Deciduous Strippers

 

Why do some plants strip? — Get scienced!

 

मान्छेलाई गर्मी भएपछि लुगा खोलेर नाङ्गिन थाल्दछ, र जाडो हुँदा लुगा थप्दछ।

धेरै रुख र बूट्यानहरु (पात झर्ने deciduous प्रकारका मात्र) भने गर्मी हुँदा लुगा (पात) थप्दछन र जाडो भएपछि नाङ्गिन थाल्दछन।

किन?

हाम्रो वरिपरि यो गतिविधि वर्षैपिच्छे देखिन्छ। धेरैले ध्यान दिएर नहेरे पनि, नबुझे पनि यो कृयाकलाप चलिरहेको हुन्छ। थप रमाइलो पक्ष चाहिँ के भने जाडो खासै नहुने हो भने पनि रुखले पात झार्न छोड्दैन।

पात झर्छ चाहिँ किन? र सबै रुख तथा बोटविरुवाहरु किन नाङ्गिदैनन्?

गर्मी (या वर्षा) मौसममा दिनको लम्बाइ र तापक्रम विरुवाले खोजेजस्तै हुन्छन। दिन लामा, ताता, र उज्याला हुन्छन भने रात उचित लम्बाइका र ठिक्कको चिसो पनि।  गर्मीमा केही दिन-हप्ताहरु छोडेर अरु समयमा प्रशस्त पानी पनि उपलब्ध नै हुन्छ। रूख र बूट्यानहरुका जरा जमीनमुनि निकै तलसम्म पुग्ने भएकाले सतहको पानीसँग उति धेरै सरोकार पनि हुँदैन। (हुन त हुन्छ, तर अत्याधिक गर्मी भएर पातबाट दोहन हुने पानीको मात्रा जराबाट पाउने पानीभन्दा धेरै भएमा। यस्तो बेलामा मात्र विरुवालाई सास फेर्न गाह्रो हुन्छ। नत्र अरुबेला सामान्य हो।)

त्यसैले गर्मीमा मस्त पात हाल्छन, खानेकुरा बनाउँछन, र आफ्नो कद ठूलो पार्दछन। सेक्सिने उमेर पुगिसकेका विरुवाहरुले सेक्सिएर बीऊ उत्पादन पनि गर्दछन – आखिर जे छ, जीनकै लागि छ।

तर यही बेलामा साइडमा रोचक गतिविधिहरु पनि घटिरहेका हुन्छन। यीमध्ये एक हो – पालुवाको उत्पादन। यी पालुवा यो साललाई नभएर अर्को सालको लागि बनाइन्छन। भन्नाले, फूल फुलाएर बीऊ बनाएर आफ्नो जीन जोगाउने काम हुँदै गर्दा रूखले अर्को साल बाँच्न, हुर्कन, र सेक्सिनका लागि भनेर यो सालमै नयाँ पालुवा बनाउँदछ। निष्ठूरी प्रेमी जस्तो जसले एक साथी हुँदाहुँदै अर्को नि बनाइरहन्छन, केही गरी एउटा फापेन भने अर्को फाप्ला कि भनेर। ब्याकअप अप्सन! 😀 [यो उदाहरण यहाँ अलि मिल्दैन भन्ने था छ, तपाईँ चूप लाग्नुस्। ;पी] यी पालुवा मुख्यगरी रूखका axillary meristems (हाँगाविँगाहरु) र केही गाँठाहरु (nodes) मा सुरक्षित राखिन्छन। प्राय रुखहरुमा हाम्रो आँखाले देख्न सकिन्न यिनलाई।

यी सबै काम लगभग सकिसक्दासम्म जाडो आइपुग्छ।

जब दिनहरु चिसा मात्र हैन छोटा (उज्यालोको मात्रा कम) पनि हुँदै जान्छन, तब रुखले सोच्दछ कि अब जाडोमा बाँच्नका लागि झ्यालढोका थुन्नुपर्छ। बाहिरी दुनियाँ हेर्ने र बुझ्ने रुखका झ्याल भनेका पात नै त हुन्।

हाँगा र पातबीचको सम्बन्ध हाम्रो हत्केला र औँलाबीचहरुको सम्बन्ध जस्तै हुन्छ। हत्केलाबाट केही नशा औँलामा जान्छन जसले रगतमा मिश्रित खानेकुरा औँलातिर लान्छन; औँलाबाट शरीरले धेरै फाइदा लिन्छ – बाहिरी दुनियाँबारे बुझ्दछ (स्नायुहरुको मद्दतले), काम गर्दछ, आदि। रूखमा पनि हाँगा र पातबीच (petiole मा) एउटा ‘नशा’ (सानो कुलो  वा सुरुङ्ग) जस्तो भाग हुन्छ जसलाई vascular bundle भनिन्छ। यो कुलोबाट पाततिर पानी र कच्चा पदार्थ पठाउँदछ भने फिर्तामा खानेकुरा र सूचना (कसैले आक्रमण गरेको, तापक्रमको, पानीको मात्राको, आदि) पाउँदछ।

