मरेका मान्छेको माया लाग्दैन

 

बुखेनवाल्ड यातना केन्द्र

बुखेनवाल्ड यातना केन्द्र

कसैको कतै मृत्यु भएमा सामाजिक सञ्जालमा RIP (rest in peace) सन्देशहरु बगरमा बालुवाको संख्या भन्दा धेरै देखिन थाल्छन। मरेका मान्छेसँग नाता नभए पनि, कतैबाट केही चिनापर्ची नभएपनि केवल ‘मानवताका नाममा’ समवेदनाहरु पोखिन्छन। मलाई यस्ता समवेदनाहरु सस्ता लाग्छन। कृत्रिम लाग्छन। र मलाई थाहा छ, यो विचार बोक्ने म एक्लो हैन। अल्पमतमा परूँला, तर एक्लो चाहिँ पक्कै हैन।

कोही एक मान्छे हुँदैमा र त्यो एक मान्छे मर्दैमा त्यो अज्ञात मान्छेप्रति सहानुभूति राख्नैपर्छ भन्ने मलाई लाग्दैन। हुन त मान्छेले मान्छेप्रति ‘मानवता’ देखाउनुका पछाडि हाम्रो (मानव जातिको) दुःख-संघर्षको इतिहास प्रमुख कारण हो भनिन्छ। खास कारण के हो आफ्नै ठाउँमा होला, तर मरेका मान्छेप्रति देखाइने माया, सद्भाव, आदर साह्रै अप्राकृतिक लाग्छन। किनभने यी ‘हृदयदेखि उम्रेका सद्भावका टुसा’ अरु बेला – भन्नाले अरु प्राणीको दु:खमा – ज्यादै कम मात्र देखिन्छन। कसैले सोध्दैन थालमा मगमगाउँदो मासको दाल पछाडिको कथा; कसैलाई वास्ता छैन कुकरमा सिठ्ठी हानिरहेको खसीको आँसु; र कसैले बुझ्ने प्रयास गर्दैन त्यो १० डल्ला मःमः का यात्रा-वृत्तान्त।

मान्छे भएपछि अरु पशु तथा प्राणीको किन मतलब किन राखिरहन पर्‍यो र? भन्लान।

मेरो उत्तरः शिकारको खोजीमा दिनभर अरुसँग जुझेर राति सिमेन्टको ओडारमा ओत लाग्ने के पशु नै हैन?

(रुञ्चे-रूञ्चे हुन लागेछ, प्रसङ्ग फेरौँ होला।)

xxx

२००९ को मे महिनामा जर्मनीको दक्षिणतिर पर्ने वाइमार (Weimar) शहरको बुखेनवाल्ड (Buchenwald) कन्सनट्रेसन क्याम्प घुम्न जाने मौका मिलेको थियो। बन्दीहरुको संख्याअनुसार यो जर्मनीको सबैभन्दा ठूलो यातना केन्द्र रहेछ। कैदीहरु राख्ने घरका अवशेष देखेँ; कैदी हेर्न बनाइएका सेन्ट्री टावर (अझै पनि सुरक्षित) देखेँ; कैदीहरुलाई राख्ने जेलका कोठी र कोठीमा फलामका नेल देखेँ। मानवताको इतिहासमा कलंकित कृत्यहरुलाई दर्जा दिने हो भने हिटलरका यातना गृहमा हुने गतिविधिहरुले शुरुतिरै ठाउँ लिन्छन, पक्कै पनि। लाखौँ मान्छेलाई किरा-फट्याङ्ग्राहरुझैँ मारिएको ठाउँमा पुगेर ती घटनाहरु सम्झने प्रयास गरेँ। तर सकिनँ।

