काठमाडौँवासी पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाहले काठमाडौँ जित्न चाहनु पछाडि धेरैका धेरै बतासे सिद्धान्तहरु सुन्न पाइन्छ। कोही भन्छन उनले नेपाल राज्यलाई एक ढिका पार्न यसो गरेका हुन्। अरु भन्छन क्षत्रीय रगत उम्लेर के गरुँ के गरुँ भएर वरपरका सबै राज्य जित्न निस्केका हुन्। कोही त के पनि भन्छन भने यी ठेट पहाडका तागाधारी पुरुष भएकाले उपत्यकामा जनजाति राजाहरुले मोजमस्ती गरेर बसेको देख्न नसकी डाढले नै युद्ध गरेका हुन्। अब ल्वाँदहरुको मुख त थुन्न सकिन्न तर खास कारण भने अर्कै रहेछ। हालसालै प्रकाशमा आएको alternate reality मा आधारित उनको कान्तिपुर विजयबारे मेरा तुच्छ शब्दहरु यहाँ प्रस्तुत गर्न चाहन्छु।

xxx

ससुराले फेरि पनि स्वास्नी घर लान दिएनन्। लौ फसाद।

जुँगाको रेखी आधा हो आधा हैन हुँदै बिहे गरेका थिए गोरखाका युवराज पृथ्वीले, जो डाँडाघरे पिर्थि भनेर दौँतरीमाझ प्रिय थिए। अग्लो ज्यान, फराकिलो दारका पृथ्वी लुरे भएपनि अनुहारमा ओज प्रशस्तै झल्किन्थ्यो। दश डाँडा, चौध भञ्ज्याङ अढाइ दिनमै भ्याएर साँझ मक्वानपुर गढीको ससुराली आँगन टेकेका थिए। भोकले चूर, त्यसमाथि जहानसँग एउटै झुलमुनि सिरकमा गुँडुल्किन पाइने कल्पनाले ज्यानमा ल्याएको हर्मोनको बाढी। तर निहुँ खोज्दै ससुराले छोरी यो पटक पनि घर पठाउन्नँ भने।

कन्सिरी ताआआतो भयो। नाकको डाँडीमा पसिना आयो।

“तेरो घरमा तैँ बस् बूढो! तेरी छोरी नि तैँ पाल्!!”

यति भनेर रन्किँदै अँध्यारोमै गढी छोडे पृथ्वीले। रिसको झोँकमा जुत्ता नि नलगाई हिँडेछन.. आधा घण्टापछि उकालोमा कटुसको बोक्राले घोचेपछि पो थाहा पाए!

तर सिधै घर फिर्न मन लागेन।

‘देश हुनु त मल्लका जस्ता समथर।’ ‘मन्दिर हुनु त मल्लका जस्ता सुन्दर।’ ‘प्रजा हुनु त मल्लका जस्ता बोधा।’

नेपाल उपत्यकाका तीन राज्यबारे बहुत सुनेका थिए। सुनेर वाकप्याकदिक्स नै भैसक्या थे। हेरम न त कस्तो रैछ खाल्डाका भ्यागुताहरुको रजाइँ भन्ने सोचेर हान्निए खाल्डोतिर।

चन्द्रागिरीमा पुगेर तल नजर डुलाउँछन त, खेतहरुमा सुनै फलाएजसरी गर्वले बहुत चौडा उपत्यका आँखाको नानीमा चढे!! शेषनागका हजारवटा टाउकाले सबैतिरबाट घेरेर स्वयं विष्णु भगवानलाई जोगाएजसरी चारै दिशामा आकाश छोएका भयङ्कर पहाडका किल्लाहरु। अनि ऊ माथिबाट हरिया फाँटहरु चिर्दै चाँदीको जलप ओढेर बगेको बागमती। वर्षौँदेखि सुनी आएको यो नेपाल उपत्यकाको वर्णन आज खुद स्वयं आफ्नै आँखाले देख्दा अन्धोले सर्पको मणि भेटेजस्तो भयो उनलाई। र सम्झे, गोरखाको विकट डाँडोमा एउटो फुस्रो ढुङ्गोको टुप्पाँ टुसुक्क बसेको आफ्नो घर। परारै मात्र त हो, भदौमा पहिरो आएपछि एकापट्टिको कुनो खस्रक्क तीन हात तल खसेको!

