला, हरेक सभ्यताको विकास हरियो रङ्गले निर्धारण गर्दै आएको छ। कुनै सभ्यताले स्थायी बसोबासका लागि स्थान निर्धारण गरेको छ भने त्यस ठाउँमा र ठाउँ वरिपरि रहेका हरिया जंगल, हरिया फाँट, र हरिया किनारहरु देखेर नै हो। हुन त पानीको कारण हो, तर पानीको प्रमुख द्योतक हरियो रङ्ग नै हो। पानीको श्रोत उपलब्ध हुनुको अर्थ यो हो कि वरपर बोटविरूवाहरु मौलाउँछन। बोटविरुवा मौलाएपछि जङ्गली फलफूल पाइने सम्भाव्यता त बढ्यो नै; साथसाथै कृषि (खेतबाली र पशु) पनि राम्रो हुने भए। बसाइ सर्ने क्रममा जब मानिसहरुको लर्कोले टाढैबाट हरियो रङ्ग देख्यो, अनि अनगिन्ती मनहरु प्रफुल्ल भए होलान् – यो ठाउँ हामी बस्न लायक भए अब थप दु:ख झेलेर हिँड्नु पर्दैनथ्यो भनेर। नजिकै पुगेपछि जब हरियो रङ्गको उद्गमश्रोत – पानी – देखे, तब बस्ती बसाले, र बसे। दक्षिणमा नाइल, पूर्वमा सिन्धु, आदि नदीहरुकै शरणमा परेर ठूला सभ्यताहरु सम्भव भए। त्यसैले नदीको छेऊ वा तालको छेऊमा नबसेका बस्तीहरु मुश्किलले विकास गरे होलान्। उजाड ठाउँमा, मरूभूमिमा बस्ने केही झुण्डहरु नि नभएका हैनन् तर केही अपवाद त जेमा पनि भै नै हाल्छन। तर संक्षेपमा भन्दा – पानी = हरियो, र हरियो = पानीको अर्थ लाग्ने भएकाले हरियो रङ्गलाई पानीसँग जोडेर उक्त रङ्ग खोज्दै हिँडेको इतिहास छ मानवजातिको। र अर्को कोणबाट यही कुरालाई हेर्दा: जहाँ मान्छेले पानी भेट्यो, तब त्यस ठाउँमा खानेकुरा र कच्चा पदार्थ (कृषि, वन, आदि) हुर्काउन सकिने हुनाले त्यहीँ बसेको छ।

तर हरियो रङ्ग नै किन रुचायो त मानिसको आँखाले?? आकाशको नीलो रङ्ग हुन सक्दैनथ्यो? वा मरुभूमिको फुस्रो रङ्ग?

यसको उत्तर मसँग छैन। रातो, नीलो, र हरियो रङ्गहरु आधारभूत रङ्गहरु (primary colors)  हुन भनेर स्थापित भइसके तापनि मानिसको आँखा र हरियो रङ्गबारेको सम्बन्ध विज्ञानले पनि खासै अन्वेषण गरेको पाइनँ मैले। शायद रङ्ग छुट्याउने rods र cones को विकासक्रम मान्छेहरुमा अरु भन्दा भिन्नै किसिमले पो भएको छ कि? डाक्टर ब्रोहरुलाई थप थाहा हुनसक्छ योबारे। नीलो रङ्ग चाहिँ मान्छेहरुले भर्खर मात्र देख्न थालेका हुन भन्नेबारे यो एउटा रोचक रिपोर्ट पढ्दा हुन्छ। र यो पनि। वैज्ञानिक शोधका केही पेपरहरु पनि निस्केका रहेछन योबारे तर मलाई सबै पढ्न झ्याउ लाग्यो… लेख हरियो रङ्गमा केन्द्रित भएकाले नीलो पढ्न दिक्क लाग्या हो।

