निमारोमा किरो

 

हामीले दैनिक खाँदै आएका फलहरुमध्ये निमारो फल सम्भवत: सबैभन्दा अनौठो फल हो। किनभने, यो फलले आफू एक वयस्क फल बन्नुभन्दा अगाडि (पाक्ने बेलासम्म भन्या) र खासमा बन्नैका लागि किरा ‘खाएको’ हुन्छ। सुनेर अचम्म लाग्ला तर हरेक वर्ष निमारोले यही गर्ने गर्दछ। यसको अर्थ के हामीले पनि निमारो खाँदा किरा खान्छौँ त भन्ने प्रश्न उठ्ला। उत्तर यो लेखमा।

निमारो मध्य-उच्च पहाडी क्षेत्रमा पाइने एउटा रुख (र फल) को नाम हो। मझौलो कद र बाटुला पात हुने यो रुखको पात स्याउलाका रुपमा प्रयोग हुन्छ। भन्न त ठाउँअनुसार तिमिलो पनि भन्दा रहेछन तर मेरो व्यक्तिगत अनुसन्धान (गुगल सर्च भनेर बुझ्नुस् हाहा) बाट निम्नानुसार वर्गीकरण गरिएको फेला पारेँ:

  • निमारो भनेको Ficus auriculata (Roxburgh fig) हो।
  • तिमिलो चैँ Ficus sarmentosa भनेर भेटिए पनि अर्को फल ‘बेडुलो’ को पनि वैज्ञानिक नाम यही भेटेँ। थाहा हुनेले भन्नुहोला, सच्याउनेछु।
  • र खनियो चैँ Ficus semicordata

यो अर्थमा, तीनै फलहरु एउटै genus का हुन तर species (प्रजातिहरु) चाहिँ फरक। मेरो विचारमा निमारोले किरा खाएझैँ अरु २ ले पनि किरा खान्छन। तर आज निमारोमा मात्र केन्द्रित भएर यो लेख्दैछु।

(एक्स्ट्रा फन फ्याक्टः पीपल रुख, जुन जुज्दाइको व्यक्तिगत फेब्रेट रुख हो, यसको वैज्ञानिक नाम चाहिँ Ficus religiosa हो।)

Ficus genus मा ७५० भन्दा बढी प्रजातिका विरुवाहरु पाइने रहेछन, जुन सबै किराबाट नै pollinated (सेचित) हुने रहेछन {१}। यी किराहरुलाई अंग्रेजीमा fig wasp (Hymenoptera Chalcidoidea) भनिन्छ र परागसेचन गराउने wasp Agaonidae परिवारबाट आउने रहेछन। Wasp लाई नेपालीमा हामी बारुला भनेर बुझ्दछौँ तर यी wasp हामीले देख्दै आएका पहेँला-खैरा बारुलाभन्दा फरक हुने रहेछन। यी किराहरु किन निमारोमा छिर्दछन, र कसरी निमारोबाट ‘खाइन्छन’? – यो रोचक प्रक्रिया सारांशमाः

निमारो फल सबैतिरबाट छाला/बोक्राले घेरिए पनि फेदमा (भेट्नुको १८० डिग्री अर्कोपट्टि) सानो प्वाल हुन्छ। यो प्वालबाट पोथी wasp छिर्दछिन् र भित्र रहेका सयौँ-हजारौँ फूलहरु भएको ठाउँमा पुग्दछिन्। सयौँ-हजारौँ फूलहरु भित्र हुन्छन भन्नुको अर्थ यो हो कि यो एक multiple फल हो – strawberry, काफल, किम्बू, भुइँकटहर आदि जस्तै धेरै inflorescence हरु जम्मा भएर बनेको एक संयुक्त फल। पोथी wasp फलभित्र किन छिरिन् त भन्ने जिज्ञासा उठ्ला। कारण coevolution हो। जसरी हामी देख्दछौँ, तोरीको फूलले बनाउने nectar लिन माहुरी फूलमा बस्दछ र एक फूलबाट अर्को फूलमा पराग बाँड्दछ, उसरी नै fig जातिका रुखहरु र यी wasp हरुबीच coevolution मार्फत लेनादेनाको सम्बन्ध रहिआएको करोडौँ वर्षहरु भैसके। वैज्ञानिकहरुको अनुमान यो छ कि fig-fig wasp बीचको mutualistic सम्बन्ध रहिआएको साँढे सात करोड वर्ष भैसकेको छ {२}। र अवशेषहरुमा भेटिएको तथ्यबाट यी २ बीच हुने परागसेचन घटीमा पनि ३ करोड वर्ष भैसकेको अनुमान गरिएको छ {३}। किराले फल भित्र आफ्ना अण्डा कोरलेर थप किरा बनाउने गुँड पाउँदछ भने फलले पराग सेचन गरिदिने कामदार पाउँदछ। प्रकृतिका नियम सहज छन नि। तँ मेरो जीन जोगाउन सहयोग गर्, म तेरो जीन जोगाउन मद्दत गरिदिन्छु। 🙂

