नागा बाबाको छाउपडी कानुन

मैले नागाबाबाहरुलाई पहिलोपल्ट साक्षात आफूसामुन्ने देखेको कक्षा ५ मा पढ्दा। साँझ नपर्दै शिवरात्रिको दिन दाइ (मामाको छोरा) र म पशुपति गएका थियौँ। बाहिर चप्पल राखे हराउने डरले दाजुभाइले नै जाकेट लाएका थियौँ – ढोकाछेउ पुग्नुअघि चप्पल खोलो, जाकेटको भित्री बगलीमा हालो, टण्टै खलाँस।

५ मा पढ्ने फुच्चो म, नागाबाबा भनेका के र कस्ता हुन्छन र किन नागाबाबा भनिन्छ यिनलाई भन्ने सम्पूर्ण प्रश्नहरुको उत्तर नागाबाबालाई खुद देखेपछि प्राप्त भए। फुस्रो निर्वस्त्र शरीरमा धागोको अस्तित्व नाइँ। प्रायले दाह्रीजुँगा र जटा लामो पारेका। अनि कसैले आफ्नो लिङ्गमा औँठी लाएका। मलाई सबैभन्दा कौतुहल भएको तिनै तुरीऔँठी देखेर। कसै कसैका त ३-४ वटै औँठी ए तेस्का बाजे।

तन्नम-टाट यी बाबा फेरि हात उठाएर, जाँघ थर्काएर तथास्तु दिँदै हुन्थे – आफ्नो वरपर आउने सबैलाई खरानीको टिका लाइदिएर। महिला अलि वर आए जाँघ अलि उचालिन्थ्यो, तर पारा उही नै। आफूसँग केही नभए पनि आशीर्वाद यसरी दिन्थे कि मानौँ भगवानले तिनका आशीर्वाद कुनै हालतमा पनि पूरा गरिदिनेछन।

यस्तै नागा बाबाहरु अचेल देशभरिका शहरहरुमा छन। आफू खोक्रा छन तर पनि तथास्तु गरिरहन्छन, मानौँ यिनको तथास्तुले भत्केको देश आफसेआफ उठेर बन्ने छ। मनले सम्पूर्णत: रित्तिएका छन, तर पनि झोली फैलाएर माग्न आउनेलाई जाँघ अत्रो पारेर आफ्नो शक्ति देखाउँछन, र आशीर्वाद दिन्छन – फू:मन्तर, तेरो दु:ख पर भैजाओस्!

भर्खरै फू-मन्तर गरेका छन छाउपडी हराइजाओस् भनेर। भनिएको छ:

छाउपडी प्रथालाई नेपाल कानुनले पहिलो पटक फौजदारी कानुनको हिस्सा बनाएको छ। सुत्केरी र रजस्वला भएको बेलामा महिलामाथि हुने विभेदजन्य व्यवहारलाई कसुर परिभाषित गरेको मुलुकी अपराध संहिता विधेयक २०७४ संसदले सर्वसम्मतिले पारित गरेको छ। यो कानुन २०७५ भदौ १ गतेदेखि लागू हुनेछ। मुलुकी अपराध संहिताको दफा १६० मा उपदफा थप गरी छाउपडीलाई कसुर घोषित गरिएको हो। सामाजिक अन्धविश्वासका रुपमा सुदूरपश्चिम र कर्णालीका विभिन्न क्षेत्रमा कायम रहेको प्रथामा अब तीन महिनासम्म कैद हुनेछ। यस्तै, कसुरदारलाई कैदसँगै तीन हजार रुपैयाँसम्म जरिवाना पनि हुन सक्नेछ। घटनाको प्रकृति हेरी दुवै सजाय समेत कसुरदारलाई हुन सक्नेछ।

कुनै पनि नराम्रो काम निर्मूल पार्नको लागि कानुन बन्नु, कानुनबारे जनचेतना जगाइनु, लागु हुनु, र कार्यान्वयन हुनु असाध्यै राम्रो कुरा हो हेर्नुस्। कानुन हुँदैन थियो त सतीप्रथा शायद अहिलेसम्म नि रहिरहन्थ्यो होला। त्यसैले कानुन बन्नु, पारित हुनु, र व्यवहारमा आउनु साह्रै उचित छ।