तर के हामीलाई हरियो रङ्ग हेर्न सबैभन्दा सजिलो हुनसक्छ? यसको पनि उत्तर छैन। सूर्यले फ्याँक्ने किरणहरु visible spectrum मा हेर्दा भने हरियो रङ्ग चैँ बीचतिर पर्दछ (हेर्नुस् तलको तस्वीर)। बीचमा पर्ने भएकैले हरियो रङ्ग हेर्, बुझ्न सजिलो हुने हो? हुनसक्छ। नहुन पनि सक्छ। यही कारणले हरियो रङ्गको महत्व बढी छ भनेर भन्न मिल्दैन। हुन सक्ला, बेग्लै कुरो; तर हो नै भनेर निर्क्यौल भएको छैन।

visible spectrum

========================

मेरो व्यक्तिगत धारणा तथा सिद्धान्त

मानव सभ्यताभन्दा धेरै पहिले पृथ्वीमा शुरु भएको सभ्यता हो: विरूवा सभ्यता। हामी मानिसहरुजति घमण्डी र वाहियात प्राणी यो पृथ्वीमा अरु छैनन्, र हामीबाहेकको सभ्यतालाई हामी सभ्यता भन्न अस्वीकार गर्दछौँ। तर बोट-विरूवाहरु आजभन्दा करीब ४२ करोड वर्षअघि उत्पतिमा रहेको कुरा पुष्टि भइसकेको छ। तुलनात्मक रुपमा, मानव जाति (Homo sapiens) जम्मा २ लाख वर्षअघि मात्र देखिन थालेका हुन। मानिसहरुको सबैभन्दा पुराना पुर्खाको आयु खोज्ने हो भने पनि ७० लाख वर्षभन्दा उता केही अवशेष/प्रमाण भेटिएको छैन। यो भनेको, विरूवाहरुको सभ्यता हामीभन्दा करोडौँ वर्ष पुरानो छ भन्ने हो।

अब मान्छेभन्दा कति हो कति अगाडि विरुवाहरु आएपछि पछि आउने मान्छेले पहिल्यै आइसकेका विरुवाहरुप्रति अभ्यस्त (adapt) त हुनैपर्‍यो। विरुवामात्र नभएर वातावरणमा जे छ, त्योसँग परिचित हुनपर्‍यो… हैन भने ज्यान जोखिममा पर्ने सम्भावना अधिकतम हुन्छ। यो अभ्यस्तता एकै दिन वा एकै जीवनकालमा सम्भव हुने कुरा पनि हैन। आधुनिक मानवका पुर्खाहरुले अलिअलि गररेर अभ्यस्ता हुँदै जाँदा हामी पछि आउनेहरुले पनि अभ्यस्त हुन सिकेका हौँ। हाम्रा पुर्खाहरुले बोटविरुवाहरुसँग अभ्यस्त नभएका भए – मतलब, रूखको यो फल खान हुन्छ, त्यो हुन्न; यो झारको बीऊ पिसेर आउने पीठो खानयोग्य छ, तर त्यो झारको छैन; यो फूल दलेर लगाउँदा घाऊ चाँडो निको हुन्छ, त्यो दल्दा पाक्छ; आद-इत्यादि नगरेका भए हामी शायद अस्तित्वमा पनि हुने थिएनौँ होला। हाम्रै अहिलेको समयमा अझै पनि हामी यो च्याउ खान हुन्छ, त्यो हुन्न; यो स्याउला बाख्राले खान्छ, त्यो खान्न; यो रूख भाले काफलको हो, त्यो पोथी काफल; आदि सिक्दैछौँ – रूख-विरुवाहरुसँग अभ्यस्त हुँदै छौँ। यो निरन्तर चलिरहने प्रकृया हो।

