घाँसको सुवास

मान्छेको हात, जीऊ काट्ने हो भने त्यो रुन्छ। तर विरुवाको काट्दा विरुवा रुन्छ त?

सुनसान जंगलमा रूख ढल्दा आवाज आउँछ कि आउँदैन भन्ने प्रश्न जस्तै होला यो प्रश्न पनि।

विरुवा काट्दा निज रोएपनि नरोएपनि विरुवाले गरिरहेका कृयाकलापहरु अनौठा हुन्छन। कसरी र किन गर्छन भन्नेबारे एउटा झारपात लेख यो।

घाँस तथा स्याउला काटेको अनुभव भएका हामी धेरैलाई थाहा छ, घाँस काट्दा एउटा बहुतै मीठो सुवास नाकभित्र छिर्छ। घाँस काटेका तुलनामा रूखबाट स्याउला झार्दा यो वासना शायद अलि कम होला, तर वासना त हुन्छ नै। अझ सिमसिम पानी पर्दाखेरी काट्या छ भने त ओहोहोहो! त्यो वासनाले पूरै इलाका सुगन्धित बनाउँदछ। [[स्याउलाको ठूलै भारी बोक्न पर्‍या छ भने त्यो सुवाससँग हाइहेलो गर्दै, बोझ बिर्सँदै पाखाबाट घरसम्म आउँथे म।]] घाँस-रुख-विरुवाले काटिँदा उत्पादन गर्ने यो मीठो वासना के हो? र किन त?

हामी मान्छेलाई कसैले चक्कु-कर्द हान्यो भने प्रतिरोधमा हात र लात हान्छौ त्यो प्रहारकर्तालाई। यो गर्न नसके मुखबाट ‘गुहार’ सम्म निस्केला, वरिपरि भएका कसैले सुनेर सहयोग गर्लान कि भन्ने आशमा। घाँसमा पनि कुरो यै हो। तर घाँसले आफूलाई काट्नेमाथि लात मार्न सक्दैन। न त कराउन नै सक्छ सहयोगका लागि। के चैँ गर्छ त भन्दा, ‘काट्नेले काटिसक्यो, योबारे केही गर्न सकिन्न। तर भविष्यमा आइपर्ने जोखिमबाट बच्छु’ भन्ने सोच्छ। अनि उचित कदम चाल्दछ।

विरुवाले काटिँदाका बेला अंग्रेजीमा volatile organic compounds अथवा secondary metabolites भनिने रसायनहरु उत्पादन गर्दछ। यी रसायनहरु बहुउपयोगी हुन्छन – भन्नाले, चोटपटक नलाग्दा पनि विरुवाले यिनको प्रयोग आन्तरिक रुपमा गरिरहेको हुन्छ – जसमध्ये एउटा मुख्य चाहिँ प्रतिरक्षा/सुरक्षाका लागि हो। जस्तो, तीतेपातीको गन्ध (कतिलाई गन्हाउला तर मलाई चैँ मीठो लाग्छ यसको वासना) सुँघेपछि गाई-बाख्राले यो खाएनन् भने तीतेपातीको ज्यान जोगियो; ज्यान जोगिएपछि यसले समागमका कार्यक्रमहरु गरेर आफ्नो बीऊ जोगाउन पायो। तर सबै विरुवाले यसरी बाह्य गन्ध उत्पादन गर्दैनन्। कुनै घाँस या स्याउलाका पातहरु नचपाइञ्जेल यी रसायन बाहिर निस्कनन्। जब चपाइन्छन्, तब ती रसायन गाईवस्तुको जीब्रोमा पर्दछन र स्वाद मन नपरेर तिनले थूकिदिन्छन ती पात। डाम्नाले कुनै घाँस खाने कुनै नखाने, कुनै स्याउलाको बोक्रैसमेत खाने तर अरुमा चैँ मुत्ने यै भएर हो। काटिइसकेपछि, टाट्नामा हालिसकेपछि, र वस्तुको मुखमा परेपछि मात्र रसायन निकाल्नु मूर्खता जस्तो देखिएला। तर हैन, रुख-विरुको कुटिल चाल अर्कै हुन्छ। गाईवस्तुले स्याउला नखाएपछि दु:ख गरेर रुख किन चढ्नु, किन भारी बोकेर घरसम्म ल्याउनु! त्यसैले अर्कोचोटि पाखातिर जाँदा पशुपालकले त्यो रुखको स्याउला झार्दैन, र फलस्वरुप त्यो रुखले पनि शान्तिसँग बाँच्न पाउँछ। यस्तो कर्कट चाल गँगटोले नि चाल्दैन होला! 😀  अनि, जबसम्म त्यो मान्छेले आफूले सिकेको कुरा अरुलाई (छोराबुहारी, छिमेक, आदि) जानकारी गराइरहन्छ, तबसम्म त्यो रुखle (या घाँस) निर्वाध बाँचिरहन पाउँछ। स्याला २ मिनेट सोच्ने हो भने मान्छे तथा पशुभन्दा रुख-विरुवाहरु धेरै नै बुद्धिमान भएको सत्य उजागर हुन्छ!