अनुचित चाहिँ के छ भने, छाउपडी प्रथा नछोडेको आरोपमा पक्राउ पर्ने, जेल जाने, आदि प्रबल संभावनाहरु। नागा बाबाहरुलाई किन तुरीमा औँठी लगाइस् भनेर सोधेमा जसरी ‘हाम्रो संस्कार यही हो, अरु के गर्नु त’ भन्छन, त्यसरी नै छाउपडीको चलन छोड्न नसकेकाहरुले पनि ‘यो हाम्रो संस्कार यही हो, अरु के गर्नु’ भन्नेछन। यस्तो अवस्थामा हाम्रो समाजका आधुनिक र शिक्षित (तर अविवेकी) नागा बाबाहरुलाई नाङ्गै सडकमा हिड्न दिने तर अशिक्षित र चेतनाको स्तरमा उकेरा नलागेका बाबु, दाइ, काका, आमा, आदिलाई समातेर जेल पठाउने?

‘म मेरी छोरीलाई या जहानलाई दु:ख दिनकै लागि महिनाको ४ दिन गोठमा पठाउँछु, अनि सिक्छे यसले जीवन र जगतबारे उचित पाठ!’ भनेर शायदै कसैले सोच्ला। बिरालो कुनामा बाँधेर सराद्दे गरेको कथाजस्तै नराम्रो र औचित्यहीन कामले सामाजिक निरन्तरता पाएको मात्र हो। यसलाई बलजफ्ती हटाउने कि चेतनाको विस्तार गरेर?

आधुनिक नागा बाबाहरुले भन्लान – कानुन बन्दैन भने, कानुनको डर हुँदैन भने मानिसहरुले कुप्रथा कहिले पनि छोड्ने छैनन्। त्यसैले कानुनको कार्यान्वयन हुनु जरुरी छ, असामाजिक हर्कत गर्नेलाई झ्यालखानामा कोच्नै पर्छ। अनि सबैले सिक्नेछन कि यसो गर्नु हुँदैन रहेछ भनेर।

मलाई हाँसो लाग्छ। जसले घर डढाएर खरानी घसेर हात पसार्दै विदेशीसँग भीख मागेर जीवन चलाउँछ, ती नाङ्गा मनुष्यहरुले अरुले समाज बिगारे भनेको सुन्दा।

दिनुपर्ने कडा कानुन हैन, शिक्षा हो। कठोर शब्द हैन, सिकाइ हो। सिँचाइ हो, बत्ती हो, बाटोघाटो हो, विकास हो।

तर देशका आधुनिक नागा बाबाहरुलाई यसमा चासो छैन। नागाहरुको काम जाँघ हल्लाएर आशीर्वाद दिएर भैजाओस् भन्ने हो। जति बेसी जाँघ हल्लाउन र जति ठूलो स्वरमा तथास्तु भन्न सकिन्छ, त्यति नै धेरै आफ्नो जुनी सार्थक भएको भन्ठान्छन।

विकासमा लगाउन भनी छुट्याएको रकमले तुरीमा नयाँ औँठी किन्नेहरुबाट केही आश गर्न सकिन्न।

Advertisements

टिनएज डायरिज्

आज म मेरा र मेरा केही दाइहरुका एकाध रमाइला अनुभव लेख्दैछु।

मैले सम्पूर्ण लिङ्ग र उदाङ्ग योनिको चित्र पहिलोपटक आठ कक्षामा देखेको। हेल्थ यान्ड साइन्सको अङ्ग्रेजी किताबको लगभग बीचतिर थए दुवै चित्रहरु। लिङ्गसँग हल्काफुल्का परिचित नै थिइयो भनौँ न, तर योनिसँग परिचित त इस् हुनु र, सपना नि देखिन्न थियो। मन नलागेर हैन कि, कस्तो हुन्छ भन्ने नै थाहा नभएर। जस्तो कि, जन्मजात अन्धो व्यक्तिले एउटा साइकल कस्तो हुन्छ भनेर वर्णन सुनेको हुन्छ तर उसको कल्पनाले हामीले देखेजस्तै साइकल देख्ला र? हो त्यस्तै। मने, देखिन्थ्यो, कल्पिइन्थ्यो पनि तर के देखिन्थ्यो र के कल्पिइन्थ्यो खै सम्झना छैन।