अनायासै सोचे, यस्तो त्रासबीच बसेको गोरखा दरबार यो रुमाल बिच्छ्याए जसरी समतल उपत्यकामा सार्न पाए…..। थाहै नपाई १ बटुको थुक घाँटीबाट घुट्किएछ, र मुखबाट निस्कियो – बाउलाई थर्काएरै भए नि सीम खेत बेचिन्छ, तर ज्यानकाजीले बार्दलीसहितको यामानको घर त ठड्याएरै छोड्छ, छोड्छ यहाँ!

xxx

नरेन्द्र लक्ष्मीलाई बिहे गरेर घर ल्याएको तीन महिना नि बल्ल पुग्दैथियो। कहाँ हेमेकी छोरी, कहाँ यी बनारसी राजपूतकी छोरी। रूप, गुण, विद्या के थिएन र यिनमा। जति आफ्नी पत्नीमा लीन थिए, त्यति नै चाह त्यो नेपाल उपत्यकाको पनि। केही सालअघि देखेको उपत्यकाको त्यो दृश्य आँखामै नाचिरहन्थे। त्यहाँ घर भएको, घरमा जहान, बालबच्चा, आदिको सपनाले पृथ्वी कायल भैसकेका थिए।

एक साँझ खोपीमा नरेन्द्र लक्ष्मी पृथ्वीको केश चलाइदिँदै थिइन्। पृथ्वीले उनको हात च्याप्प समाते र भने – लच्छु, तिमी सुखमा हुर्केकीलाई मैले यो अनकन्टार पहाडमा ल्याएर दु:ख दिएँ नि?

खाटबाट ओर्लिए, अनि कोठाको यो कुनाबाट त्यो कुना हिँड्न थाले, दार्शनिकझैँ कुनै गहन सोचमा डुबेझैँ। भने – बुझ्यौ, म शहर जान्छु। त्यहाँ जग्गाको मोल बुझ्छु। उस्तै परे १ टुक्रा जग्गा जोडेर पनि आउँछु। घर त्यहाँ सारियो भने तिमीलाई नि माइत आउन-जान सजिलो हुन्छ। नाइँ नभन ल?

विचरी नरेन्द्र लक्ष्मी। भाषा बुझे पो। तैपनि फिस्स हाँसिदिइन् श्रीमानको हाउ-भङ्गिमा र जोश देखेर।

पृथ्वी पनि दङ्ग परे। मोरी नेपाली बुझ्दिन भन्ठानेको त बुझ्दी पो रछ।

तत्कालै अलि आत्तिए पनि – अस्ति सुसारेलाई जिस्काको नि थाहा पाई कि के!? 🤔😳

xxx

भक्तपुर आइपुग्न ठ्याम्मै ४ दिन लाग्यो। सुनेका थिए, रञ्जीतको छोरो वीरनरसिंहलाई कुस्तीमा र तरुनीमा रुचि छ। वीरले बाहिर ह्याङ्आउट गर्दा परिचय आदानप्रदान गरे, बिस्तारै साथी बन्दै गए। दुवै जवान। दुवैको रुचि समान। आफ्ना २ बिहेका किस्सा सुनाएर पृथ्वी वीरलाई भुतुक्कै पार्दथे। यसरी वीरलाई साथीबाट घनिष्ट मित्र बनाउन उनलाई धेरै समय लागेन।

साथी बनाउनेभन्दा पनि पृथ्वीको रुचि कसरी हुन्छ, जसरी हुन्छ, उपत्यकामा जग्गा जोड्न सकिन्छ, त्यसमा थियो। उनले सुनेका थिए कि नेवार राजाहरुले उपत्यकाबाहिरका, त्यसमाथि पनि रजौटा खलकलाई जग्गा किन्न र महल बनाउन वर्जित गरेका थिए। त्यहाँको रैथानेलाई व्यक्तिगत रुपमा हात नलिईकन आफ्नो उद्देश्य पूरा गर्न अरु उपाय उनीसँग थिएन।

तीन महिना भक्तपुरमा बसुञ्जेल त्यहाँको भौगोलिक, राजनैतिक, आर्थिक, र विशेषगरी रणनीतिक अवस्था बुझे। तर बुझाइले मात्र कुनै खास उपलब्धि हासिल गर्न सकेनन्। आफूलाई उपत्यकाकै वासिन्दा भनी प्रमाणित गर्न डेढ थैला तामाका सिक्का लिएर डकुमेन्ट तयार पारिदिने बागबजार र पुतलीसडकका दोकानहरुमा पनि भ्याए। तर अहँ, सकेनन्। भक्तपुरका युवराज वीरनरसिंह स्वयंले प्रयास गर्दा पनि केही भएन। महिनौँको प्रयासपश्चात पनि केही उपलब्धि हात नपरेकाले बडा दु:खित थिए उनी। तीन महिने भीषाको म्याद पनि सकिएको। काम कुनै तवरले नबन्ने देखिसकेका थिए त्यसैले पीडामा पीडा थप्न कन्सुलेट गई पुन: भीषा जित्न मन लागेन उनलाई।