भन्दै थिएँ – यो किराको पोथी फलभित्र जान्छिन्, आफ्ना फुलहरु फलभित्रै पार्दछिन्, र अन्त्यमा प्राण त्याग्दछिन्। प्राण त्याग्ने रहर त नहोला, तर हुने के रहेछ भने यिनी भित्र जाँदा दूलोका भित्ताहरुसँग घर्षण भएर पखेँटा र एन्टेना आंशिक रुपमा नष्ट हुने रहेछन्। यसकारण, पछि बाहिरी संसारमा निस्किन सके पनि बाँच्न गाह्रो हुने भएकाले होला, बरु आफू बाँचेको १-१ सेकेण्डको महत्व राखी सकेजति फुल भित्रै पारेर आफ्ना जीन जोगाई प्राण त्याग्नु नै जाती। भित्रै ज्यान त्याग्ने किराको शरीर कतियप अवस्थामा फलभित्रै गलिसकेको हुन्छ। तर सग्लो नगलेको किराको शरीर पनि प्रशस्तै भेटिन्छन्। यसरी निमारोले किरा ‘खान्छ’। अनि फलभित्र किरा भेटेकैले घीन लागेर जुज्दाइले निमारो खान छोड्या हो। निमारोभन्दा निमारो खाने खसीको म्यासु नै धेरै मीठो हेर्नुस्।

दिमाग अलि चाँडो चल्नेले सोच्ला – किराले फलभित्र फुल पार्ने हो भने त भित्र किरैकिरा हुनुपर्ने हैन र? अनि, भित्र फुल पारेपछि निमारो फल हुर्कनलाई गाँस र वासमा समस्या पर्दैन?

यी प्रश्नहरु जायज हुन्। खासमा यी २ प्रश्नहरुकै उत्तरमा लुकेका छन माथि भनेको रोचक प्रक्रिया।

जब पोथी wasp ले फलभित्र फुल पार्दछिन्, तब उनले सबै फूलमा फुल पार्न सक्दिनन्। कुनै फलमा २-४ पोथी छिरे भने बेग्लै कुरा, नत्र एउटा फलभित्र हुने सबै फूलहरुमा फुल पारी भ्याउन एउटा पोथीलाई गाह्रै रहेछ। त्यसमाथि, फूल पार्ने अंग, जसलाई ovipositor भनिन्छ, त्यसको लम्बाइले पनि कहाँ र कति फुल पार्ने भन्ने संख्या निर्धारण गर्ने रहेछ {४}। पोथीले आफ्नो ovipositor फूलको style मार्फत छिराई तल ovary मा पुर्‍याएपछि मात्र फुल पार्ने रहिछन्। यहाँनिर fig को द्विविधा बुझ्नुपर्ने हुन्छ। द्विविधा के त भने, पोथीले बोकेर ल्याउने पराग पनि ovary मा पुर्‍याउनु परेको छ, आफ्ना बीऊ बनाउनका लागि। तर ovary मा किरालाई पराग पुर्‍याउँदा पोथीले आफ्ना फुल पनि त्यहीँ पारिदिन्छिन्, जसले भविष्यमा गाह्रो पर्छ। किनभने किराले आफ्ना भएभरका सबै ovary मा फुल पारिन् भने आफ्ना बीऊ चाहिँ कहाँ हुर्काउने नि? Wasp का फुल पछि बढ्दै जाँदा आफ्ना ovary का साथसाथै त्यहाँ हुर्किरहेका बीऊ नाश हुने भए। अब गर्ने के त??