गङ्गा सरले पढाउनुहुन्थ्यो त्यो क्लास। त्यो र पिटि (Physical Training??) सँगै पढाउनुहुन्थ्यो। खै पूर्वको कुन जिल्लाबाट बसाइँ सरेर आउनुभएको थियो… साह्रै खरो तर हँसिलो, फरासिलो। कथमकदाचित् उहाँलाई स्कूलबाहिर भेटे लाज र डरले लुत्रुक्क परेर बाटोको अर्कै किनार समातेर लमकलमक भागिन्थ्यो। तर यस्ता सर पनि त्यो जनेन्द्रियको अध्यायमा पुगेपछि शिथिल हुनुभो। अरुबेला कक्षाको बीच भागमा (एकातिर केटा बस्ने बेञ्च र अर्कोतिर केटी बस्ने बेञ्च मिलाएर हाम्रो कक्षाकोठा २ भागमा बाँडिएको थियो) ओहोरदोहोर गर्ने उहाँ त्यो अध्यायभरि नै हुनुपर्छ, ब्ल्याकबोर्डको अगाडि ठिङ्ग उभिएर किताबमा आधा मुख गाडेर ‘लाइन-बाइ-लाइन’ पढ्नुभयो। लगभग यसरी नै त्यो अध्याय सकियो। मनमा कम्ता चुकचुक र नमज्जा लागेको हैन; कारण भनिरहन नपर्ला।

Continue reading

निमारोमा किरो

 

हामीले दैनिक खाँदै आएका फलहरुमध्ये निमारो फल सम्भवत: सबैभन्दा अनौठो फल हो। किनभने, यो फलले आफू एक वयस्क फल बन्नुभन्दा अगाडि (पाक्ने बेलासम्म भन्या) र खासमा बन्नैका लागि किरा ‘खाएको’ हुन्छ। सुनेर अचम्म लाग्ला तर हरेक वर्ष निमारोले यही गर्ने गर्दछ। यसको अर्थ के हामीले पनि निमारो खाँदा किरा खान्छौँ त भन्ने प्रश्न उठ्ला। उत्तर यो लेखमा।

Continue reading

काठमाडौँवासी पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाहले काठमाडौँ जित्न चाहनु पछाडि धेरैका धेरै बतासे सिद्धान्तहरु सुन्न पाइन्छ। कोही भन्छन उनले नेपाल राज्यलाई एक ढिका पार्न यसो गरेका हुन्। अरु भन्छन क्षत्रीय रगत उम्लेर के गरुँ के गरुँ भएर वरपरका सबै राज्य जित्न निस्केका हुन्। कोही त के पनि भन्छन भने यी ठेट पहाडका तागाधारी पुरुष भएकाले उपत्यकामा जनजाति राजाहरुले मोजमस्ती गरेर बसेको देख्न नसकी डाढले नै युद्ध गरेका हुन्। अब ल्वाँदहरुको मुख त थुन्न सकिन्न तर खास कारण भने अर्कै रहेछ। हालसालै प्रकाशमा आएको alternate reality मा आधारित उनको कान्तिपुर विजयबारे मेरा तुच्छ शब्दहरु यहाँ प्रस्तुत गर्न चाहन्छु।

xxx

ससुराले फेरि पनि स्वास्नी घर लान दिएनन्। लौ फसाद।

जुँगाको रेखी आधा हो आधा हैन हुँदै बिहे गरेका थिए गोरखाका युवराज पृथ्वीले, जो डाँडाघरे पिर्थि भनेर दौँतरीमाझ प्रिय थिए। अग्लो ज्यान, फराकिलो दारका पृथ्वी लुरे भएपनि अनुहारमा ओज प्रशस्तै झल्किन्थ्यो। दश डाँडा, चौध भञ्ज्याङ अढाइ दिनमै भ्याएर साँझ मक्वानपुर गढीको ससुराली आँगन टेकेका थिए। भोकले चूर, त्यसमाथि जहानसँग एउटै झुलमुनि सिरकमा गुँडुल्किन पाइने कल्पनाले ज्यानमा ल्याएको हर्मोनको बाढी। तर निहुँ खोज्दै ससुराले छोरी यो पटक पनि घर पठाउन्नँ भने।

Continue reading

घाँसको सुवास

मान्छेको हात, जीऊ काट्ने हो भने त्यो रुन्छ। तर विरुवाको काट्दा विरुवा रुन्छ त?