जेलको कोरिडोर

जेलको कोरिडोर

न त आङ सिरिङ्ग भयो, न मर्नेहरुप्रति माया जाग्यो मनमा न दुःख नै लाग्यो। सँगै गएकी साथी (अमेरिकी) चाहिँ सुँक्कसुँक्क गर्दै थिइ। मलाई किन उसलाई जस्तो भएन भनेर नसोचेको त हैन, तर सोच्दैमा संवेदना नजाग्ने रहेछ। हुन त म ऊजस्तो यूरोपियन मूलको हैन पनि, र उसको जति ‘मानवता’ ममा थिएन होला शायद… तर पनि एक सुक्को दया-माया-ममता-आदर केही जागेन। दिमागले केसम्म चाहिँ स्वीकार्‍यो भने, यो ठाउँ पिशाचहरुले राज्य गरेको ठाउँ हो, जहाँ अबोधहरु विनाकारण मारिए। हाम्रो आफ्नै १० वर्षे द्वन्द्वले १७ हजार दाजुभाइ-दिदीबहिनी मार्दा जति टोलाइएको थियो, जति मन काम्थ्यो (समाचारमा यति मरे र उति लाश भेटिए भन्दा), त्यति त के, त्यसको कुनै अंश पनि अनुभव गरिन यो लाखौँ मान्छेहरुलाई जिउँदै मारिएको ठाउँमा उभिँदा।

जिउँदै मारिएका पनि साना दुःखले हैन रहेछन। एउटा घरको तल्लो, अँध्यारो तलामा पुग्दा देखेँ कि मान्छे (जीवित हुन या मृत) ओसार्ने बडेमानको लिफ्ट। तल्लो तलाबाट खाँदाखाँद मान्छे लिफ्टमा राखेर माथिल्लो तलामा रहेका भट्टीहरुमा मान्छेको दाउरा बालिएको रहेछ। एउटा भट्टीमा दशौँ मान्छे खाँदिए होलान, कति जिउँदै थिए होलान… सबैलाई पोलियो। बल्नेहरु धूवाँ भएर चूल्होको मुखमा छोडेको कालो अँगार अझै देखिन्थ्यो। कति आगोको ज्वालामा, कति निस्सासिएरै मरे होलान। यी कल्पना मनमा खेले। तर विद्यानाश मन कुँडिएन। मानवता हराएको लिस्टमा शायद पहिलै हुन्छु होला, तर साँचो कुरा भन्नपर्दा ‘यहाँ यस्तोसम्म भएको रहेछ, हैट’ बाहेक अरु संवेदना पलाएको जस्तो मलाई लाग्दैन।

मान्छे ओसार्ने गाडा

मान्छे ओसार्ने गाडा

मान्छे पोल्ने चूल्हो

मान्छे पोल्ने चूल्हो

यो लेखिरहँदा आइएस्सीमा पढेको Reading Between the Lines किताबको एउटा कथाको (नाम याद छैन, तर जर्मनीले पोल्यान्डमाथि आक्रमण गर्दाखेरी हजाम पसलमा बसिरहेको मान्छेबारे हो कि जस्तो लाग्छ) एउटा लाइन सम्झन्छु, जसको अर्थ मोटामोटी यस्तो हुन्छः अन्त चल्दै गरेको द्वन्द्वको हिंसा आफू बसेको ठाउँमा आइपुग्दैन भने, त्यो द्वन्द्वको मतलब हुन्न (या यस्तै केही… lack of violence बारे)। यही पो हो कि मेरो समस्या? के त्यो लाइनले त्यस्तो ठूलो प्रभाव पारेको हो र ममाथि कि हाम्रो इतिहासमा घटेको यो बर्बर घटनाप्रति मेरो शून्यसंवेदना?

पोहोरै पनि जर्मनीको उत्तरतिर अवस्थित Bergen-Belsen यातना केन्द्रमा पुगेको थिएँ। बन्दीहरुको संख्याअनुसार यो चाहिँ जर्मनीको पाचौँ ठूलो यातना केन्द्र थियो। यहाँको केन्द्र अहिले म्यूजियमको रुपमा बढी चल्दो रहेछ। पुराना भग्नावशेषहरु, पर्खालहरु लगभग रहेनछन भन्दा पनि हुन्छ। यहाँको डुलाइ पनि उस्तै रह्यो। टुरिष्ट बनेर गइयो, यताउता ट्वाल्ल परेर हेरियो, केही थान फोटा खिचियो, र घरतिरको बाटो तताइयो। म्यूजियममा राखिएका धेरै कहालीलाग्दा कुराहरु – कैदीका मैला लुगा जसमध्ये धेरैमा रगतमा टाटा देखिन्थे; कैदीका टुथब्रश, चप्पल, तासका पत्तीहरु; सिपाहीहरुले प्रयोग गर्ने हेल्मेट, बन्दूक, गोलीका खोका; कंकाल जस्ता देखिने मानिसहरु जसमध्ये ससाना बच्चाहरु पनि; र श्यामश्वेत फोटाहरु जुन हेर्दै हरर फिल्मबाट झिकिएका जस्ता लाग्ने….. – यी सबै देखियो, र पनि खै किनकिन खासै दुःख-त्रास-करूणा केही जागेन। यस्ता ठाउँमा पुगेपछि आँशु बग्नुपर्थ्यो वा शिर झुक्नुपर्थ्यो वा मन भारी हुनुपर्थ्यो वा यस्तै केही….?? तर मेरो भएन। ‘मरेछन, ज्या’ सम्म पनि भएन।

