भाषाका कुरा

 

म आफैँ रुञ्चे हैन। त्यसैले होला रुञ्चेहरु मनै पर्दैनन्। म झ्यासलाई को मनपर्छ को मनपर्दैन भन्ने कुरा महत्वपूर्ण पनि हैन।

अचेल एउटा वर्ग छ, भाषा बिग्रियो भनेर रुने। म आफैँ पनि अरुलाई बेलामौकामा भाषिक शुद्धताबारे २-४ कुरा भन्दै आएको मान्छे हुँ। तर त्यसो भन्दैमा म रुञ्चे हैन। ‘भाषा बिग्रियो, लौ न हजुर’ भनेर पसारो लगाइनँ। तर यसो गर्नेले किन गर्दछन भनेर राम्रैसँग बुझ्दछु पनि – यिनीहरुमा नेपाली भाषाप्रति बिछट्टै माया छ। यसको सम्मान गर्नुपर्छ।

तर रुनु पर्दैन पनि जस्तो लाग्छ।

मैले सानोमा स्कूलमा सिकेका केही शब्दहरु यसरी लेखिन्थे:

खुशी, शहीद, शीशा, नेत्री, पसिना, आदि। सबै सम्झनामा पनि छैनन्, र लेखेर साध्य नि हुन्न होला।

भन्न खोजेको कुरा चाहिँ के भने, यी शब्दहरु अचेल भिन्नै तरिकाले लेखिन्छन। मोटा श पातला भएका छन त ह्र्स्व र दीर्घबीचको पर्खाल धेरै हदसम्म ढलिसकेको छ। यो ठीक हो या हैन भनेर सोध्ने हो भने मिश्रित जवाफ आउँदछ।

भाषाका स-साना नियमहरु अरु ऐरेगैरेका तुलनामा अलिक धेर जानेका छन भने ‘यो ठीक हैन किनभने यसरी पो हुनुपर्दछ’ त भनेर भन्छन यिनीहरु। अर्थात, जे थियो, त्यै नै हुनुपर्दछ भन्नेहरुको झुण्ड। अंग्रेजीमा Purists भन्छन यिनलाई। माथि भनेको वर्ग यही हो; पहिलो वर्ग।

अर्को वर्ग छ, जसले सोच्दछ कि ‘अलिअलि फेरिएर के भो त?’ समयअनुसार सबै परिवर्तन हुन्छ भने भाषा चोखिने त कुरै रहेन, त्यसैले भाषामा आउने र आएका परिवर्तनहरु आत्मसात गर्दै जाउँ भन्ने वर्ग यो हो। यसमा जुज्दाइ पनि पर्दछ।

अनि अर्को एक वर्ग छ जसलाई भाषाको परिवर्तनबारे सोध्यो भने ‘यो भाषा के हो’ भनी सोध्ने खाले। खास यो समूह हो जसले भाषामा आइरहेका परिवर्तनहरुलाई सर्वप्रथम अरुसामु पस्किने। पत्रिका, अनलाइन मिडिया, पुस्तक प्रकाशकहरु, र ब्लगरहरु पर्दछन यो ग्रुपमा। एकले ‘अशुद्ध’ लेखेपछि अरुले देख्दा ‘ए, यसरी पो लेख्ने रहेछ त’ भनेर त्यही ‘अशुद्ध’ कुरा लेख्दै गयो भने कालान्तरमा शुद्धता पाउँदछ। नपत्याए शहीद कसरी सहिद बन्यो, त्यो हेर्दा हुन्छ। मेरै आँखाअगाडि, लगभग ७-१० वर्षको बीचमा आएको परिवर्तन हो यो।

पहिलो वर्ग, जसले ‘यो मान्य हुँदैन, हुनु नै हुँदैन, १ हुँदैन २ हुँदैन ३ हुँदैन’ भनेर ईँजार खुस्कनेगरी उफ्रन्छन, ती देखेर चाहिँ अचम्म लाग्छ।

किनभने, वर्ग २ को कुरा धेरै हदसम्म ठीक छ। ठीक नभए विचारणीय स्तरसम्मको त पक्कै छ।

बाउबाजेले हिँडेरै जागिर-खेत-बजारसम्म पुग्थे, म नि त्यसै गर्नुपर्‍यो भनेर सोचिएको थियो भने साइकल, मोटरसाइकल, बयलगाडा, आदि समाजमा त्यति विघ्न हुन्नथे जति आज छन। टिभीको कुरा त्यस्तै, रेडियोको कुरा त्यस्तै। हामीले जसरी अरु क्षेत्रमा हुने परिवर्तनलाई आत्मसात गरेका छौँ, त्यसरी नै भाषामा हुनेलाई पनि नगरी सुख छैन। किन भन्नुहोला?