 

Fig लाटो छैन। खासमा कुनै पनि रुख र विरुवा लाटा छैनन्। मैले पहिलेदेखि नै (अरु लेखहरुमा) भन्दै आएको छु कि पृथ्वीमा सबैभन्दा लामो समयदेखि बाँच्दै आएका जीवहरुमा रुख-विरुवाहरु पनि पर्दछन, जसको कारण यो हो कि यिनीहरु सबै प्राणीहरुभन्दा चलाख हुन्छन। पुष्टिको लागि निमारोमै फर्कौँ। माथिको समस्याको सजिलो हलका लागि fig ले कुटिल चाल चलिदिएको छ। त्यो के हो त भन्दा, आफ्ना फूलका style का लम्बाइ बराबर बनाइदिएन निमारोले। लम्बाइ बराबर नपारिदिएपछि छोटो ovipositor हुने पोथीले प्रायजसो छोटै style भएका फूल छान्न बाध्य भइन्। लामा style भएका फूल छानेर आफ्नो ovipositor घुसाइन् भने त्यो प्रयास व्यर्थ हुनेछ किनभने ovipositor ovary सम्म पुर्‍याउन सक्दिनन्, र फुल पार्न पनि सक्दिनन्। आफूसँग सीमित समय मात्र भएको हुनाले पोथीले छोटा style भएका फूल मात्र छान्दछिन् जसकारण सबै फूल नभ्याउने रहिछन् र यसरी फलभित्र wasp का फुलैफुल नहुने रहेछन्। लामा ovipositor हुनेले अलि धेरै फूलहरुभित्र फुल पार्दछिन, तर सबैमा पार्ने चाहिँ गाह्रो हुने रहेछ समय पर्याप्त नहुनाले। जति ovary मा wasp का फुल पारिए, ती फूलहरुमा चाहिँ किरै हुर्कने भए। तर multiple फलमा केही फूलहरु तिलाञ्जलि दिँदा wasp पनि वर्षेनी आइरहन्छ र आफ्नो पनि बीऊ राम्रोसँग हुर्कन्छ भने, अलिकति बलिदान दिएको राम्रै हो। Coevolution को आधारभूत नियम पनि यही नै त हो।

तर, तेत्राविधि फुल भित्र पारिने हो भने निमारोको फल खोल्दा किरैकिरा किन भेटिन्नन् त? किनभने फूल पाक्नुअघि नै ती किराहरु फलबाट बाहिरिन्छन। तर सबै हैन। पहिला त, कुनै नहुर्केका अण्डा छन भने ती ovary मै रहिरहन्छन।  अनि दोश्रो, ovary बाट किराहरु बाहिर निस्किन्छन तर फलभित्रै भालेले पोथी खोजेर मस्त ‘कार्यक्रम’ गर्दछन। मतलब, निमारोको फल फलमात्र नभएर यौनक्रीडाको जल्दोबल्दो स्थान पनि हो। कार्यक्रमका सबै चरणहरु सफलतापूर्वक सकिएपछि र अर्को एक पुस्ताको लागि जीन जोगिने सम्भावना बढाएपछि भालेहरुले पोथीहरुलाई बाहिर निकाल्नका लागि फलमा प्वाल पार्न थाल्दछन। पोथी त लगभग सबै बाहिरिने रहेछन, र साथसाथै केही भालेहरु पनि। बाहिरिन नसक्ने किराहरु भने भित्रै रहन्छन र फल खोल्दा भेटिन्छन।

त्यसैले, निमारो खाँदा ध्यान दिउँ। किराको वीर्य तथा खुद किरै खानबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ। 😉

(यो पनि भन्न चाहन्छु कि मैले यो प्रक्रिया सरलीकृत गर्दा धेरै कुरा छुटेका छन।)

 

References

{१} – Wang, G., Chen, J., Li, Z. B., Zhang, F. P., & Yang, D. R. (2014). Has pollination mode shaped the evolution of Ficus pollen? PLoS ONE, 9(1), E86231. doi 10.1371/journal.pone.0086231

{२} – Cruaud A, Rønsted N, Chantarasuwan B, Chou LS, Clement WL, et al. (2012) An extreme case of plant-insect co-diversification: figs and fig-pollinating wasps. Syst Biol 61: 1029–1047

{३} – Compton SG, Ball AD, Collinson ME, Hayes P, Rasnitsyn AP, et al. (2010) Ancient fig wasps indicate at least 34 Myr of stasis in their mutualism with fig trees. Biol Lett 6: 838–842

{४} – Nefdt RJC, Compton SG (1996) Regulation of seed and pollinator production in the fig fig wasp mutualism. J Anim Ecol 65: 170–182

 

 

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s