हरिया रूख-विरुवाहरुसँग यसरी परिचित भएपछि हामीले यो पनि बुझ्यौँ कि रूख-विरुवाहरु एकमात्र यस्ता प्राणी हुन, जसले सूर्यको शक्तिलाई खानेकुरामा बदल्दछ। फेरि दोहोर्‍याउँछु, रुख-विरुवाबाहेक अन्य प्राणीले सूर्यको शक्तिलाई खानेकुरामा परिवर्तन गर्न सक्दैनन्। त्यसैले त हामीलगायत सारा जीवहरु आफ्नो ज्यान जोगाउनका लागि एक वा अर्को रुपमा बोट-विरुवाहरुप्रति आश्रित छौँ। यो बुझिसकेपछि हामी (हाम्रा पुर्खा) पनि हरिया पातहरु कता छन, ती खोज्न थाल्यौँ। जता हरिया पात छन, त्यतै बसाइँ सर्न थाल्यौँ। आफू वरपरको वातावरण बुझेर त्यसको फाइदा लिन वातावरणअनुसार आफूलाई ढाल्ने प्रकृयालाई coevolution भनिन्छ; हाम्रा पुर्खाहरुले त्यसै गरे, हामी त्यसै गर्दैछौँ, र आगामी वर्षहरुमा पनि यो क्रम रहिरहनेछ। पात वा डाँठ हरिया भएका बोटविरूवाहरुले chrolophyll को मद्दतले सूर्यको किरणलाई खानेकुरामा बदल्छन भन्ने कुराको वैज्ञानिक व्याख्या परापूर्व कालमा थाहा नभए पनि रुखविरुवाका राम्रा गुणहरु अनुभवले (positive association) सिके, र सो बुझाइ आफ्ना सन्ततिहरुलाई पनि सिकाउँदै गए। लाखौँ वर्षदेखि हरियो रङ्ग हेर्दै, बुझ्दै, र यही रङ्गले जीवन रङ्ग्याउँदै आएका हामी मानिसहरुको हरियो रङ्गप्रति झुकाव हुनु नौलो भएन।

र, लाखौँ वर्षदेखि परिचित यो रङ्ग हेर्दा मानवजाति दङ्ग पर्ने, प्रफुल्ल हुने नै भए — भन्ने मेरो व्यक्तिगत बुझाइ छ।

========================

हामी वरपरका हरिया रङ्ग

  • धेरै विकसित देशहरुका पसलहरुमा (supermarket) खानेकुरो किन्न जाँदा के देखिन्छ अरे त भने, हरिया तरकारी तथा फलफूलहरु पसल छिर्नासाथ देखिन्छन रे, सबैभन्दा अगाडि हुन्छन रे। फलफूलमध्ये धेरैको रङ्ग हरियो हुँदैन, तर तरकारीमध्ये धेरैको रङ्ग हरियो हुन्छ। मान्छेको मनोविज्ञान बुझेरै होला – हरिया सागसब्जी; ठूला र लोभलाग्दा हरिया काँक्रा, गोलभेँडा, फर्सी, आदि; हरियै अंगुर, स्याउ, भुइँकटहर, खरबुजा, आदि – शुरुमै राखिएका होलान। फलफूल पनि हुन्छन है – राता, पहेँला, वैजनी; र केही तरकारी आइटमहरु पनि हुन्छन अरु रङ्गका। तर अगाडि राखिने धेरै सागसब्जी हरिया हुन्छन।
  • सानोमा टिभीमा हो या रेडियोमा – डाक्टरहरुले अप्रेशन गर्दा किन हरियो लुगा लाउँछन भनेर बहस गर्थे। अलि ठूलो भएपछि थाहा पाएँ, हरियोसँगै नीलो पनि लगाउँदा रहेछन। प्रायजसो यी दुई रङ्ग देखिए नि यी बाहेकका अरु पनि होलान् कि? सेतो होला। तर कालो, रातो त हुन्न होला… देखेको छैन। किन हुन्न त? उत्तर चिकित्सा पेशामा लागेकाहरुसँग हुनसक्छ।
  • साउनमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ भन्ने त प्रख्यात उक्ति नै भइहाल्यो नेपाली भाषामा। असार-साउन-भदौमा बेपत्ता पानी पर्छ भनेर भनिरहनु पर्दैन। यो बेला घाँस, रुख, बाली सबै हरिया हुन्छन। यस्तो बेलाँ आँखा फुट् गोरुले हरियो नदेखे के देख्छ त? भनेर सोध्नुभो भने म भन्नेछु – हरियोको साटो कालो या सेतो मात्र देख्दछ। हरियोको एक कण पनि देख्दैन। किनभने गाईको जातले सूर्यको किरणबाट रातो र हरियो छुट्याउन सक्दैन। हरियो देख्न नसक्ने साँढेलाई किन जबरजस्ती हरियो देखाइयो त? किनभने मान्छेहरुको प्रिय रङ्ग हरियो भएकाले (माथि भनेझैँ यो मेरो व्यक्तिगत दाबी हो; वैज्ञानिकहरुले पुष्टि गरेका छैनन् होला।), र मान्छेले साउनमा हरियो रङ्ग यथेष्ट देख्ने भएकाले पूरै सामन्ती पारामा मान्छेले अन्धो गोरुमाथि हरियो रङ्ग लादेको हो। गोरुले भलै हाम्रो भाषा बुझ्दैन र आन्दोलन गरेको छैन।