किनभने न तपाईँ, न म रहिरहन्छौँ यहाँ भाषाको बारेमा बाझेर बस्न।

हाम्रा छोराछोरीले ‘नमस्कार’ को सट्टा ‘सप ड्युड’ मा बढी सहजपना र आनन्द मान्दछन भने हाम्ले रोकेर रोकिने?

हजुर-तपाईँ-तिमी-तँ को अनावश्यक तहलाई बोझ मानेर भावी पुस्ताले केवल तिमी मात्र प्रयोग गर्‍यो भने ‘तेरो बाउलाई / तेरी आमालाई तिमी भन्चस्?’ भनेर उफ्रिने?

उनीहरुभन्दा पछिको पुस्ताले अर्कैगरी भाषा लेख्ला, बुझ्ला… त्यसो भयो भने पनि ठीकै छ। समयले फेर्छ भने फेरिन्छ तनि। हामी रुञ्चे भएर भो र?

तर, यसो भन्दैमा माथिको वर्ग ३ लाई साँढे जसरी उन्मत्त छोड्न नि हुन्न। भाषाको दायित्व – जुन विचारको सरल र स्पष्ट सम्प्रेषण हो – यिनले सिध्याउन लागे भने यिनका नि जिब्रा थुत्न पर्च। बोलिएको तर नबुझिने र लेखिएको तर पढ्नै नसकिने अवस्थामा भाषा पुग्यो भने त भाषा भाषा नै रहेन नि। त्यसका लागि चैँ चनाखो हुनैपर्छ। कर्ण शाक्य एक उदाहरण हुन। एउटा जोकका अनुसार, यिनले चिया खाँदै लेखेको कुरा यी आफैँले बुझ्दैनन् अरे चिया सकिँदा!

तीबाहेक यो ह्रस्व भएन, त्यो मोटो श नै चाहिन्छ, त्याँ हलन्त भएन भने प्रलय आउँछ जस्ता रुञ्चे कुराहरु चैँ अलि बढी नै हुन के।

दिशा र दिसाको कुरा गर्लान कसैले। मेरो भन्नु के भने, अबको १०० वर्षमा – छोडम, पचासै वर्षमा – दुवैको अर्थ एकै भयो भने दिशा किन चाहियो, दिसा किन चाहियो! एउटा जुन प्रयोग गरे नि भो! शब्दको प्रयोग कुन बेलामा गरिएको छ, त्यसले अर्थ प्रष्ट पारिहाल्ला। एउटै शब्दले २ वा बढी अर्थ राख्न नमिल्ने हैन क्यारे। सबै भाषामा होलान यस्ता शब्दहरु। त्यसैले यो र त्यो भनेर भाषामा अनावश्यक पर्खाल ठड्याएर किन बस्नु हौ?

र अन्तमा कुरो के भने, अपरिवर्तनशील (stagnant) भाषा दिगो नरहेको प्रमाण टन्नै छन। उताको ल्याटिनदेखि यताको संस्कृत सबै बोलचाल र सामान्य जनजीवनमा प्रयोग नहुनुको कारण यी भाषाहरु परिवर्तन हुनै नसकेर हो कि जस्तो लाग्छ यो झ्यासलाई। कुनै दिन आउला, अहिलेको नेपाली हराएर अर्को भाषा प्रमुख हुने। यदि समयले त्यता डोर्‍याउँछ भने ठीकै छ। परिवर्तनशील दुनियाँ छ भनेर आफैँ भन्ने, तर भाषा फेरियो भनेर चैँ ङ्यारङ्यार र ङुरङुर गर्ने। हैट!

मेरो २ पैसे कुरो यत्ति हो। कसैप्रति व्यक्तिगत प्रहार हैन। Purist हरुको उफ्राइबाट उदेक लागेर मेरो ट्वाके कुरो यस्सो चुस्स राखेको मात्र। धन्यवाद।

 

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s