यो bundle मा निम्न तन्तुहरु हुन्छन:

  • Xylem, जसले पाततिर सामान निर्यात गर्दछ
  • Phloem, जसले पातबाट सामान आयात गर्दछ
  • र Cambium जसको प्रमुख काम हाँगा ठूला पार्नु हो।

गर्मीको अन्ततिर दिनहरु छोटा हुँदै गएपछि (र जाडो पनि थपिँदै गएपछि) रुखले petiole मा हुने त्यो vascular bundle वरपर भएका अरु कोषहरुको लम्बाइ बढाउन थाल्दछ। यी कोषहरु (abscission layer भनिन्छ) जति धेरै र लामा हुन्छन, vascular bundle उति खुम्चिँदै जान्छ। खेतमा पानी लगाइरहेको कुलोमा दुवैतिरबाट माटाका ढिस्का र ढुङ्गा खसाल्ने हो भने कुलो खुम्चिएर जसरी पानीको बहाव बन्द हुन्छ, उसैगरी abscission layer का यी कोषहरु पनि दुवैतिरबाट बढेर उक्त bundle ढाक्दछन र खानेकुराको आयात-निर्यात दुवै बन्द हुन पुग्छ। यो क्रम चाँडो नभएर अलि सुस्त हुने भएकाले पातको रङ्ग फेरिएर झर्न धेरै दिन या हप्ता पनि लाग्न सक्दछ। यो प्रकृयालाई abscission भनिन्छ।

Abscission कसरी हुन्छ भन्नेबारे केही hypotheses छन जसमध्ये प्रायले auxin नामक हर्मोनले गराउने भनेर मान्दछन। साविकमा (पात नझर्दा) पातमा auxin को मात्रा रुखका बाँकी भागहरुभन्दा धेरै हुन्छन। तर जब दिन छोटा हुन्छन, तब रुखले पातमा यो हर्मोनको मात्रा घटाउँछ। पातमा भन्दा रुखका अन्य भागमा यसको मात्रा बढेपछि उक्त abscission layer का कोषहरुले अब हामीले लम्बाई बढाउनुपर्छ भन्ने संकेत पाउँदछन। र, ती कोषहरु बढ्न थाल्दछन, अनि पात र हाँगाबीचको सम्बन्ध बिस्तारै शून्यमा झार्दछन।

पातको रङ्ग चाहिँ किन फेरिन्छ त?

विरुवाले खानेकुरा पकाउनका लागि भनेर पातमा chlorophyll बनाउँदछ। खाना बनाउँदा सूर्यको किरणले chlorophyll मास्ने भएकाले विरुवाले chlorophyll को निर्माण हरबखत गरिरहनुपर्ने हुन्छ। दिन छोटा हुँदै गएपछि र तापक्रम घट्न थालेपछि जब abscission layer बन्द गरिन थाल्दछ, पातलाई चाहिने जति पानी र रसायन पनि घट्दै जान्छन। यसरी chlorophyll बनाउन चाहिने पर्याप्त कच्चा पदार्थ उपलब्ध हुन पनि छोड्दछ। र केही दिनमै पातबाट chlorophyll हराउँछ।

जब chlorophyll घट्दै जान्छ, पातमा पहिलेदेखि नै रहिआएका xanthophyll (पहेँलो) र carotenoid (सुन्तला रङ्ग) देखिन थाल्दछन। राता, वैजनी, आदि रङ्गहरु (anthocyanin) भने पातमा बचेखुचेका खानेकुरा र पदार्थहरु प्रयोग गरेर बनाइन्छन। यी भिन्न रङ्गहरुले सूर्यको (प्रायगरी बिहान र बेलुकाका) किरणको प्रयोगमा केही थप खानेकुरा बनाउन त सक्छन तर बाँकी रूखबाट सम्बन्ध विच्छेद भैसकेकोले पातहरु धेरै दिन बाँच्न सक्दैनन्। रुखको रङ्ग गाढा रातो हुन थालेपछि केही दिनमै या त पात सुख्खा हुन्छन या भुइँमा झर्दछन।

उक्त abscission layer ले बाहिरको चिसो भित्र जान दिँदैन (रुखले अन्य श्रोतमार्फत चिसो त अनुभव गरिरहेकै हुन्छ) र भित्रबाट पानी र खानेकुरा बाहिर जान पनि दिँदैन। जब जाडो सकिन्छ र दिनका लम्बाई फेरि बढ्न थाल्छन, अनि रुखले बिस्तारै उक्त layer मा निर्मित कोषहरु पगालेर पोहोर नै बनाएर राखेका पालुवाहरुलाई पातमा परिवर्तन गर्न थाल्दछ।