दोश्रो अर्थ: गोरु भनेर ठिटाहरु र हरियो रङ्ग भनेर साउनमा हरियो चुरा-पोते-सारी-बुलोचमा सजिने कामुक षोडषीहरु अर्थ्याइएको त हैन? यो कुरा अलि तल।

  • ‘मर्ने बेलामा हरियो काँक्रो’; ‘तँलाई हरिया बाँसाँ टुँ पारेर लैजाऊन्’…. किन होला मर्ने बेलामा पनि हरियै कुराको सोधखोज। छोप्न त आखिर सेता र पहेँला लुगाले छोप्छन। लाश पुर्ने समुदायहरुबारे भने त्यति जानकारी भएन तर हरियै चाहिन्छ भन्ने हुन्न होला। लाश पुरिसकेपछि लामा या तामाङहरुले हरियो बाँसको टुप्पो गाड्छन भन्ने सुनेजस्तो लाग्छ, तर तथ्य हो या हैन थाहा भएन।

‘हरियो गोबरले लिपेको…’। गोबर घाँसपातजस्तै हरियै त अलि नहोला तर हरियै गोबरको प्रसङ्ग उठ्नु रोचक छ।

एउटा अंग्रेजी उक्ति, जुन संसारभर प्रख्यात छ – the grass is greener on the other side. घाँस, त्यसमाथि पनि हरियो घाँसले सम्पन्नता र परिपूर्णता जनाउँदछन भन्ने बुझिन्छ।

अचेल सुन्दै आएको चिनियाँ भनाइ: रूख रोप्ने सबैभन्दा राम्रो समय २० वर्षअघि थियो। त्यसपछिको उत्तम समय आजै हो। यहाँ पनि हरियै रुखकै कुरो।

अरु पनि होलान। र यहाँ यस्ता उक्तिहरु मात्र लेखेँ भने selective भइस्; हरियो रङ्ग प्रयोग भएका उक्तिहरु मात्र यहाँ टाँसिस् भनेर आरोप पनि आउला। त्यसैले यो क्रम बन्द गर्दछु। तर मैले भन्ने खोजेको कुरा – रुखविरुवा तथा हरियो रङ्गबारेका बुझाइहरु एउटा समुदायको मात्र नभएर सबै मानवजातिको उस्तै उस्तै हो कि? – को आशय प्रष्ट भयो होला भन्ने आशा गर्दछु।

