नागा बाबाको छाउपडी कानुन

मैले नागाबाबाहरुलाई पहिलोपल्ट साक्षात आफूसामुन्ने देखेको कक्षा ५ मा पढ्दा। साँझ नपर्दै शिवरात्रिको दिन दाइ (मामाको छोरा) र म पशुपति गएका थियौँ। बाहिर चप्पल राखे हराउने डरले दाजुभाइले नै जाकेट लाएका थियौँ – ढोकाछेउ पुग्नुअघि चप्पल खोलो, जाकेटको भित्री बगलीमा हालो, टण्टै खलाँस।

५ मा पढ्ने फुच्चो म, नागाबाबा भनेका के र कस्ता हुन्छन र किन नागाबाबा भनिन्छ यिनलाई भन्ने सम्पूर्ण प्रश्नहरुको उत्तर नागाबाबालाई खुद देखेपछि प्राप्त भए। फुस्रो निर्वस्त्र शरीरमा धागोको अस्तित्व नाइँ। प्रायले दाह्रीजुँगा र जटा लामो पारेका। अनि कसैले आफ्नो लिङ्गमा औँठी लाएका। मलाई सबैभन्दा कौतुहल भएको तिनै तुरीऔँठी देखेर। कसै कसैका त ३-४ वटै औँठी ए तेस्का बाजे।

तन्नम-टाट यी बाबा फेरि हात उठाएर, जाँघ थर्काएर तथास्तु दिँदै हुन्थे – आफ्नो वरपर आउने सबैलाई खरानीको टिका लाइदिएर। महिला अलि वर आए जाँघ अलि उचालिन्थ्यो, तर पारा उही नै। आफूसँग केही नभए पनि आशीर्वाद यसरी दिन्थे कि मानौँ भगवानले तिनका आशीर्वाद कुनै हालतमा पनि पूरा गरिदिनेछन।

यस्तै नागा बाबाहरु अचेल देशभरिका शहरहरुमा छन। आफू खोक्रा छन तर पनि तथास्तु गरिरहन्छन, मानौँ यिनको तथास्तुले भत्केको देश आफसेआफ उठेर बन्ने छ। मनले सम्पूर्णत: रित्तिएका छन, तर पनि झोली फैलाएर माग्न आउनेलाई जाँघ अत्रो पारेर आफ्नो शक्ति देखाउँछन, र आशीर्वाद दिन्छन – फू:मन्तर, तेरो दु:ख पर भैजाओस्!

भर्खरै फू-मन्तर गरेका छन छाउपडी हराइजाओस् भनेर। भनिएको छ:

छाउपडी प्रथालाई नेपाल कानुनले पहिलो पटक फौजदारी कानुनको हिस्सा बनाएको छ। सुत्केरी र रजस्वला भएको बेलामा महिलामाथि हुने विभेदजन्य व्यवहारलाई कसुर परिभाषित गरेको मुलुकी अपराध संहिता विधेयक २०७४ संसदले सर्वसम्मतिले पारित गरेको छ। यो कानुन २०७५ भदौ १ गतेदेखि लागू हुनेछ। मुलुकी अपराध संहिताको दफा १६० मा उपदफा थप गरी छाउपडीलाई कसुर घोषित गरिएको हो। सामाजिक अन्धविश्वासका रुपमा सुदूरपश्चिम र कर्णालीका विभिन्न क्षेत्रमा कायम रहेको प्रथामा अब तीन महिनासम्म कैद हुनेछ। यस्तै, कसुरदारलाई कैदसँगै तीन हजार रुपैयाँसम्म जरिवाना पनि हुन सक्नेछ। घटनाको प्रकृति हेरी दुवै सजाय समेत कसुरदारलाई हुन सक्नेछ।

कुनै पनि नराम्रो काम निर्मूल पार्नको लागि कानुन बन्नु, कानुनबारे जनचेतना जगाइनु, लागु हुनु, र कार्यान्वयन हुनु असाध्यै राम्रो कुरा हो हेर्नुस्। कानुन हुँदैन थियो त सतीप्रथा शायद अहिलेसम्म नि रहिरहन्थ्यो होला। त्यसैले कानुन बन्नु, पारित हुनु, र व्यवहारमा आउनु साह्रै उचित छ।

अनुचित चाहिँ के छ भने, छाउपडी प्रथा नछोडेको आरोपमा पक्राउ पर्ने, जेल जाने, आदि प्रबल संभावनाहरु। नागा बाबाहरुलाई किन तुरीमा औँठी लगाइस् भनेर सोधेमा जसरी ‘हाम्रो संस्कार यही हो, अरु के गर्नु त’ भन्छन, त्यसरी नै छाउपडीको चलन छोड्न नसकेकाहरुले पनि ‘यो हाम्रो संस्कार यही हो, अरु के गर्नु’ भन्नेछन। यस्तो अवस्थामा हाम्रो समाजका आधुनिक र शिक्षित (तर अविवेकी) नागा बाबाहरुलाई नाङ्गै सडकमा हिड्न दिने तर अशिक्षित र चेतनाको स्तरमा उकेरा नलागेका बाबु, दाइ, काका, आमा, आदिलाई समातेर जेल पठाउने?

‘म मेरी छोरीलाई या जहानलाई दु:ख दिनकै लागि महिनाको ४ दिन गोठमा पठाउँछु, अनि सिक्छे यसले जीवन र जगतबारे उचित पाठ!’ भनेर शायदै कसैले सोच्ला। बिरालो कुनामा बाँधेर सराद्दे गरेको कथाजस्तै नराम्रो र औचित्यहीन कामले सामाजिक निरन्तरता पाएको मात्र हो। यसलाई बलजफ्ती हटाउने कि चेतनाको विस्तार गरेर?

आधुनिक नागा बाबाहरुले भन्लान – कानुन बन्दैन भने, कानुनको डर हुँदैन भने मानिसहरुले कुप्रथा कहिले पनि छोड्ने छैनन्। त्यसैले कानुनको कार्यान्वयन हुनु जरुरी छ, असामाजिक हर्कत गर्नेलाई झ्यालखानामा कोच्नै पर्छ। अनि सबैले सिक्नेछन कि यसो गर्नु हुँदैन रहेछ भनेर।

मलाई हाँसो लाग्छ। जसले घर डढाएर खरानी घसेर हात पसार्दै विदेशीसँग भीख मागेर जीवन चलाउँछ, ती नाङ्गा मनुष्यहरुले अरुले समाज बिगारे भनेको सुन्दा।

दिनुपर्ने कडा कानुन हैन, शिक्षा हो। कठोर शब्द हैन, सिकाइ हो। सिँचाइ हो, बत्ती हो, बाटोघाटो हो, विकास हो।

तर देशका आधुनिक नागा बाबाहरुलाई यसमा चासो छैन। नागाहरुको काम जाँघ हल्लाएर आशीर्वाद दिएर भैजाओस् भन्ने हो। जति बेसी जाँघ हल्लाउन र जति ठूलो स्वरमा तथास्तु भन्न सकिन्छ, त्यति नै धेरै आफ्नो जुनी सार्थक भएको भन्ठान्छन।

विकासमा लगाउन भनी छुट्याएको रकमले तुरीमा नयाँ औँठी किन्नेहरुबाट केही आश गर्न सकिन्न।

Advertisements