काटिँदा (या गाईले खाँदा या किराफट्याङ्ग्राले चपाउँदा) निस्कने रसायनले रुख तथा रुखका छिमेकको बचाऊ गर्ने कुरो गरियो। साथसाथे यी रसायनहरुले राम्रा (beneficial) किराहरु पनि आकर्षित गर्दछन भन्ने पनि पुष्टि भएको छ। जब दु:ख दिने किराहरुले रुख-विरुवाको पात चपाउन थाल्छन, तब बोटहरुले यी रसायनहरुको उत्पादन गर्दछन र राम्रा किराहरु आफूतिर आकर्षित गर्दछन। यी राम्रा किराहरु प्रायजसो ती झ्यास किराहरुको हाकिम (predator) हुन्छन, र तिनलाई खाइदिन्छन। यसरी आफूले नसके पनि घुमाउरो बाटोको सहयोग लिएर विरुवाले आफ्नो सुरक्षा गर्दछ। जनावरहरुले जस्तो भागेर, कराएर, प्रतिरोध गरेर तत्काल मुक्ति पाउन नसके पनि रुख-विरुवाहरुले आफ्नै किसिमले आफ्नो सुरक्षा गर्दछन। आफूमा लागेको घाउ-चोटपटकको उपचार पनि यिनले आफैँ गर्दछन। त्यसैले पनि यिनीहरु साह्रै कुशल र शालीन जीवहरु हुन।

माथि लेखेको रुख विद्वान हुने कुरा हाम्रा खोष्टे विद्वानहरुलाई नपच्ला। खोष्टे विद्वानहरुलाई के थाहा छैन भने रुख-विरुवाहरु पृथ्वीको सबैभन्दा पुराना प्रजातिहरुमा पर्दछन। केही सूक्ष्म जीवहरु (जस्तै ब्याक्टेरिया) पनि परापूर्व कालदेखि बाँच्दै आएका छन। तर complex organisms को कुरा गर्ने हो भने रुख-विरुवाहरु अग्रपंक्तिमा आउँछन। सयौँ-हजारौँ वर्षसम्म बाँचिरहन बुद्धि चाहिन्छ, दूरदर्शिता चाहिन्छ। रूख काट्न मान्छे गयो भने रुखले बन्दूक निकालेर मान्छेलाई मार्दैन। या कुनै किराले रुख खोक्रो पार्‍यो भने किरा मार्न भनेर आफूलाई उखलेर फाल्दैन। के गर्छ त भन्दा पहिलो शुरुमा सकेसम्म आफूलाई बचाउने प्रयास गर्दछ, माथि भनेको रसायनहरु उत्पादन गरेर। र साथसाथै, यो कुरा पढेर धेरैलाई ताज्जुब लाग्ला, आफ्ना साथीहरु बाँचून् भनेर उक्त रसायनहरु छिमेकमा पुग्नेगरी उत्पादन गर्दछ। रुख-विरुवाहरुले उत्पादन गर्नी ती मेटाबोलाइटमध्ये केही छन (अहिले सम्झेको jasmonic acid, ethylene) जो तापक्रम अलि धेरै हुने बित्तिकै हावासँग मिल्दछन (volatile – के भन्छन नेपालीमा?) र वरपर रहेका रुख-विरुवाहरुलाई खतराको सूचना दिन्छन। यसरी आफूमात्र नभएर छिमेकीको पनि ख्याल गर्ने भएकैले होला रूख-विरुवाहरुको लामो आयु भएको। मान्छेको जात सिद्धिएर गएको लाखौँ वर्षहरुपछि पनि रुख-विरुवाहरु नरहलान भन्न सकिन्न। केही वैज्ञानिकहरुको त के पनि धारणा छ भने, रुखको दिमागको ((दिमाग भनेर मेटाफिजिकल सेन्समा भनेका होलान)) चित्रण/कलपना गर्ने औकात मान्छेको दिमागसँग छैन। हाम्रो दिमागले ३ डाइमेन्सनभन्दा परको कुरा बुझ्दैन अरे, त्यसैले रुखको दिमाग कस्तो हुन्छ भनेर बुझ्न सक्ने हाम्रो क्षमताको विकास भैसकेको छैन रे। यस्तो याब्स्ट्रयाक्ट र फिलोसोफिकल त के होला र तर पनि सोच्न बाध्य चैँ बनाउँछ एकछिन।

अर्कोपटक घाँस काट्दा या फूल चुँड्दा या स्याउला झार्दा कुनै मीठो वासना नाकमा पर्‍यो भने बुझ्नोस् कि विरुवा रोइरहेको छैन। उल्टै, तपाईँविरुद्ध आफ्ना साथीहरुलाई कुरा लाइरहेको छ, यो दानव हो भनेर! ;))

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s