तर, जाडोको अनुभव नगरी रुखहरुले ती पोहोर बनाएका पालुवाहरुलाई पातमा रुपान्तर गर्न हिच्किचाउँछन। यदि रुखले जाडोको अनुभव गरेन भने उसले सोच्दछ कि जाडो आएकै छैन। यदि जाडो आएकै छैन भने जाडो कुनै दिन आउनेछ। र त्यो कुनै दिन आउने जाडोले मेरा भर्खर हालेका पालुवा/पात मारिदियो भने मेरो त विचल्ली हुन्छ। यो सोचेर जाडोको लागि पात झारेर बसेका बोटविरुवाहरुले चिसो अनुभव नगरी नयाँ पात निकाल्न असजिलो मान्दछन। यदि जाडो लामो समयसम्म नि आएन भने नयाँ पात निकाल्दै निकाल्दैन त? निकाल्छ, तर बिस्तारै, र धेरै सोचविचार गरेर मात्र।

यो सबै त ठीक छ। तर घरबाहिर या कौसीमा हुर्काएका रुखलाई जाडो शुरु हुने समयमा घरभित्र लाने हो भने के हुन्छ?

यसको लागि जुज्दाइले प्र्याक्टिकल उदाहरण दिन चाहन्छ:

मसँग गर्मी महिनाभरि घरबाहिर बसेको लप्सीको बोट मस्त हरियो थियो, पातहरुले टम्म। जब जाडो आउन थाल्यो, तब पातले रङ्ग फेर्न थाले। पात झरि नै सकेका भने थिएनन्। केही दिनहरुमा जाडोको मात्रा अलि बेसी नै हुने देखेर मैले आफ्ना सबै रुखविरुवाहरुलाई भित्र ल्याएँ।

भित्र ल्याइएका रुखहरुमा पीपल पनि थियो। पीपल सदाबहार रुख हो र यसको पात झर्दैन। यसले जाडोमा पात नझारेबाट सास्ती त खप्छ नै, तर जाडोसँग सामना गर्ने यसका आफ्नै तरिकाहरु छन। पीपलले न पातको रङ्ग फेर्दछ, न ठूटे भएर बस्दछ। त्यसैले भित्र ल्याएपछि अहिलेसम्म पीपल जस्ताको तस्तै छ। तर लप्सी भने?

भित्र ल्याइनु अघि बाहिर

 

भित्र ल्याएको २ दिन जतिमै गजबले रङ्ग फेर्न थाल्यो

 

भित्र ल्याएको १० दिनमा नाङ्गेझार

यो किन त? भित्र न्यानो अनुभव गरेपछि लप्सीले पात झार्न किन छोडेन? यही कुरोमा कुरो जोड्दा – पीपल पनि हर्लक्क नबढेर किन जस्ताको तस्तै त?

यसको उत्तर हुन्छ – endodormancy. Endodormancy भनेको पशुका केही प्रजातिहरुले जाडोमा गर्ने hibernation जस्तै विरुवाहरुमा हुने प्रकृया हो। लामो समयसम्म निष्क्रिय हुने यो प्रकृया deciduous रुख र बूट्यानहरुले वर्षेनी पच्छ्याउँदछन। यो प्रकृया कसरी शूरु हुन्छ र कसरी सञ्चालित हुन्छ भनेर राम्रोसँग बुझिसकिएको छैन। तर, धेरै हदसम्म circadian clock (शरीरभित्रको आन्तरिक घडी) ले यसको नियन्त्रण गर्दछ भनिन्छ। Circadian clock मुख्यता दिनको लम्बाइ (photoperiod) ले प्रभावित हुन्छ। तसर्थ, दिनको लम्बाइले रुखलाई पात झार्न वा नयाँ पात हाल्न निर्देशन दिन्छ भन्ने बुझाइले मान्यता पाएको छ।

माथिको ठुटे लप्सी र मेरो पीपल (जसको पात १००% हरिया र बोटमै टाँसिएका छन) अहिले endodormant अवस्थामा छन। तर, बाहिर खासै जाडोको अनुभव नगरी भित्र ल्याइएका यिनले नयाँ पात पलाउनका लागि अर्को गर्मी सिजन कुर्दैनन्।

मेरो अनुभवले के भन्दछ भने, भित्र प्रकाश र तापको मात्रा मिलाइदिने हो भने रुखहरुले चाँडै पालुवा हाल्न थाल्दछन, बाहिरी दुनियाँमा भन्दा धेरै नै चाँडो। शायद १-२ महिनामा यी दुवै हुर्कन थाल्नेछन र अर्को जाडो (छोटा दिन) नआएसम्म हुर्कि रहनेछन।

Advertisements

याँ मुन्तिर कमेन्ट ठोक्नुस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s