कैदीका व्यक्तिगत सामान

कैदीका व्यक्तिगत सामान

मैले यी सबै कुरा यहाँ लेख्दा कुनै ठूलै पुरुषार्थ गरेँ भनेर घमण्डले फुलेर लेखिरहेको पनि छैन। तर वरपर हेर्दा लगभग अरु सबैले अनुभव गर्ने कुरा मैले किन गरिरहेको छैन भनेर यसो सोचील्याएको मात्र हो। मैले भनेँ नि शुरुतिरै – म आफूले यस्तो अनुभव नगर्ने भएकोले नै होला, अरुले यस्तो अनुभव गरेको देख्दा, अरु मर्दा दुःख व्यक्त गर्दा साह्रै स्वाङपारे लाग्छ (हजारौँ मार्नेले लुम्बिनी गएजस्तै; आफूले स्कूल खरानी पारेर संस्कृतका श्लोक हाल्नेजस्तै)। अहिले पनि, हाम्रै खुद देशमा, बाँच्दै सास्ती पाउनेहरु असंख्या छन; सास्तीका कारणहरु हजारौँ छन। तर धेरैको विवेक त्यता जाँदैन। तर जब बेला घर्किन्छ र ज्यान सुस्ताउँछ, अनि RIP का बाढी देखिन्छन; कसको दोष हो भनेर पहिल्याउन विद्वानहरु उफ्रिन्छन। खहरेको बाढीझैँ एकैछिनमा आउने-जाने यस्ता उफ्राइ उस्तै लाग्छन भने, म के गरुँ!?!  प्रतिक्रिया दिन मात्र बसेका चरम प्रतिक्रियावादीहरुको यस्तो बानीले अति नै दिगमिग हुन्छु म चाहिँ।

xxx

मरेकाप्रति किन माया लाग्दैन? ‍लाग्नैपर्ने हो र?

जन्मिन्छ भने पक्कै मर्छ, कारण जे होस्। आफ्नो परिवार र साथीभाइको मृत्यु भएमा केही क्षण दु:ख लाग्नु स्वाभाविक हो। केही समय बिताइएको निर्जीव वस्तुसँग त छुट्टिँदा माया लाग्छ भने जीवित बाबुआमा, मामामाइजु, साथी, छिमेकी, आदि मरेर जाँदा मनमा अनेकन भावनाहरु आउनु अनौठो भएन। तर यिनकै मृत्युमा पनि मेरो सन्तापले मरेर गएका प्रियजनहरु वैकुण्ठ पुग्छन भन्ने मलाई लाग्दैन… नचिनेकाहरुको त कुरै परको भो। मेरा RIP र ‘उहाँ अति महान हुनुहुन्थ्यो’ सुनेर मरिसकेकाहरुले आनन्द मान्दछन भन्ने पनि लाग्दैन। मरेपछि सबै अन्धकार हुन्छ भने मैले केही भनेर वा गरेर केही फरक पर्ने हैन। वा, मरेपछि अन्धकार हुँदैन र आत्मा बाँचिरहन्छ भनेर एकछिनलाई मानिलिने हो भने पनि मभन्दा बढी त मर्नेकै परिवार तथा साथीहरुको शुभचिन्तन बढी प्रभावकारी हुन्छ होला। यसर्थमा अरुलाई देखाउनका खातिर के मेरो मनमा मैले चिन्दै नचिनेको मानिसको लागि माया छ भनेर म स्वाङ पार्दै हिडूँ?

नेल्सन मन्डेला वा मुहम्मद अली वा भैपरी आएमा डा. गोविन्द केसी… जोसुकै मरेका हुन, घरमा पालेको १३ वर्षे कुकुर ४ वर्षअघि मर्दा जति दु:ख अरु कोही मर्दा पनि लागेको छैन।

Advertisements

One thought on “मरेका मान्छेको माया लाग्दैन

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s