  • वैज्ञानिकहरुबीच गन्थन-मन्थन हुँदा १-२ कुराहरु यस्ता हुन्छन, जुन सुन्दैमा उदेक लाग्छन। यीमध्ये एउटा तर्क/सिद्धान्त/हावा गफ जे भने नि हुन्छ, त्यो के हो त भन्दा, कतै विरुवाहरुले मानव जातिमाथि आधिपत्य कायम गर्नका लागि कृषिको आविष्कार गरेका त हैनन्? विश्वमा अहिले २० भन्दा कम सङ्ख्यामा प्रमुख बालीहरु छन अरे। तर २० लाई नै सही मान्ने हो भने यो देखिन्छ कि यी २० बाली मात्रले संसार ढाकेका छन। २० नहोला, ५० होला रे। भनेपछि ५० बालीले संसार ढाकेका हुनेछन। मान्छेको हरियो रङ्गप्रतिको आशक्ततालाई हतियार बनाएर यिनले आफ्नो भविष्य सुनिश्चित पारेका त हैनन्? केही महिनाभर हरियो रङ्ग देखाएर लठ्यायो, त्यसपछि बीऊ वा फलमा लठ्यायो, अनि लठ्याएरै आफ्नो बीऊ जोगाउन लगायो, र अर्को पटक फेरि रोप्न लगायो। सुन्दा त हावै लाग्ला यो कुरो, तर कुरोमा कहाँनिर दम छ भने, यदि रोपिएको बीऊले हरियो रङ्गको विरुवा दिएन भने मान्छे त्यो बीऊसँग सम्बन्ध विच्छेद गर्दछ। जस्तो, आलु रोपियो। आलु उम्रियो। तर यो बीऊ कुहिने पर्‍यो वा किराले बोट खाने खाले पर्‍यो भने मान्छेले सम्बन्ध तोडिदिन्छ। गहुँ या धान या मकैका पातमा रोग लागेर आफूले चाहेजति हरियो रङ्ग मान्छेले देख्न पाएन भने मान्छे बहुलाउँछ। सकेसम्म ओखतीमूलो पनि गर्दछ। तर जे गर्दा पनि हरियो रङ्ग फर्केर आएन भने उसको पीडा ठूलै हुन्छ। र अर्को सालबाट त्यो बीऊ रोप्न छाडिदिन्छ।

(जोड्न चाहन्छु कि मान्छेले खानाका लागि विरुवा छान्ने र विरुवाले जीवनका लागि मान्छे छान्ने काम पनि coevolution कै अंश मानिन्छ। कुनै एक पक्षले मात्र बल गरेर हुन्न, दुवै पक्षहरु चाहिन्छन। यो बुझ्नु जरुरी छ।)

जाँतोले वाहियात कुरा गर्‍यो भन्ने लाग्ला, तर हरियो रङ्गप्रति, विशेषगरी बोट-विरुवाको हरियो रङ्गप्रति, मान्छेको मोह यति धेरै छ कि यो नशाजस्तो भैसक्यो। जेठसम्म खङ्ग्रङ्ग खडेरी लागेर जगतै खैरो र फुस्रो भएको बेलामा असारमा आउने पानीले ल्याउने हरियो रङ्गको उल्लास नभैदिने हो भने मान्छे खुस्किन्न होला के?

पानीको आशा र भरोसामा सुकेको बारीमा मकै छरेर मकै उम्रने बेलामा एक झर पानी परेपछि, र पर्सिपल्ट देखिने २-४ हरिया मुनाहरु सुनको पहेँलो रङ्गभन्दा प्यारा हुन्छन; जुनै किसानलाई सोधे हुन्छ।