र आजित भई, गह्रौँ मनले हृदयले गोरखा फर्किने निधो गरे। नरेन्द्र लक्ष्मीले के आश गरी बसेकी होलिन्। आमा कौशल्याले बाटो हेरी बसेकी हुन छोरोले लालपूर्जा र घरको नक्सा ल्याउँछ भनी। कसरी मुख देखाउनु। बडो चिन्तामा परे उनी।

आजित थिए, तर पराजित थिएनन्। मन भने पक्कै कुँडिएको थियो उनको। दिसा गरेपछि धुँदै नधोई लुगा भिरेर हिँड्ने देश भँडुवा विदेशी गोराहरुलाई चाहिँ बस्न दिने तर वरपरकै बाइसे-चौबीसेमै बसिरहेका वासिन्दाहरुलाई भने सख्त बन्देजबाट पृथ्वीको मन चसक्क भएको थियो। यो रेसिजमको बदलाको लागि तयार थिए उनी। पर्खाइमा थिए त केवल उचित समयको।

xxx

बदला भनेको भुसको आगो जस्तो हुनुपर्छ रे। भित्र बिस्तारै बिस्तारै सल्किरहेको, बाहिर भने केही नडढेको। जब पूरै रास खरानी हुन्छ, अनि शत्रुले थाहा पाउँदछ कसरी खिइएछ भनेर।

पृथ्वीले यो बुझेका थिए। त्यसैले राजा बनेपछि पहिलो काँटी नुवाकोटमा सल्काए। अनि लमजुङ। अनि तनहुँ। मकवानपुर। कीर्तिपुर। यी विजयहरुका बीचमा मकवानपुरे दिगबन्धनले झिकाएका मुस्लिम र काठे जयप्रकाशले बिन्ति गरेर बोलाइएका ब्रिटिशलाई पनि हराउन भ्याए। काठमाडौँको उपत्यकामा घरघडेरी जोड्ने सपना साकार पार्न दत्तचित्त उनलाई रोक्ने ह्याउ कसैको भएन।

रोचक कुरा त के भने, राजा बन्नुअघि उनमा देशहरु जितौँ, सबैलाई मेरै पारौँ भन्ने सोच थिएन। राम्रो ठाउँमा बसाइँ सरेर, घर बनाएर, परिवार पालेर एक सामान्य जीवन जिउने साधारण सपना थियो। किँवदन्तीका अनुसार, लमजुङमाथि विजय पाएपश्चात एक बनारसी साधु गोरखा पुगेका थिए। सेवा-सश्रूषाबाट प्रसन्न भएर साधुले भनेछन – के इच्छा छ जेठा तेरो? ‘त्यो खाल्डोमा एउटा दरबार ठडाउन पाए हुन्थ्यो बाबा।’ पृथ्वीले मनको कुरा पोखे। आखिर उनको आँखाको नानीमा नाचिरहने त्यही एक कुरा त थियो – एउटा घर, घरअगाडि बगैँचा, बगैँचामा खेलिरहेका लालाबाला। पहाडको विकटतामा जीवन धान्दै आएको एक साधारण नेपालीको सपना अरु के नै हुन्छ र! एउटा घर र घरमा बस्ने परिवारको खुशीमै ऊ रम्छ बरा ।