सुनसान जंगलमा रूख ढल्दा आवाज आउँछ कि आउँदैन भन्ने प्रश्न जस्तै होला यो प्रश्न पनि।

विरुवा काट्दा निज रोएपनि नरोएपनि विरुवाले गरिरहेका कृयाकलापहरु अनौठा हुन्छन। कसरी र किन गर्छन भन्नेबारे एउटा झारपात लेख यो।

घाँस तथा स्याउला काटेको अनुभव भएका हामी धेरैलाई थाहा छ, घाँस काट्दा एउटा बहुतै मीठो सुवास नाकभित्र छिर्छ। घाँस काटेका तुलनामा रूखबाट स्याउला झार्दा यो वासना शायद अलि कम होला, तर वासना त हुन्छ नै। अझ सिमसिम पानी पर्दाखेरी काट्या छ भने त ओहोहोहो! त्यो वासनाले पूरै इलाका सुगन्धित बनाउँदछ। [[स्याउलाको ठूलै भारी बोक्न पर्‍या छ भने त्यो सुवाससँग हाइहेलो गर्दै, बोझ बिर्सँदै पाखाबाट घरसम्म आउँथे म।]] घाँस-रुख-विरुवाले काटिँदा उत्पादन गर्ने यो मीठो वासना के हो? र किन त?

Continue reading

थ्योरी अफ चाकोटिभिटी

 

आइएस्सी दोश्रो वर्षको कुरा हुनुपर्छ, चावहिलले भन्यो – निउटन गलत थियो।

निउटनको गुरुत्वाकर्षणलाई चुनौति दिँदै संसारभरका सयौँ, शायद हजारौँ, ले आ-आफ्ना विचार र तर्क प्रस्तुत गरेका छन। हाम्रै नेपाली वैज्ञानिकहरुले पनि गरेका छन। निचोरे ओठबाट दूध निस्कने उमेरका बालख हुन या कपाल आधा फूलेका प्रौढहरु, बेलाबेलामा निउटनलाई हाँक दिएर पत्रिकामा छापिइरहन्छन। हामीलाई मनोरञ्जन दिइरनहन्छन। जय होस् यिनको।

(हरेक वैज्ञानिक शोध, निष्कर्ष, तर्क आदिलाई चुनौति दिन पाइन्छ। चुनौति सफल भएमा पहिलेदेखि मानी आएका नियमहरु फेरिन्छन पनि। लडकीको उमेरजस्तो थोडी हो र नफेरिने…! )

त कुरा के भने, निउटनलाई चुनौति दिने शूरवीर खुद हाम्रै कक्षामा रहेछ; डेढ वर्षसम्म पत्तै पाइएन।

Continue reading

मरेका मान्छेको माया लाग्दैन

 

बुखेनवाल्ड यातना केन्द्र

बुखेनवाल्ड यातना केन्द्र

कसैको कतै मृत्यु भएमा सामाजिक सञ्जालमा RIP (rest in peace) सन्देशहरु बगरमा बालुवाको संख्या भन्दा धेरै देखिन थाल्छन। मरेका मान्छेसँग नाता नभए पनि, कतैबाट केही चिनापर्ची नभएपनि केवल ‘मानवताका नाममा’ समवेदनाहरु पोखिन्छन। मलाई यस्ता समवेदनाहरु सस्ता लाग्छन। कृत्रिम लाग्छन। र मलाई थाहा छ, यो विचार बोक्ने म एक्लो हैन। अल्पमतमा परूँला, तर एक्लो चाहिँ पक्कै हैन।

कोही एक मान्छे हुँदैमा र त्यो एक मान्छे मर्दैमा त्यो अज्ञात मान्छेप्रति सहानुभूति राख्नैपर्छ भन्ने मलाई लाग्दैन। हुन त मान्छेले मान्छेप्रति ‘मानवता’ देखाउनुका पछाडि हाम्रो (मानव जातिको) दुःख-संघर्षको इतिहास प्रमुख कारण हो भनिन्छ। खास कारण के हो आफ्नै ठाउँमा होला, तर मरेका मान्छेप्रति देखाइने माया, सद्भाव, आदर साह्रै अप्राकृतिक लाग्छन। किनभने यी ‘हृदयदेखि उम्रेका सद्भावका टुसा’ अरु बेला – भन्नाले अरु प्राणीको दु:खमा – ज्यादै कम मात्र देखिन्छन। कसैले सोध्दैन थालमा मगमगाउँदो मासको दाल पछाडिको कथा; कसैलाई वास्ता छैन कुकरमा सिठ्ठी हानिरहेको खसीको आँसु; र कसैले बुझ्ने प्रयास गर्दैन त्यो १० डल्ला मःमः का यात्रा-वृत्तान्त।

Continue reading