  • हरियो सारी वा हरियो कुर्ता सुरुवालमा कुनै पनि केटी नराम्री देखिन्नन् भन्ने जुज्दाइको धारणा रहेको छ। र यो धारणा बाँकी ९९% केटाहरुको पनि हुनुपर्दछ। बाँकी १% साउन महिनाबाहेकका अरु ११ महिनामध्ये कुनै एकमा आँखा फुटेका धर्तीका बोझहरु हुन। अनि अँ, वैजनी चाहिँ दोश्रो। जब साउन महिना आउँछ, तब देशमा पानीले ल्याउने हरियाली त छँदैछ, त्यसमाथि हाम्रा अति नै सुन्दर केटीहरु, दिदी-बहिनी-फुपू वर्गका नारीहरु, तथा आमा-आन्टी सर्कलका आइमाईहरु सबैले थप हरियाली ल्याउँदछन। यिनलाई धन्यवाद नदिइरहन सकिन्न। सकल मानव जातिले त्यत्रो मन पराउने हरियो रङ्गको पहिरनमा चिरिच्याँट्ट परेर सोमवारको दिन dude हरुका dude महादेवको दर्शन गर्न गएको देख्दा हामी सामन्य झ्यासहरु लल्याकलुलुक नभई रहन पनि सकिन्न। अझ, मन्दिरमा शिवको लिङ्ग दर्शन गर्नका हेतु घामपानी नभनी लामो पंक्तिमा उभिएर बसेका किन्नरीहरु देख्दा त्यो ठाउँमा तत्काल पुगेर केही सहयोग गरौँ कि जस्तो नि हुन्छ। हरियो चुरा, हरियो सारी, हरियो बुलोच। कसैका त जुत्ता नि हरियै हुनी गाठ्ठेँ! बडेमानको ठूउउउलो क्यामरा आफूतिर सोझिएपछि भरे टिभीमा अन्वार आउँच कि भनेर मोरीहरु ङिच्च हाँस्दा चैँ लगाको लिबिस्टि पनि दाँतमा लागेको हुने के। ;-))

नारीहरुले यसरी हरियै रङ्ग किन छाने भनेर उहिले धेरै घोत्लिन्थेँ म। विशेषगरी किशोर अवस्थामा, जब जुँगा रेखी बस्दै थिए र स्कूलमा हरेक प्रश्नको जवाफ चित्तबुझ्दो नआएमा ‘यो मुला मास्टरलाई केही आउँदैन’ भनी सोच्ने उमेरमा। धेरै पछि जब विरुवाले मान्छेलाई आफूप्रति सम्मोहित गरेकोबारे बुझेँ, तब लाग्यो, हाम्रा महिला मित्रहरुले पनि सोही तुरुपको खेला गरेका हुन। भलै अन्जानमै शूरु गरेका होलान हरियो लाउन, तर आँखाले हेर्न सहज, हेरेपछि मन पराउन सहज, मन पराएपछि कार्यक्रमोन्मुख सहज, कार्यक्रमपश्चात बच्चा उत्पादन सहज, र बच्चा उत्पादनपश्चात जीन जोगिने सुनिश्चितता। यस्तो सहजता र सुनिश्चिततामा खाँबो हरियो रङ्गले ठड्याउँदछ भने, हरियो रङ्गको प्रयोगलाई असामान्य मानिरहन परेन। बरु बडा चलाख चाल मान्न सकिन्छ। कहिलेबाट हरियो लाउन थाले त? भन्ने प्रश्नको उत्तर चैँ कोही संस्कृतिविद् या कान्तिपुरमा लेख लेख्ने सौरभलाई थाहा होला।

र, यो साउनको महिनामा, कुनै ठिटो अन्धो भयो भने जिन्दगीभर हरियै आवरणमा सजिएका केटीहरु त कल्पना गर्ला हैन? गोरु न हुन केटा भनेका। हरियो घाँस जता देख्छन, उतै चर्न मुन्टिन्छन। आँखाको नानीका बीचमा हरियो रङ्ग धपक्क बलेपछि दायाँबायाँ नगर्ने सोझा गोरुहरु पनि हुन। यो नेपाल देशमा बिहेमा आउने केटीहरु रातो रङ्गमा जति डरलाग्दा देखिन्छन, साउनको सोउँवार उति नै गजब! त्यसैले म भन्दछु, नारी मित्रहरुलाई हप्ताको एक दिन हरियो रङ्ग लगाउनै पर्छ भनेर संविधानमा लेखिनु पर्ने हो।

========================

अन्तमा

मेरो बकबक धैरै भइसक्यो माथि नै। अब, यी, साउनको महिना छ क्यार। हरियो रङ्गको बाहुल्यता छ। धर्मराज थापाको ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ गीतको सार बुझ्नुहोस्, जीवन हरियो पारिरहनुहोस्। 😁

 

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s