तर, जब सपना पूरा हुँदैन, मान्छे कठोर बन्दछ, क्रूर बन्दछ। परिआएमा जे गर्न पनि तयार हुन्छ सपनालाई मूर्तरुप दिने प्रयासमा। सोझो औँलाले घीऊ ननिस्कने चाल पाएपछि पृथ्वीनारायणले बेग्लै पद्दतिको सहयोग लिएरै भएपनि आफ्नो इच्छा पूरा गर्ने दृढ अठोट गरे। जब सिस्टमले सोझोलाई बाङ्गो नबनी जीवनमा केही उपलब्धि हासिल हुन्न भनेर सिकाउँछ, तब बबुरा हिरोले पनि सेमी-भिलेन बन्नैपर्छ… नपत्याए सञ्जय दत्तका फिलिम हेरे हुन्छ।

xxx

वरपरका सबै राज्यहरु जितिसकेपछि अन्तिममा पालो आयो नेपाल उपत्यकाको। काठमाडौँका जयप्रकाश मल्ल त्योबेला आफ्ना परिवार र प्रजासँग ईन्द्रजात्रा मनाउँदै थिए। गोर्खालीको आक्रमणको प्रतिकार गर्दै केही समय लडे पनि। तर पर्वको रमझम र नशामा चूर जयप्रकाशले विशाल गोर्खाली फौजको विरुद्ध आफ्नो सेनाको उचित नेतृत्व गर्न सकेनन्, र हार मानी पाटनतर्फ भागे। यसरी काठमाडौँ जित्ने र त्यहाँ एउटा घर बनाउने पृथ्वीको सपनाले पहिलो ठोस पाइला चाल्यो। काठमाडौँपछि अब सबै उपत्यका जित्नुपर्‍यो भन्ने सोचले उनको नजर पाटनतर्फ गयो। तर पाटनका तेजनरसिंह मल्लले राज्य छोडेर भक्तपुरतिर भागेपछि विना काटमार ललितपुरमा पनि पृथ्वीले अति सजिलै विजयको झण्डा फहराए। वीरनरसिंहको मित्रता र सहयोगको आदर गर्दै भक्तपुरे राजालाई आत्मसमर्पण गर्न १ वर्षको समय दिए। अन्तमा, शान्तिपूर्ण विजय भयो त्यहाँको पनि।

सम्पूर्ण उपत्यका जितेको खुशियालीमा उनले घर ठडाए। एक ठाउँ हो र, भ्यालीका ४ ठाउँमा ठड्याए! वसन्तपुरमा चैँ झ्याम्मै ९ तलाको दरबार ठडाए। अचेलका फुस्रा घरधनीहरु, जो ३ तले, ४ तले, ५ तले घर छ मेरो भनेर धाक लाउँछन, तिनले सिकून्, नेपालका राष्ट्रनिर्मातासँग… घर भनेको कस्तो र कत्रो बनाउनु पर्दछ भनेर।

यसरी भक्तपुरमा बसेर, अनेक तिकडम गरेर पनि ४ आना जग्गाजमीन जोड्न नसकेका डाँडाघरे पृथ्वीले २८-२९ वर्षपछि पूरै उपत्यका आफ्नो बनाई छाडे। ६ वर्षको उमेरमा बाबा गोरखनाथको गुफामा पुगेर छादेको दहीले पैताला छोएदेखि साँच्चै नै पृथ्वीले टेकेको पृथ्वी पृथ्वीको भयो। र, वर्तमान नेपालका पितामह पृथ्वीनारायण शाहकै लगन र धैर्यतालाई नै देखेर हुनुपर्छ, लक्ष्मीप्रसाद देवकोटाले २ सयवर्षपछि लेखेका – उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक!

xxx

एकदिनको कुरा हो। आफ्नो पौरखले यतिसम्म गर्न सकेकोमा मख्ख परेर, मुसुमुसु हाँस्दै कौसीमा बसी अस्ताइरहेको सूर्य हेरिरहेका थिए। यत्तिकैमा तलबाट आवाज आयो: बाज्या! ओ बाज्या! घरमा कोही हुनुहुन्छ?

झ्याक्नी को आयो यतिबेला!? झनक्क रिस उठ्यो पृथ्वीलाई। शान्तिसँग बसेर तमाखु तान्न पनि दिँदैन।

कौसीको डिलबाट तल हेर्छन त एउटा ठिटो घरी ढोका घरी कौसीतिर हेर्दै रहेछ। पृथ्वीलाई देखेपछि दुई हात जोडेर नमस्कार गर्‍यो। भन्छ – बाज्या, त्यहाँ असनमा सानो पसल छ मेरो। पूर्वमा ईलाम, पश्चिममा गुल्मीबाट ताजा चियाकफी ल्याएर बेच्छु। चिया पिउनी सेरामिक कप पनि बेच्छु म।

तेरो चिया के गरौँ त म? रन्किए पृथ्वी। भैँसीलाई खोले ख्वाउँ?

हैन बाज्या। बाज्याको घरमा डेरा पाइन्छ कि भनेर सोध्न आको। 😂😹

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s